Saturday, August 17, 2013

चटकेको नैतिकता

 72  16 
 
  0
(0 votes)
चटकेको नैतिकता अचम्मको हुन्छ। आफ्नो वरिपरि दर्शकजम्मा गर्न ऊ जे पनि बोल्दै जान्छ। जस्ता व्यक्ति वरपर छन् त्यस्तै प्रकारले तिनको ध्यान आकृष्ट गर्छ। युवकहरू वरिपरि रहेछन् भने ऊ केटी फकाउने तरिका सिकाउने बाचा गर्न थाल्छ भने बूढापाका भए ढाड दुखेको, कम्मर सड्केको, औंला झमझमाउने, निद्रा नलाग्ने सम्पूर्ण रोगको औषधि आफूसँग भएको दाबी गर्न थाल्छ। अधबैंसेलाई तान्न ऊ लामो समयसम्म यौनक्रीडामा मस्त रहने उपाय वा महिलाहरूलाई आफ्नो पतिलाई अन्त आँखा नलगाउन के गर्नुपर्छ भन्ने सूत्र सिकाउने दाबी गर्न थाल्छ। वरिपरि प्रशस्त व्यक्ति जम्मा हुन थालेपछि भने उसको ध्याउन्न तिनको खल्तीमा भएको पैसा कसरी निकाल्ने अनि केही साधारण जडीबुटी र विभिन्न प्रकारका तेल कसरी बेच्ने भन्नेमात्रै हुन्छ। तर चटक नसिकुन्जेल ऊ आफूले भनेका विभिन्न सूत्रको रहस्य खोल्ने वाचा चाहिँ बारम्बार गरी नै रहन्छ।

नेपाली राजनीतिमा धेरै प्रकारका चटकेको पदार्पण भएको छ। गरिब जनता पुराना चटकेहरूको कहिल्यै पूरा नहुने बाचाबाट वाक्क भएर नयाँ चटकेतर्फ आर्कषित हुन्छन्। चटकेहरू वाचा गरिरहन्छन् र जनता लुटिरहन्छन्। जनता आकर्षित र विकर्षित हुने क्रम चलिरहन्छ। धेरै थरीका चटकेको गाथा एकै लेखमा वर्णन गर्ने दाबी गरे यो लेख आफँै अर्को चटक बन्न पुग्छ। त्यसैले करिब २० वर्षदेखि नेपाली राजनीतिमा देखापरेको अनौठो चटकेतर्फ ध्यान केन्द्रित गरौं। हुनत, यो चटके अनेकपल्ट अनेकरूपमा राजनीतिमा रहँदैआएको हो तर अन्तिमपल्ट करिब दुई दशकअघि यसले आफ्नो मान्य गुरुवर मुरलीधर मोहनलाई परित्याग गरेर वन्यजन्तु सामग्रीको कारोबारमा लागेपछि आफ्नो वरिपरि जनदर्शक जम्मा गरी जनवादी चटके बन्न सफल भएको छ।
जनदर्शकहरूका माझ यसले अनेक चटक गर्‍यो। घर नहुनेलाई घर, जग्गा नहुनेलाई जग्गा, जागिर नहुनेलाई जागिर र बिहे नभएकालाई लोग्ने वा स्वास्नीसम्म दिन्छु भन्यो। रोगीलाई अस्पताल, विद्यार्थीलाई स्कुल र युवालाई जागिर दिन्छु पनि भन्यो। तर जनदर्शक त्यत्ति वाचाले खासै उत्साही भएनन्।् किनभने, यसभन्दा पहिलेका चटकेले पनि यस्तै वाचा गरेका थिए। तथापि जनवादी चटके अरूभन्दा दुई कदम अघि बढेर जनदर्शकको भावनामा खेल्न सफल भयो। कारण, उसले मृत्यु र जीवनको खेलमा पुराना सबै चटकेलाई जित्यो।
धरानको भानुचोकमा चटकेले एउटा सानो केटोलाई एक पांग्रे साइकल चलाउने, जिम्नयाष्टिक गराउने र उफ्रने, कुद्ने गराउँछ। त्यसपछि त्यही केटालाई एउटा बाकसजस्तोमा छोप्छ र त्यसको अपरेसन गर्ने भनेर यत्रो चक्कु लिएर त्यो छोपेको ठाउँमा काटेको उपक्रम गर्न थाल्छ। एकैछिनमा रगत लतपतिएको चक्कु बाहिर निकालेर सबैलाई देखाउँछ। अनि बिस्तारै बाकसभित्र हात हालेर फोक्सो बाहिर निकाल्छ र कराउन थाल्छ, 'मेरो बच्चा अब मर्ने भो ल हेर फोक्सो बाहिर निस्क्यो,' भनेर। दर्शकहरू द्रविभूत हुन्छन् रगतको खेल देखेर। भए भरको पैसा बिस्तारै बाहिर निस्कन थाल्छ। जब थप पैसा नआउने देख्छ अनि चटकेले त्यो खसीको फोक्सो बाकसभित्रको बच्चामा जडान गरेर बचाएको नाटक गर्छ।
जनवादी चटकेले पनि भानुचोकको चटकेलेभन्दा खासै फरक चटक त गरेन तर फरक यत्ति थियो कि यस चटकमा चाहिँ धेरै निर्दोषको फोक्सोले फेरि सास फेर्न पाएन। धेरै जनदर्शक आफँै टुहुरा भए र धेरैले आफ्नो बुढेसकालको सहारा गुमाए। तर चटक त सकिइसकेको थियो। जनवादी चटके जनताको बलिदानको भर्‍याङ्ग चढेर सत्ताको सोमरसमा विगत बिर्सँदै संसारकै सबैभन्दा धनी चटके बन्ने ध्याउन्नमा छ। नयाँ प्रकारका वाचा र नयाँ जादू के देखाउने भन्ने शोध गर्ने क्रममा घरी सिंगापुर र घरी हङ्गकङ्गको यात्रा गरिरहेको छ। भारत र चीन जोड्ने पुल बनाउँछु भनेर विदेशी दर्शकपनि तान्न खोज्दैछ। लाग्छ, यसमा चाहिँ सफल भइरहेको छैन।
यस्तैमा अहिले जनदर्शकले जनपगरी रछ्यानमा फालेर फेरि साधारण दर्शक हुने र फेरी सबै चटेकहरूको नक्कली जादूको सक्कली रुप हेर्ने उद्घोष गरिरहेको बेला जनचटके नैतिकताको नाटक गरिरहेको छ –सत्तामा आफू नआउने! शान्ति प्रक्रियामा आएपछि 'गान्धी बन्छु' भन्ने जनचटके सत्ता पाउनेबित्तिकै 'जोगी बन्न कसैले राजनीति गरेको हुँदैन' भन्न पनि भ्याउँछ। एकातिर जनतालाई सुरुङ्गी चटक देखाउने वाचा गरेर अर्कोतिर प्रमुख शत्रुको पाउमा आफ्नो पगरी चढाउन पनि पटक्कै लाज मान्दैन ऊ। अहिले त्यही समूहका एक जना जनवादी चटके नदी किनारमा एक पाउमा ध्यान गर्न उभिएको बकुल्लो बनेको देखिएको छ। जसरी बकुल्लो आफ्नो अगाडि माछा नआउन्जेल ध्यान गरेझँै बस्छ त्यस्तै नैतिकता देखाएका छन् प्रमुखमध्येका एक जनवादी चटकेले। तर उनले चाहेको बडेमाको माछो कहिले चुच्चोले भेट्ने गरी नजिकै आउने हो त्यो हेर्न भने बाँकी नै छ।
जनवादी चटकेहरूले जंगलमा मात्र होइन सहरमा पनि चटक देखाएर पैसा असुल्ने कार्य गरिरहेका छन्। एक जना जनवादी चटकेलाई आफू भाडामा बसेको घर अति राम्रो लागेछ। उनी त्यस घरलाई जनचटक गरेर कमाएको पैसाबाट चुत्थो ३ करोड तिर्न तयार रहेछन् तर घरधनी ७ करोड माग्दो रहेछ। आफ्नो ठूलो नैतिकता, त्याग र तपस्याले कमाएको पैसा त्यति सजिलैे तिर्नसक्ने कुरा पनि भएन। त्यसैले अगाडि आइछिन् श्रीमती चटके। विगतका चटकमा धेरै जादू देखाउन नसके पनि चटकेले कमाउन नसकेको वैभव उनले कमाएकी रहिछिन््। त्यही वैभवको धाक देखाउँदै उनले घर धनीलाई नम्र स्वरमा भनिछिन् लग्छौ भने ३ करोड लग होइन भने जनमुक्ति सेनाले तिम्रो घरलाई तिमीजस्तो सामन्तीबाट मुक्त गराउनेछ। चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भएको रहेछ ती जनवादी दर्शकलाई। ठूला नैतिकवान नेतालाई घर भाडामा लगाएर के के न पाउँछु भन्ने लोभमा परेका घर धनी सामन्तीको पगरी गुँथेर सडकवासी हुने बेला भएछ। यही हो जनवादी चटकेको नैतिकता।
जनदर्शकहरू आफ्नो नक्कली जादूको प्रभावबाट मुक्त होलान् भन्ने त्रासले छोपेको छ अहिले जनवादी चटकेलाई। त्यसैले एक जना जनवादी चटके आफूलाई कुखुरा भन्ने नठान्न जनतालाई आग्रह गर्दैछन्। आफँैले आहार खोजेर खानुपर्ने जंगली कुखुरा त उनीहरु पक्कै पनि होइनन् नै। अहिले त केही काम नगरी अरुको मेहनतले कमाएको दानामा रमाउने ब्रोइलर कुखुरा बनिसकेका छन् जनवादी चटकेहरु। तर तिनको भनाइमा कुखुराजस्तो देखिएका चाहिँ आकाशमा नउडुन्जेल मात्र हो रे! उडेपछी उनीहरु चील बन्छन् रे। जनताले बुझ्नुपर्ने कुरा के हो भने जनचटके चील होइन गिद्ध बन्नेछन्। अनि सिनो कुरेर बस्नेछन्, संसारकै सबैभन्दा ठूलो गिद्ध बन्ने ध्याउन्नमा।
यति भएर पनि जनचटकेको संख्या अझै धेरै कम भएको छैन। जनदर्शक केही मात्रामा भ्रान्तिमुक्त भइसकेका त छन् तर जन चटकेहरू झुक्याउने प्रयास छाड्ने पक्षमा छैनन्। सबैले मिलेर देखाएको चटकको पैसा सिंगापुर र बेल्जियममा व्यक्तिगत खातामा जम्मा भएपछि साना जनवादी चटकेहरूपनि आश्चर्य चकित भएका छन् ठूला जनवादी चटकेहरूको जादूगरी क्षमता देखेर। चार पाँच हजार चटकेलाई जम्मा गरेर ३०–३५ हजार चटके बराबर क्षमता बनाएको आफ्नो जादूको गाथा आफँै वर्णन गर्ने प्रमुख चटकेले चटकबाट उठाएको पैसा पनि जादू गरेसरी नै गायब गरिदिएका छन्। ती पैसा केही मात्रामा काठमाडौंको नाम चलेका सुमार्गमा ठडिएका भएपनि लालपुर्जामा अजेय व्यक्तिहरूको नाम देखेर चेला चटके कपाल कन्याउन बाध्य भएका छन्। तर जनता अझै चटकबाट उम्किएका छैनन्। चटक चल्दैछ। जबसम्म तिनले जनवादको पगरी साँच्चै फ्याकेर स्वतन्त्रता प्राप्तिका लागि नंग्रा खियाउने आँट गर्दैनन् चटकेहरू आउने जाने क्रम चलिरहन्छ।
- See more at: http://www.nagariknews.com/opinion/story/4589#sthash.GFNQrcI5.dpuf

No comments:

Post a Comment