Saturday, August 17, 2013

चटकेको नैतिकता

 72  16 
 
  0
(0 votes)
चटकेको नैतिकता अचम्मको हुन्छ। आफ्नो वरिपरि दर्शकजम्मा गर्न ऊ जे पनि बोल्दै जान्छ। जस्ता व्यक्ति वरपर छन् त्यस्तै प्रकारले तिनको ध्यान आकृष्ट गर्छ। युवकहरू वरिपरि रहेछन् भने ऊ केटी फकाउने तरिका सिकाउने बाचा गर्न थाल्छ भने बूढापाका भए ढाड दुखेको, कम्मर सड्केको, औंला झमझमाउने, निद्रा नलाग्ने सम्पूर्ण रोगको औषधि आफूसँग भएको दाबी गर्न थाल्छ। अधबैंसेलाई तान्न ऊ लामो समयसम्म यौनक्रीडामा मस्त रहने उपाय वा महिलाहरूलाई आफ्नो पतिलाई अन्त आँखा नलगाउन के गर्नुपर्छ भन्ने सूत्र सिकाउने दाबी गर्न थाल्छ। वरिपरि प्रशस्त व्यक्ति जम्मा हुन थालेपछि भने उसको ध्याउन्न तिनको खल्तीमा भएको पैसा कसरी निकाल्ने अनि केही साधारण जडीबुटी र विभिन्न प्रकारका तेल कसरी बेच्ने भन्नेमात्रै हुन्छ। तर चटक नसिकुन्जेल ऊ आफूले भनेका विभिन्न सूत्रको रहस्य खोल्ने वाचा चाहिँ बारम्बार गरी नै रहन्छ।

नेपाली राजनीतिमा धेरै प्रकारका चटकेको पदार्पण भएको छ। गरिब जनता पुराना चटकेहरूको कहिल्यै पूरा नहुने बाचाबाट वाक्क भएर नयाँ चटकेतर्फ आर्कषित हुन्छन्। चटकेहरू वाचा गरिरहन्छन् र जनता लुटिरहन्छन्। जनता आकर्षित र विकर्षित हुने क्रम चलिरहन्छ। धेरै थरीका चटकेको गाथा एकै लेखमा वर्णन गर्ने दाबी गरे यो लेख आफँै अर्को चटक बन्न पुग्छ। त्यसैले करिब २० वर्षदेखि नेपाली राजनीतिमा देखापरेको अनौठो चटकेतर्फ ध्यान केन्द्रित गरौं। हुनत, यो चटके अनेकपल्ट अनेकरूपमा राजनीतिमा रहँदैआएको हो तर अन्तिमपल्ट करिब दुई दशकअघि यसले आफ्नो मान्य गुरुवर मुरलीधर मोहनलाई परित्याग गरेर वन्यजन्तु सामग्रीको कारोबारमा लागेपछि आफ्नो वरिपरि जनदर्शक जम्मा गरी जनवादी चटके बन्न सफल भएको छ।
जनदर्शकहरूका माझ यसले अनेक चटक गर्‍यो। घर नहुनेलाई घर, जग्गा नहुनेलाई जग्गा, जागिर नहुनेलाई जागिर र बिहे नभएकालाई लोग्ने वा स्वास्नीसम्म दिन्छु भन्यो। रोगीलाई अस्पताल, विद्यार्थीलाई स्कुल र युवालाई जागिर दिन्छु पनि भन्यो। तर जनदर्शक त्यत्ति वाचाले खासै उत्साही भएनन्।् किनभने, यसभन्दा पहिलेका चटकेले पनि यस्तै वाचा गरेका थिए। तथापि जनवादी चटके अरूभन्दा दुई कदम अघि बढेर जनदर्शकको भावनामा खेल्न सफल भयो। कारण, उसले मृत्यु र जीवनको खेलमा पुराना सबै चटकेलाई जित्यो।
धरानको भानुचोकमा चटकेले एउटा सानो केटोलाई एक पांग्रे साइकल चलाउने, जिम्नयाष्टिक गराउने र उफ्रने, कुद्ने गराउँछ। त्यसपछि त्यही केटालाई एउटा बाकसजस्तोमा छोप्छ र त्यसको अपरेसन गर्ने भनेर यत्रो चक्कु लिएर त्यो छोपेको ठाउँमा काटेको उपक्रम गर्न थाल्छ। एकैछिनमा रगत लतपतिएको चक्कु बाहिर निकालेर सबैलाई देखाउँछ। अनि बिस्तारै बाकसभित्र हात हालेर फोक्सो बाहिर निकाल्छ र कराउन थाल्छ, 'मेरो बच्चा अब मर्ने भो ल हेर फोक्सो बाहिर निस्क्यो,' भनेर। दर्शकहरू द्रविभूत हुन्छन् रगतको खेल देखेर। भए भरको पैसा बिस्तारै बाहिर निस्कन थाल्छ। जब थप पैसा नआउने देख्छ अनि चटकेले त्यो खसीको फोक्सो बाकसभित्रको बच्चामा जडान गरेर बचाएको नाटक गर्छ।
जनवादी चटकेले पनि भानुचोकको चटकेलेभन्दा खासै फरक चटक त गरेन तर फरक यत्ति थियो कि यस चटकमा चाहिँ धेरै निर्दोषको फोक्सोले फेरि सास फेर्न पाएन। धेरै जनदर्शक आफँै टुहुरा भए र धेरैले आफ्नो बुढेसकालको सहारा गुमाए। तर चटक त सकिइसकेको थियो। जनवादी चटके जनताको बलिदानको भर्‍याङ्ग चढेर सत्ताको सोमरसमा विगत बिर्सँदै संसारकै सबैभन्दा धनी चटके बन्ने ध्याउन्नमा छ। नयाँ प्रकारका वाचा र नयाँ जादू के देखाउने भन्ने शोध गर्ने क्रममा घरी सिंगापुर र घरी हङ्गकङ्गको यात्रा गरिरहेको छ। भारत र चीन जोड्ने पुल बनाउँछु भनेर विदेशी दर्शकपनि तान्न खोज्दैछ। लाग्छ, यसमा चाहिँ सफल भइरहेको छैन।
यस्तैमा अहिले जनदर्शकले जनपगरी रछ्यानमा फालेर फेरि साधारण दर्शक हुने र फेरी सबै चटेकहरूको नक्कली जादूको सक्कली रुप हेर्ने उद्घोष गरिरहेको बेला जनचटके नैतिकताको नाटक गरिरहेको छ –सत्तामा आफू नआउने! शान्ति प्रक्रियामा आएपछि 'गान्धी बन्छु' भन्ने जनचटके सत्ता पाउनेबित्तिकै 'जोगी बन्न कसैले राजनीति गरेको हुँदैन' भन्न पनि भ्याउँछ। एकातिर जनतालाई सुरुङ्गी चटक देखाउने वाचा गरेर अर्कोतिर प्रमुख शत्रुको पाउमा आफ्नो पगरी चढाउन पनि पटक्कै लाज मान्दैन ऊ। अहिले त्यही समूहका एक जना जनवादी चटके नदी किनारमा एक पाउमा ध्यान गर्न उभिएको बकुल्लो बनेको देखिएको छ। जसरी बकुल्लो आफ्नो अगाडि माछा नआउन्जेल ध्यान गरेझँै बस्छ त्यस्तै नैतिकता देखाएका छन् प्रमुखमध्येका एक जनवादी चटकेले। तर उनले चाहेको बडेमाको माछो कहिले चुच्चोले भेट्ने गरी नजिकै आउने हो त्यो हेर्न भने बाँकी नै छ।
जनवादी चटकेहरूले जंगलमा मात्र होइन सहरमा पनि चटक देखाएर पैसा असुल्ने कार्य गरिरहेका छन्। एक जना जनवादी चटकेलाई आफू भाडामा बसेको घर अति राम्रो लागेछ। उनी त्यस घरलाई जनचटक गरेर कमाएको पैसाबाट चुत्थो ३ करोड तिर्न तयार रहेछन् तर घरधनी ७ करोड माग्दो रहेछ। आफ्नो ठूलो नैतिकता, त्याग र तपस्याले कमाएको पैसा त्यति सजिलैे तिर्नसक्ने कुरा पनि भएन। त्यसैले अगाडि आइछिन् श्रीमती चटके। विगतका चटकमा धेरै जादू देखाउन नसके पनि चटकेले कमाउन नसकेको वैभव उनले कमाएकी रहिछिन््। त्यही वैभवको धाक देखाउँदै उनले घर धनीलाई नम्र स्वरमा भनिछिन् लग्छौ भने ३ करोड लग होइन भने जनमुक्ति सेनाले तिम्रो घरलाई तिमीजस्तो सामन्तीबाट मुक्त गराउनेछ। चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भएको रहेछ ती जनवादी दर्शकलाई। ठूला नैतिकवान नेतालाई घर भाडामा लगाएर के के न पाउँछु भन्ने लोभमा परेका घर धनी सामन्तीको पगरी गुँथेर सडकवासी हुने बेला भएछ। यही हो जनवादी चटकेको नैतिकता।
जनदर्शकहरू आफ्नो नक्कली जादूको प्रभावबाट मुक्त होलान् भन्ने त्रासले छोपेको छ अहिले जनवादी चटकेलाई। त्यसैले एक जना जनवादी चटके आफूलाई कुखुरा भन्ने नठान्न जनतालाई आग्रह गर्दैछन्। आफँैले आहार खोजेर खानुपर्ने जंगली कुखुरा त उनीहरु पक्कै पनि होइनन् नै। अहिले त केही काम नगरी अरुको मेहनतले कमाएको दानामा रमाउने ब्रोइलर कुखुरा बनिसकेका छन् जनवादी चटकेहरु। तर तिनको भनाइमा कुखुराजस्तो देखिएका चाहिँ आकाशमा नउडुन्जेल मात्र हो रे! उडेपछी उनीहरु चील बन्छन् रे। जनताले बुझ्नुपर्ने कुरा के हो भने जनचटके चील होइन गिद्ध बन्नेछन्। अनि सिनो कुरेर बस्नेछन्, संसारकै सबैभन्दा ठूलो गिद्ध बन्ने ध्याउन्नमा।
यति भएर पनि जनचटकेको संख्या अझै धेरै कम भएको छैन। जनदर्शक केही मात्रामा भ्रान्तिमुक्त भइसकेका त छन् तर जन चटकेहरू झुक्याउने प्रयास छाड्ने पक्षमा छैनन्। सबैले मिलेर देखाएको चटकको पैसा सिंगापुर र बेल्जियममा व्यक्तिगत खातामा जम्मा भएपछि साना जनवादी चटकेहरूपनि आश्चर्य चकित भएका छन् ठूला जनवादी चटकेहरूको जादूगरी क्षमता देखेर। चार पाँच हजार चटकेलाई जम्मा गरेर ३०–३५ हजार चटके बराबर क्षमता बनाएको आफ्नो जादूको गाथा आफँै वर्णन गर्ने प्रमुख चटकेले चटकबाट उठाएको पैसा पनि जादू गरेसरी नै गायब गरिदिएका छन्। ती पैसा केही मात्रामा काठमाडौंको नाम चलेका सुमार्गमा ठडिएका भएपनि लालपुर्जामा अजेय व्यक्तिहरूको नाम देखेर चेला चटके कपाल कन्याउन बाध्य भएका छन्। तर जनता अझै चटकबाट उम्किएका छैनन्। चटक चल्दैछ। जबसम्म तिनले जनवादको पगरी साँच्चै फ्याकेर स्वतन्त्रता प्राप्तिका लागि नंग्रा खियाउने आँट गर्दैनन् चटकेहरू आउने जाने क्रम चलिरहन्छ।
- See more at: http://www.nagariknews.com/opinion/story/4589#sthash.GFNQrcI5.dpuf

भ्रामक संकेत, भ्रमित राजनीति

 18  16 
 
  0
(0 votes)
नेपालका सडकमा दाहिने संकेत बत्ती (इन्डिकेटर लाइट) अर्थात् 'साइड लाइट' बाल्ने अचम्मको बानी छ चालकहरुमा। दाहिनेतिरको साइड लाइट बाल्ने भनेको आफू दाहिने जान्छु भन्नलाई हुनुपर्ने हो तर त्यही हो भन्ने ठानेर सोचेर अगाडिको मोटरको भर पर्‍यो भने नराम्रो दुर्घटनामा पर्न सकिन्छ। चालकहरु पछाडिबाट आइरहेको मोटरलाई 'उछिनेर जाऊ' भन्न पनि दाहिने साइड लाइट बाल्छन्, अगाडिबाट आएको गाडीलाई बाटोको अन्दाज दिन पनि दाहिने नै बाल्छन्।

कुनै चालकले अगाडिबाट आएको मोटरलाई साइड लाइट दियो तर पछाडिबाट उछिन्न चाहने मोटरले त्यो संकेत आफूलाई जानका लागि दिएको हो भन्ने ठान्यो भने, झ्याम्मै, ठूलै दुर्घटना हुन्छ। त्यस्तै दाहिने साइड लाइटबाल्दा पछाडिकोले उछिन्न खोज्यो तर अगाडिको वाहनभने साँच्चिकै दाहिने तिर जान खोजेको रहेछ भने पनि ढ्याम्म ठोकिइहाल्छ। दुई तीनवटा परस्परविपरीत कुराका लागि एउटै साइड लाइट बालिन्छ भने दुर्घटना हुनु अचम्म पनि होइन। नेपालका सडकमा दुर्घटना भइरहनुमा साइड लाइटले ठूलै भूमिका खेलेको देखिन्छ।
एउटै संकेतले परस्परमा विपरीत धेरै काम गर्न खोज्ने हाम्रो बानीले हरेक क्षेत्रमा दुर्घटना हुने जोखिम रहिरहन्छ। राजनीति र सरकारमा पनि यही समस्या बढी देखिएको छ। देशका लागि अहिलेको मुख्य जिम्मेवारी मंसीर ४ मा संविधान सभा र व्यवस्थापिका संसद्को निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउनु नै हो। एकातिर सरकार निर्वाचन बिथोल्नेलाई कडा कारबाही गरिनेछ भनिरहेको छ। अर्कोतिर, कारबाही के भयो त भनेर हेर्दा निर्वाचन बिथोल्नेहरूलाई सिंहदरबारमा चिया खान निम्तो बाडिन्छ । अनि निम्तालु चाहिँ हामी चिया खाने होइन मत पेटिका फोर्ने हौं भनेर पत्रकार  बोलाएर हम्मरले मतपेटिका फोर्छन्। मत पेटिका फोर्ने, चुनावमा उम्मेदवार हुनेहरूलाई भौतिक कारबाही गर्छु भन्ने दललाई कानुनी कारबाही गर्न छाडेर निर्वाचन आयोग र सरकार तिनको मन फेरिने आशा लिएर बसेको देखिन्छ। यसरी दोहोरो संकेत दिएका कारण जनता निर्वाचन हुनेमा अझै ढुक्क हुनसकेका छैनन्। दलहरु निर्वाचनमुखी बन्नसकेका छैनन्।
चुनावको मुखमा ठूला राजनीतिक नियुक्ति गर्नुहुन्न भन्छ यो सरकार आफँै। अनि भन्छ – भारत र चीनजस्ता ठूला र निकट छिमेकी देशमा राजदूत नियुक्त गर्न नसक्नु आफैँमा लाजमर्दो विषय हो। मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई ठूलो भरोसा छ कूटनीतिक क्षेत्रमा काम गरेर अनुभव कमाएका व्यक्तिमा। उनी चाहन्छन् 'करिअर डिप्लोम्याट'लाई नै दिउँ यी दुई ठूला देशको राजदूत र सार्क महासचिवको पद। उनको विचार सही होला, त्यस्तै व्यक्तिले नै देशको हित हेर्नसक्ने पनि होलान् तर सँगसँगै अरू राजनीतिक दलले ल्याएका नामलाई पनि उनी हुन्न भन्दैनन्। जबसम्म आफूलाई ठीक लागेको उम्मेदवार आउँदैन तबसम्म यो सरकारले ठूलो राजनीतिक नियुक्ती गर्नहुन्न भन्ने अनि जब आफूलाई चित्त बुझेको नाम आउँछ सुरुक्क नियुक्ती गरिदिने! सम्भवतः यही हो एकै 'सिग्नल'को दोहोरो खेल।
एउटै संकेतको फरक अर्थ दिन नेकपा–माओवादी पनि पारंगत देखियो। एकातिर निर्वाचन बिथोल्छु भन्ने अनि अर्कोतिर वार्ता टोली पनि तयार गर्ने। एकातिर जनवादी साम्यवादमा देशलाई लैजान्छु भन्छ अर्कोतिर सरकार भने उनीहरूलाई लोकतान्त्रिक व्यवहार गर्नुपर्‍यो भनेर माग गर्छ। ऊ आफू लोकतन्त्र नमान्ने हो भने सरकारमा शक्ति पृथकीकरण भएन, लोकतान्त्रिक भएन त्यस कारणले निर्वाचनमा जान्न भन्न कुन नैतिकताले दिन्छ? तर यहाँ दिन्छ। एउटै सिग्नलले दाहिने र देब्रे दुवैतिर जान्छु भन्न मिल्छ यस देशमा।
मोहन वैद्य 'किरण'ले राजासँग सहकार्य गर्न सकिन्छ भन्दा एनेकपा (माओवादी)का नेताले तीखो प्रतिक्रिया दिए। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले त आफू प्रधानमन्त्री भएको भए सामाजिक कार्य गर्दै हिँडेका राजालाई जेलमा कोचिदिन्थेँ सम्म भने। तर उनको बोली भुइँमा खस्न नपाउँदै कमल थापाले जनतालाई सम्झाइदिए – बाबुराम भट्टराई आफँै राजासँग मिल्ने प्रस्ताव लिएर आएका रहेछन् कुनैबेला। अहिले उनै भट्टराई अरु दल राजासँग मिल्छन् कि भन्ने भयले आक्रान्त छन्। अनि भट्टराई भन्छन्, त्यो त उनको दलको कार्यनीतिमात्र थियो। अर्थात् कार्यनीतिको नाममा जसलाई जे सिग्नल दिएपनि भयो, अनि जस्तोसुकै नमिल्ने निर्णय लिए पनि भयो। नेपाली राजनीतिको यही द्वैध चरित्र नै त हो नेपाली सडकको अवस्था।
एमाओवादी त दोहोरोतेहरो सिग्नल दिन झन् माहिर भइहाल्यो। त्यही एउटा राष्ट्रपतिको पद मुखले तिनले सबैलाई बाँडिदिएका थिए। राजालाई पनि भनेछन् संविधान सभा र गणतन्त्र भयो भने तिमी नेपालको पहिलो राष्ट्रपति। गिरिजाप्रसाद कोइरालालाई पनि त्यही चक्लेट खुवाएछन्, चुनाव भयो भने तिमी नेपालको पहिलो राष्ट्रपति भनेर। उता बम पड्काएर चर्चित बनेका मधेसी नेता र आफ्ना हितैषी रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको पद चढाएरै बसेका रहेछन् माओवादी नेताहरु। धन्न! कताबाट रामवरण यादवलाई नेकपा (एमाले)ले समर्थन गरेर बचाएछ लोकतन्त्र।
पूर्व राजा ज्ञानेन्द्र पनि दोहोरो सिग्नल दिन खप्पिस। नेपाली कांग्रेसका नेता र पूर्व सभामुख तारानाथ रानाभाट पूर्व राजाको संकेत बुझ्न नसकेर ठूलो दुर्घटनामा परेका उत्कृष्ट उदाहरण हुन्। त्यतिबेला राजाकै शासन थियो। उनी एकपछी अर्को प्रधानमन्त्री फेरी रहेका थिए, एउटा चुरोट फालेर अर्को सल्काए झै गरी। त्यसैताक रानाभाटलाई पनि नयाँ दौरा सुरुवाल लगाएर बस्न फोन आयो। उनी सभामुखको निवासबाट बालुवाटार निवास जान मज्जाले तयार भएर पनि बसे तर राजाले सभामुखको घर छाड्ने हो भने पद पनि छाड्ने राजीनामा ल्याउन भने। उनका नेता गिरिजाले उसोभए हुन्न भने। उनी थचक्कै बसे। यत्रो वर्षमा अझै राजनीतिमा उठ्न सकेका छैनन्।
विचरा पूर्व राजा ज्ञानेन्द्र आफूले अरुलाई गलत सिग्नल दिँदादिँदै आफैँ पनि गलत सिग्नलको भर परे। माओवादीले संवैधानिक राजतन्त्र नभए सांस्कृतिक राजा त अवश्य राख्छ र सेनाले अन्तिम बेलासम्म साथ दिन्छ भनेर बसेका राजा त थाहै नपाई जेठ १४, २०६४ सालमा आफँैले आफँैलाई राजदरबारबाट निकाला गरेको सन्देश पढेर निस्कनु पर्‍यो। सेनाले साथ देला भन्ने भरमा बसेका ज्ञानेन्द्र शाह पत्तै नपाई ठूलै दुर्घटनामा परे। सेनाले पनि सिग्नलको राजनीति राम्रै गरेेको देखियो।
अरु दल नेपाली कांग्रेस, नेकपा (एमाले) आदिले पनि गलत सिग्नल दिने र अर्काको गलत सिग्नललाई सही ठान्ने गल्ती गर्दै आएका छन्। सुशील कोइरालालाई प्रधानमन्त्री पद दिने लोभ देखाएर बाबुराम सरकार ढाल्न सहयोग लिइयो तर त्यो सिग्नल गलत परेछ। भाग्य त अर्कैको जागेको रहेछ। त्यो खेलमा गलत सिग्नल दिनेकाम भारतले गरेको भन्ने भान परेका कोइरालाले अब भारत भ्रमणपश्चात फेरि अर्कै कुरा बोलेर गलत सिग्नल दिन बेर लाउने छैनन्। आखिर सिग्नल दिन र सिग्नलको अर्थ फेर्न खप्पिस दक्षिणी छिमेकीको दाँजोमा बिचरा नेपाली राजनीतिज्ञ कसरी टिकुन्?
भारतले नबोलाउन्जेल सबै नेता खुँखार भारत विरोधी हुन्छन्। भारतले बोलाएपछि सबैका लागि उही ठूलो मित्रराष्ट्र र सहयोगी छिमेकी बन्छ। कमरेड केपी ओली भारत भ्रमणमा हुँदा कमरेड माधव नेपालले दिएको सिग्नल भारत विरोधी हुन्छ। आफै निलो सुटमा सोनिया गान्धीसँग हात मिलाएर आएपछि अब उनले दिएको त्यही सिग्नल भारतमुखी हुन्छ। शेरबहादुर देउवा भारत भ्रमणमा हुँदा सुशील कोइरालाले दिने सिग्नल पनि त्यस्तै हुन्छ। उनी आफँै भारत भ्रमणमा गएपछि त्यो सिग्नलको अर्थै अर्को हुन्छ।
जसरी नेपालका सडकमा आफू अगाडि गुडीरहेको मोटरको सिग्नलको अर्थ लगाएर कुनै निर्णय लिन सकिन्न त्यसरी नै नेपालका राजनीतिक नेताहरूको बोलीको अर्थ लगाएर कुनै कुरा जान्न सकिन्न। राजनीतिक दलहरु एक अर्कालाई झुक्याउन र जनताको समर्थन प्राप्त गर्न जे पनि बोल्छन् र जस्तोसुकै वाचा पनि गर्छन्। आफ्नो स्वार्थ पूरा भएपछि लाजै पचाएर आफूले पहिले बोलेको शब्दको गलत अर्थ लगाउन थाल्छन्। अरूलाई गलत अर्थ नलगाउन औँलो ठड्याउँछन्।
कुनै राजनीतिक दल वा नेता नेपालको भ्रमित राजनीतिलाई चिरेर वचनको पक्का र जनताको सच्चा प्रतिनिधि हुनसकेका छैनन्। दायाँतिरको सिग्नल लाइटको एउटै अर्थ दाहिने जानेमात्र हो भन्ने बुझ्दा दुर्घटना नहुने अवस्थामा पुग्न सायद नेपालले अझै धेरै समय कुर्नु पर्नेछ।
- See more at: http://www.nagariknews.com/opinion/story/4954#sthash.Ekray42k.dpuf
हुनेले सकेजति खर्च गर!
नेकपा (एमाले) नेता तथा वरिष्ठ अधिवक्ता अग्नि खरेलले छोरा र भतिजा दुवैको बिहेको संयुक्त भोजका लागि निम्ता कार्ड बाँडिसकेका रहेछन् तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एउटा अपिलको आधारमा उनले सो भोज रोकेको समाचार पत्रपत्रिकामा प्रकाशित भएको छ।
आजभन्दा ३७ वर्ष पुरानो सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ मा विवाह, व्रतबन्ध, चूडाकर्म, पास्नी, न्वारान, जन्मदिवस आदि अवसरमा नातेदार बाहेक २५ जनाभन्दा बढीलाई बोलाउन नपाउने, जन्तीमा ५१ जनाभन्दा बढी जान नपाइने र तडकभडक गर्न नपाइने उल्लेख छ। अहिले आएर अख्तियारले त्यो ऐन प्रभावकारी बनाउन खोजेको देखियो।
यहाँनिर दुईवटा कुरा महत्वपूर्ण छन्। पहिलो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई भोज, भतेर, समारोहमा खर्च नियन्त्रण गर्ने ऐन कार्यान्वयन गराउने प्रहरीको अधिकार कसले दियो? अधिकार नपाएको विषयमा यसरी तर्साउने शैलीमा अपिल जारीगर्ने कार्य आफैँमा अख्तियार दुरुपयोग भयो कि भएन? दोस्रो, कसैले आफ्नो क्षमताअनुरुप खर्च गर्दा गरिब, दुःखीलाई र देशको अर्थतन्त्रलाई घाटा हुन्छ कि फाइदा? घाटा हुन्नभने बरु यो पुरातन नियम खारेज गर्ने बेला पो भयो कि?
पहिलो पाटोबाट यस विषयलाई हेरौँ। नेपालको अन्तरिम संविधान, २०६३ को भाग ११ धारा १२० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले के कस्ता कार्य गर्ने भन्ने व्यवस्था छ। उक्त धारामा कहीँ कतै पनि अदुअआले समाजिक रीति, आचार व्यवहारमा निगरानी राख्ने प्रकारका कुनैपनि काम कारवाही गर्न पाउने भनेर उल्लेख गरिएको छैन। अर्थात अदुअआलाई सार्वजनिक पद धारण गरेका व्यक्तिले गरेको अनुचित कार्य र भ्रष्टाचारबाहेक सर्वसाधारण जनताले गर्ने सामाजिक कार्य ठीक वा बेठीक भन्ने कुनै अधिकार संविधानले प्रदान गरेको छैन।
अदुअआले संविधानमा तोकेको दायरामा रही कस्तो कार्य गर्न पाउँछ भनेर ऐन पनि बनेको छ। उक्त ऐनको नाम अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ रहेको छ। यो ऐनमा २०५९, २०६३ र २०६६ सालमा संशोधन गरिएको छ। यो संशोधित ऐनको परिच्छेद २, धारा ४ मा पनि 'सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले अख्तियार दुरूपयोग गरेमा आयोगले यस ऐन वा अन्य प्रचलित कानुनबमोजिम अनुसन्धान र तहकिकात गर्ने, मुद्दा चलाउने तथा तत्सम्बन्धी अन्य कारबाही गर्नेछ,' भनिएको छ। कहिंकतै भोज भतेरमा धेरै मान्छेलाई कसैले खुवायो भने कारबाही गर्नु भनेर लेखिएको छैन।
अदुअआको संवैधानिक र कानुनी अधिकारअनुसार आफैँले कुनै पनि सामाजिक ऐन कार्यान्वयनमा ल्याउन पाउने देखिँदैन। समाज सुधारका नियमहरू अख्तियारले यसरी नै लागु गर्दै जाने हो भने त भविष्यमा गुन्डागर्दी गर्न नपाउने नियम लागु गर्ने काम पनि उसैले गर्ला अनि अग्नि खरेलजस्ता वरिष्ठ अधिवक्ताहरू मान्दै जालान्। त्यसपछि गृह मन्त्रालय, स्थानीय प्रशासन, प्रहरी सबै अदुअआअन्तर्गतै चल्लान्। यही गतिमा प्रगति गर्दै जाने हो भने त लोकमान सिंह कार्कीले ६ वर्षे कार्यकाल नसकिँदै देशको प्रमुख कार्यकारीको सम्पूर्ण कामकारबाही आफ्नै जिम्मा हो भन्न सुरु गर्न सक्ने पो देखियो। अख्तियारले सक्छ भने दिने त उनलाई यो जिम्मेवारी? सही कार्य भए पनि अख्तियार नपाएको संस्थाले कुनैपनि अख्तियारी आफैँले लिन पाउँदैन। प्रहरीले मालपोतको काम र अनुसन्धान विभागले सैनिकको कार्य राम्रोसँग गरेभने तिनलाई जिम्मा दिँदा देशको भलो होला त?
अब दोस्रो विषयमा जाउँ। अग्नि खरेलले सैनिक क्लबमा सात, आठ सय मान्छेलाई भोज खुवाउँदा कसलाई फरक पर्छ? यहाँ खरेल एक उदाहरणका रुपमा मात्र लिइएको हो तर उनीभन्दा धेरै धनवान् र सामर्थ्यवान् व्यक्ति आफ्नो सम्पतिको प्रदर्शन गर्न सधै लालायित रहन्छन्। तिनले कमाएको पैसा देखाउने सबैभन्दा उपयुक्त अवस्था बिहे, ब्रतबन्ध, पूजाआजा आदि नै त हुन्।
अहिले कुनै अर्बपति व्यापारीलाई धेरै मान्छे बोलाएर भोज गर्न दिइएन भने उसले के गर्छ? सबैलाई त्यो भोजमा लाग्ने खर्च दामासाहीमा बाँडेर घर घरमा लगेर दिन्छ? अवश्य दिँदैन। उसले त्यो भोज या त नयाँ दिल्लीमा लग्छ वा सिंगापुर अथवा बैंकक। उसले त्यो पैसा बाहिर खर्च गर्‍यो भने देशलाई फाइदा हुँदैन। खर्चै नगरी राख्यो भने पनि देशको अर्थतन्त्र वा गरिब जनतालाई कुनै फाइदा हुँदैन।
धनी व्यक्तिले आफ्नो पैसा खर्च नगर्दा देशको आर्थिक अवस्था सुधि्रने हो भने त अदुअआ नभए पनि सिडिओ वा अन्य सरकारी निकाय लगाएर यसलाई रोक्नैपर्ने हुन्छ। तर त्यस्तो हुँदैन। धनी व्यक्तिलाई उसको सम्पति खर्च गर्न दिएन भने पनि उसको सम्पति गरिबको घरमा पुग्दैन। उसले सकभर बैंकमा राख्छ, अझ त्यहाँपनि देखाउन नमिल्ने सम्पति रहेछ भने सुनको ईंटा बनाएर कतै सेफमा वा लकरमा लगेर लुकाउँछ। त्यति पनि गर्न दिइएन भने विदेशी बैंकमा लगेर राख्छ।
कसैलाई पैसा खर्च गर्न नदिएर देशको अर्थतन्त्रमा त्यो पैसा आफँै आउने हैन। यो त देशभरका व्यापारीहरू पूर्ण बजेट चाहियो भनेर कराएकोबाटै पनि स्पष्ट हुन्छ। सरकारसँग विकास कार्यमा खर्च नभएको अर्बौ रुपैयाँ त राष्ट्र बैंकमा थुप्रिएकै थियो नि। तर त्यो त्यतिकै बाँड्न मिल्छ? बाँडियो भने जनताको आर्थिक स्थिति सप्रिन्छ? बाँडन पनि मिल्दैन र स्थिति पनि सप्रिन्न। त्यसैले बजेट ल्याएर विकास, निर्माण कार्यमा खर्च गर्न भनिएको हो।
भोज भयो भने गरिब किसानले बारीमा लगाएको तरकारी, फलफूल, चामल, दाल, तेल विक्री हुन्छ। बर्ड फ्लु नलागेको बेला हो भने कुखुरा पालकको मासु बिक्छ, माछा पोखरीवालाको माछा, बाख्रा पालक किसानको खसी बिक्री हुन्छ, राँगा पाल्नेको राँगाबाट पैसा आउँछ। त्यतिमात्र होइन काठमाडौं र अन्य सहरमा जागिर नपाएर बसेका युवाले केही दिनका लागि भएपनि वेटरको जागिर पाउँछन्। वेटर बन्न नसक्नेले पनि तरकारी ताछ्ने, काट्ने, भाँडा सफा गर्ने काम पाउँछन्। सामान ढुवानी गर्ने भाडाको मोटर कंपनीले काम पाउँदा त्यो मोटर चलाउने ड्राइभर, सहयोगीको पनि खल्तीमा पैसा आउँछ।
अहिले नेपालमा हजारौंको संख्यामा पार्टी प्यालेस खुलेका छन्। लाखौं व्यक्तिले ती पार्टी प्यालेसमा काम पाएका छन्। हजारौं व्यक्तिले बनाएको घर भाडामा लागेको छ। लाखौं किसानले आफ्नो सामान बेच्न पाएका छन्। देशको अर्थतन्त्रमा भोज, भतेरहरूले ठूलो गुण लगाएका छन्। पैसा भएको मान्छेले खर्च गरेको कारण नै सबैको खल्तीमा पैसा पुगेको छ। साना किसानले पनि छोरा छोरीलाई पढ्न र राम्रो लुगा लगाउन दिनसकेका छन्। फेरि यही किसान, मजदुर, साना कामदारले खर्च गर्ने पैसाले ठूला व्यापारी धनी भएका छन्। तिनले कमाएका पैसा अर्थतन्त्रमा बगाउने धेरै तरिकामध्ये उसले आफ्नो इच्छाअनुसार गर्ने भोज, भतेर, घुमाइ आदि प्रमुख उपाय हुन्। यस्तो कार्य रोक्नुपर्ने कुनै जरुरत छैन। ऊ बेला चन्द्र शमशेरले त्रि–चन्द्र कलेज खोलेपछि पछुतो गरेका थिए रे अब जनता जान्ने भएर राणा शासनको अन्त्य गर्नेछन् भनेर। धनीलाई खर्च गर्न नदिनु पनि राणाको शिक्षा प्रदान नगर्ने उपायजस्तै हो। गरिबविरुद्धको षडयन्त्र हो। गरिबको पैसा आउने माध्यमहरू बन्द गर्दै जाने हो भने गरिबी बढ्छ। त्यस्तो अवस्थामा धनीहरु पनि क्रमशः कमाएको पैसा लिएर देशबाटै पलायन हुन्छन्।
भोज, भतेरमा पैसा हुनेले धेरै खर्च गर्‍योभने नहुनेलाई दबाब पर्छ भन्ने एउटा खिरिलो तर्क पनि छ। त्यस्तै हुने हो भने त साना पसल सबै बन्द हुनुपर्ने नि! किनभने नहुने पनि ठुलै पसल जान खोज्छ। सानो मोटरको विक्री नै नहुनुपर्ने किनभने सबैलाई ठूलो र राम्रो मोटरनै चढ्ने रहर लाग्दछ। तर वास्तविकता के हो भने मान्छेले आफ्नो औकातबाट धेरै माथि गएर खर्च गर्दैन, गर्न सत्तै्कन। गरिहाल्यो भने पनि समाजले उसलाई मूर्ख भन्छ। कोही मूर्ख बन्लान् भनेर गरिबको गाँस खोस्नु हुँदैन। बजारमा पैसा आउनुपर्छ। आउन दिनुपर्छ।
अग्नि खरेलले हजारौं मुद्दा लडेर कति कमाएका थिए त्यसको केही मात्रामा नेपाली अर्थतन्त्रमा बगेको भए कसैलाई हानि हुने थिएन। अदुअआका कार्कीलाई यसले कुनै हानि हुने थिएन। त्यसैले हुनेले, सक्नेले औकातअनुसार खर्च गर्दा देशलाई घाटा होइन फाइदै हुन्छ।
- See more at: http://www.nagariknews.com/opinion/story/5617#sthash.Rp7erzbE.rzswY0uX.dpuf