Saturday, August 17, 2013

बैंक डकैती बाइस्कोप

 0  1 
 
  0
(0 votes)
वर्षौंदेखि चलिरहेछ बैंक डकैती बाइस्कोप। यो खलनायक प्रधान सिनेमा हो। यसमा नायकको कुनै भूमिकै छैन। न त चाँडै कुनै नायकले पदार्पण गरेर कहानीमा 'टि्वस्ट' ल्याउने संभावना देखिन्छ। कात्रोमा खल्ती हुन्छ भन्ने मान्यता राख्नेे जीवले टाउकोमा कात्रो बेेेरेर हिँड्ने नायकहरूलाई बेवकुफ र नालायक बनाइदिएको कथा हो यो बाइस्कोप। खलनायकहरूको वर्चस्व भएको चलचित्रका अढाई करोड दर्शकहरू भोकै र नांगै छन् तर सिनेमा छाड्न सक्दैनन् किनभने ती आफँै पात्र पनि हुन्। अहिलेसम्म धेरै खलनायक दर्शकहरुबाटै मूख्य भूमिकामा प्रवेश गरेका हुनाले धेरै दर्शक भाग्योदय चिठ्ठा पर्ने भ्रममा छन्, आफ्नो पनि लुट्ने पालो आउला भनेर। पीडित दर्शक पीडामै छन्। नवप्रवेशी दर्शकहरूको संलग्नतामा हरेक एक वा दुई दशकमा विरोधको ठूलो आवाज निकाल्छन् र केही बलिदान पश्चात् डकैतहरु परिवर्तन गराउन सफल हुन्छन्, तर डकैती परिवर्तन हुँदैन। नयाँ नायकरूपी घुसपैठिया दर्शकलाई ठूलाठूला सपना देखाउँछन् अनि सुरू गर्छन् डकैतीको नयाँ सिलसिला। विवश र थकित दर्शक अर्को जागरुक पुस्ताको पर्खाइमा फेरी जुगाहरूलाई आफ्नो रगत अनवरत चुसाउँछन्, निःशब्द, निस्तब्ध।

सबैको हुनाले कसैको भएको छैन अढाई करोड सेयर होल्डर भएको बैंक। मुकुट पहिरिएर डकैती गर्नेहरूलाई भगवानको पगरी गुथाएर खुब लुट्न दिइयो। शिरमा पैताला बजार्दा आशीर्वाद पाइयो भनेर धन्य भए दर्शकहरू। साना मुकुटेले सात पुस्ताका लागि पुग्नेगरी लुटेको धन एकै पुस्तामा सकिएको देख्दादेख्दै पनि धन होइन मन लुट्नु पर्छ भन्ने चेत आएन ठूला मुकुटेलाई। अन्ततः नयाँ दर्शकको ठूलो जमातले खलनायक परिवर्तन गर्‍यो। तर परिवर्तन भएन बैंक डकैतीको सिलसिला। एउटा डकैतीको क्रमभङ्गता गर्नेेहरूले सुरूगरे अर्को डकैतीको सिलसिला, अझ विस्तृत, अझ भयावह, अझ त्रू्कर र अझ विकृत।
खलनायकहरूको प्रतिस्पर्धा छ। धेरै लुट्ने ठूला खलनायक थोरै लुट्ने साना। नायक त छँदै छैनन्। भएका आक्कल झुक्कल नायकलाई खलनायकका गोयबल्सहरूले तुरून्तै डरलाग्दो खलनायकका रुपमा सफलतापूर्वक चित्रित गरिदिन्छन्। दर्शकहरू रनभुल्लमा पर्छन ्। बैंक संचालनमा जो आएपनि बैंकनै लुट्ने त हुन्। अनि सक्नेहरू आफैँ लंगौटी कसेर लाग्छन् तत्कालीन ठूला खलनायकका पछि। नसक्नेहरू मरिच झैं चुपचाप बस्छन् चाउरिएर।
क्लिन्ट इस्टवुडका 'वाइल्ड वेस्ट' चत्रचित्रमा जसले सबैभन्दा चाँडो होल्स्टरबाट बन्दुक निकालेर प्रतिद्वन्द्वीलाई ढाल्नसक्छ उही सरदार बन्नेजस्तै यो बैंक डकैतीको बाइस्कोपमा जसले हतियार र हिंसाको धम्की दिनसक्छ उही मुख्य खलनायक बन्ने परम्परा चल्दै आएको छ। चलचित्रको कुनै पाटोमा हतियारधारीलाई खाली हात उठेर पनि धराशायी बनाएको भएता पनि तिनै खालीहातवालाले लाजघीन छाडेर लुटेकाले फेरि हतियारधारीकै हातमा सरदारी गएको छ। अहिले मुख्य खलनायकको भूमिका खेलिरहेको पात्रले हिंसा विहीन खलनायक हुने उपक्रममात्रै गर्दा उसैका दलबलका साथीहरूले विद्रोह गरेर खलनायकीमा हत्या र हिंसाको मसला त्याग्न नपाइने जिरह गरिरहेको दृश्य आनन्द मानेर हेरिरहेका दर्शकहरू सो दृश्यको छायांकनका क्रममा आफ्नै बलिदानहुने घटना भने नबुझेरै पर्खिबसेका छन्।
मृगको झुण्डमा कुनै बाघ आयो भने त्यसले सिधै कुनै एएटा मृगलाई समात्ने आँट गर्न सत्तै्कन। जति कमजोर भएपनि मृगको तीखो सिंगले बाघको भोको भुँडी सजिलै च्यातिदिन सक्दछ। त्यसैले सिकारी बाघ मृगलाई तितरबितर बनाउने कोसिस गर्छ। आफू एउटा त बाँचिहाल्छु भन्ने सोच भएका मृगहरू भाग्न सुरू गर्छन्। अनि त्यसमध्येको कमजोर र पछाडि परेको मृगलाई बाघले सजिलै सिकार गर्छ। सायद यही मनःस्थितिले होला अढाई करोड दर्शकका सामु निर्लज्ज सिकारी बाघहरू अझ लाखौंको बलिदान हुनेछ भनेर कुर्लिँदा पनि आफू बुर्कुसी मारेर भागिहाल्छु भनेझैँ चुपचाप बसिरहेका छन्।
यो बाइस्कोपका दृश्य साँच्चै अनौठा छन्। अढाई करोड दर्शकमध्ये धेरै आआफ्नै ढंगले बैंक लुट्ने 'सब प्लट'मा सधै व्यस्त देखिन्छन्। पित्तलको व्यापार गर्नेहरू सुनार कहलाउँछन् र सुनको कात्रो ओढेर संसारबाट बिदा हुने ध्याउन्नमा दुवै हातले लुटिरहेका हुन्छन्। आफू मर्दा तुलसी पानी ख्वाउने कोही बाँकी रहुन् वा नरहुन् ढलका व्यापारी पानी आपूर्तिमै डकैती गर्न पाउनु पर्ने अडानमा छन्। सके आमाको दूधनै बिटुल्याउने ध्याउन्ना भएकाहरू बच्चालाई गर्भमै तुहाएर भएपनि लुट्न पाउनुपर्ने माग गरेर थाक्दैनन्। पेटको आगो कहिल्यै निभाउन नसक्ने गरिब दर्शकलाई आगो बाल्न ग्याँस धेरै दिनुनपर्ने तर्क सारेर हावाका सारथीहरू मुड्की उचाल्दैछन्।
आफ्नै समूहका साथीको हत्या गर्न बन्दुक र गोली बेच्ने बर्दीधारी लुटेरा तिनै बन्दुकबाट छुटेका गोलीले आफ्ना सन्तान अनाथ भएको दृश्य देख्दादेख्दै अर्को बर्दीधारी लुटेरा मृत्युको सौदावाजीको बजारमा उभिन्छ, मानौ, उसलाई विश्वास छ कात्रोमा ठूलै खल्ती हुन्छ। उसको ध्याउन्न कात्रोको खल्तीलाई ठूलो भन्दा ठूलो बनाउनुमा हुन्छ, उसका व्यवहार डिप्रेसनले ग्रस्त आत्महत्या गर्न चाहने बिरामीभन्दा केही फरक हुन्न। फेरि बर्दीधारी वैधानिक गुन्डामात्र होइनन् अढाई करोड सेयरहोल्डर भएको बैंकको राखन धरनको सानोभन्दा सानो जिम्मेवारी पाएका दर्शक लुट्ने क्रममा आफ्नो भूमिका प्रमुख खलनायकको भन्दा केही कम नभएको सम्झन्छन्। यिनको एकतमासको लुटाइले यिनका आफ्नै सन्तान विदेशीको दास दासीमा परिणत भइरहेका छन्, यिनीहरू रमाइलो मानेर हेरिरहन्छन्। सायद, यस्तै हुन्छ प्रमुख भूमिकामा खलनायक भएको बाइस्कोप।
यस बाइस्कोपका अढाइ करोड दर्शक पूरै वा अर्ध धृतराष्ट्र भएकाले संजयहरूको पनि भूमिका छ। आधुनिक कालका संजयहरू महाभारतकालीन युद्ध विभीषिकामै रमाएका देखिन्छन्। पौराणिक संजयलाई नैतिक बन्धनले बाँधेको थियो गलत कुरा संप्रेषण नगर्न। आधुनिक संजय गोयबल्सका नाति बन्न पुगेका छन्। गोयबल्स्ले त कमसेकम आफ्नो लाभअनुसार संप्रेषणमा चालबाजी गर्थ्यो तर तिनका आधुनिक नातीहरू त्यसो गर्न जान्दैनन्। खलनायकका हनुमान दरिन गर्व गर्ने यी आधुनिक युगका छद्म गोयबल्ससँग रिसाएर यिनलाई पर्खेर बसेको हुँदो हो कोर्रा लिएर नर्कको ढोकामा हिटलरको गोयबल्स!
अब बाइस्कोपमा खलनायक परिवर्तन हुने समय आएको छ। खलनायकहरू सकभर मुख्य भूमिकामा अरू खलनायक आउन नपाउन् भन्ने जोडतोडमा लागेका छन्। अहिलेसम्मको सबैभन्दा ठूलो खलनायकको समूहमा आएको विभाजनले खलनायकी प्रतिस्पर्धालाई रोचक बनाएको छ। रुन्चे खलनायक पिन्चे दाउमा लागेका छन्। एउटा ब्वाँसाले आफूभन्दा ओरालोमा पानी पिएको बाख्राको पाठोले उस्ले पिइरहेको पानी धमिल्यायो भन्ने बहाना बनाएर आक्रमण गरेझैं यिनीहरू पनि हरेक प्रकारको पाखण्ड गरेर आफूलाई माऊ खलनायकभन्दा उपल्लो स्तरमा पुर्‍याउन जेसुकै गर्न लागि परेका छन्। बैंकको उपल्लो कार्यकारी बनेका एकथरी शिखण्डीभने जेसुकै गरेपनि खलनायक परिवर्तन गरिदिन पाएमा आफ्नो भूमिका सफल हुने सपनामा दिग्भ्रमित भएर बसेका छन्।
यो बाइस्कोपमा अब नायकहरूको प्रवेश अझ दुर्लभ हुँदै जाने लक्षण देखिन थालेको छ। को ठूलो खलनायक भन्ने मानक कस्ले कति दर्शकको रगत बगाउन सक्ने, कसले कति लुट्न सक्ने भन्ने हुन पुगेको छ। इतिहासमा जसले धेरै लुट्यो उही सर्व शक्तिमान भएको थियो। भविष्यमा पनि त्यही परम्परा अझ सशक्त भएर जाने देखिएको छ। यो बाइस्कोप सकिने कुनै छाँट देखिँदैन। हेर्दाहेर्दै दर्शकहरू पाताल प्रवेश गरिसके, बैंकको ढुकुटी रित्तिएर खाली भइसक्यो तर खलनायकहरूको प्रतिस्पर्धा अन्त्य भएन। फेरि अर्को खलनायकको प्रतीक्षामा रहेको छ अढाइ करोड सेयर होल्डर भएको बैंक डकैतीको बाइस्कोप।
- See more at: http://www.nagariknews.com/opinion/story/3846#sthash.4zjdE18A.dpuf

सकारात्मक विभेदको असर

 51  23 
 
  0
(0 votes)
संयुक्त राज्य अमेरिकाको टेक्सास विश्वविद्यालयले जातिगत छनौटका कारण एक जना गोरी छात्रालाई भर्ना लिएन। सो विश्वविद्यालयले योग्यताका आधारमा राम्रो नम्बर ल्याउने तीन चौथाइ विद्यार्थी छनौट गरिसकेपछि बाँकी एक चौथाइ विद्यार्थी जातिगत र अन्य आधारमा भर्ना लिने गर्छ। आफूले त्यो एक चौथाइ विद्यार्थीमध्येबाट भर्ना पाउनु पर्नेमा गोरा जातिको भएका कारण भर्ना नपाएको भन्दै छात्रा अबिगेल फिसर सर्वोच्च अदालतको ढोका ढक्ढकाउन पुगिन्। उनको दलिल थियो, गोरा जातिको भएकै कारण भर्ना नपाउनु आफ्नो नागरिक र संवैधानिक अधिकारको हनन् हो। उनी सन् २००८ मा भर्ना नपाएर अदालतको शरणमा गएकी थिइन् र अहिले उनले अन्तैबाट कलेजको शिक्षा सिध्याइसकेकी छिन्। सकारात्मक विभेदलाई पुनः परिभाषित गर्ने आदेशसहित अदालतको फैसला सन् २०१३ मा आएको छ।
यस मुद्दाको महत्वपूर्ण पक्ष के छ भने अमेरिकी सर्वोच्च अदालतले सन् २००३ मा आफँैले समर्थन गरेको पुनरावेदनको निर्णयलाई उल्टाएर सकारात्मक विभेद (एफरमेटिभ एक्शन)को परिभाषामा पुनः प्रश्न गरेको छ। सन् २००३ मा न्यु अर्लिएन्सको पुनरावेदन अदालतले विश्वविद्यालय भर्नामा गरिएको जातिगत विभेदलाई दिएको मान्यतालाई सर्वोच्च अदालतले सही ठहर गरेको थियो। अहिले अमेरिकी सर्वोच्च अदालतले यो प्रश्न पुनः तल्लो अदालतमा विचारका लागि पठाउने निर्णय गरेको छ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपनि जोन एफ. केनेडीले कार्यकारी निर्णयबाट सन् १९६१ मार्च ६ मा सकारात्मक विभेदको सुरुआत गरेका थिए। केनेडीको हत्यापछि राष्ट्रपति बनेका लिन्डन बी. जोन्सनले सन् १९६५ मा सरकारी कार्यालयहरूमा कर्मचारी भर्ना गर्दा जाति, धर्म र राष्ट्रियतामा विभेद गर्न नपाइने आदेश जारी गरे। सन् १९७१ मा लिङ्गका आधारमा विभेद पनि गर्न नपाइने थप आदेश भयो। तर बिस्तारै जातिगत समानता हासिल गर्ने नाममा सकारात्मक विभेदले नकारात्मक असर पार्न थाल्यो। टेक्सास विश्वविद्यालयकी छात्रा फिसरको लडाइँको मूल मुद्दा यही हो।
सकारात्मक विभेदको तात्पर्य राष्ट्रिय संशाधन प्रयोग गर्ने कार्यमा कुनैपनि व्यक्ति लिङ्ग, जाति, धर्म, राष्ट्रियताका कारण विभेदमा नपरोस् भन्ने नै हो। अर्थात् सबै व्यक्तिले समानरूपमा आफ्नो नागरिक र संवैधानिक अधिकार प्रयोग गर्न पाउन् भन्ने यस विभेदको उद्देश्य हो। तर संसारका धेरै देशमा सकारात्मक विभेदको नाममा कुनै विशेष जाति, धर्म, राष्ट्रियता र लिङ्गका व्यक्तिलाई आरक्षण दिने प्रक्रिया थालियो। यस कार्यले प्रत्यक्ष रुपमा दलित, पिछडिएका वर्ग, महिला आदिलाई सहयोग गरेजस्तो देखिएता पनि ती वर्गका नेतृत्वमा रहेका मुठ्ठीभर व्यक्तिलाई मात्र फाईदा दिलायो तर बाँकीका जनसंख्याको आर्थिक र सामाजिक अवस्थामा कुनै सुधार गर्न सकेन। यसलाई 'दूधमाथि लागेको मोटो तर' भनिन्छ विकासे शब्दावलीमा। अर्थात् दूधमा तर जमेपछि माथिबाट जे थपेपनि त्यो तरकै तहमा अलमिलन्छ तलको पत्रमा पुग्दैन। अर्थात्, माथिका व्यक्तिलाई फाइदा हुन्छ तलमा जनसंख्या जस्ताको तस्तै।
यसको एउटा रमाइलो उदाहरण नेपाली कांग्रेसका नेता विश्वेश्वर प्रसाद कोइरालाको जीवनमा देखिन्छ। एकपल्ट कुनै काम विशेषले गाडी रिजर्भ गरेर बीपी सपरिवार बिहार हुँदै  बनारस जाँदै थिए। बीपीले बिहारमा एक जना पुराना साथीको घरमा परिवार लग्ने विचार गरे। त्यो घर पुग्नै लाग्दा वरिपरि अत्यन्त गरिबहरूका झुपडी देखेर बीपीकी पत्नी सुशीला  कोइरालाले भनिन, – 'यो कस्तो गरिब ठाउँमा ल्याउनु भएको।'
एकै छिनमा त्यही गरिब बस्तीको बीचमा बनेको एउटा भव्य महलमा बीपीले सबैलाई लगे। त्यो देखेर सुशीलाले अर्को प्रश्न गरिन् – 'यो कुन सामन्तको घरमा ल्याउनु भएको? यस्तो सामन्ती तपाईंको साथी कसरी भयो?' वास्तवमा त्यो कुनै सामन्तको नभएर एक जना दलित नेताको घर थियो। भारतका उप प्रधानमन्त्रीसम्म भएका चमार जातिका नेता बाबु जगजीवन रामको। उनी पुस्तैनी धनी भने थिएनन्। बालककालमा अत्यन्त दुःख पाएर हुर्केका थिए। आरक्षणका आधारमा नेता भएपछि उनको अवस्था त्यस्तरी बदलिएको थियो।
नेपालमा अहिले धेरै बाबु जगजीवन रामहरूको जन्म भएको छ। यी बाबुहरू जन्माउने सिलसिला राजा महेन्द्रकैे पालादेखि नै चलेको हो। अर्थात्,सकारात्मक विभेद गर्नुपर्छ र समाजमा समानता ल्याउनु पर्छ भन्ने नेपालले पंचायत कालमै अमेरिकाको सिको गर्दै सिकेको हो। त्यही बेलादेखि मधसी, जनजाति र दलितलाई सरकारमा लिने चलन चलेको थियो। त्यसरी सकारात्मक विभेदको फाइदा पाउनेहरूको ठूलै समूह छ नेपालमा। तर अहिले पनि सबैभन्दा गरिब, पिछडिएको जनसंख्यामा दलित, जनजाति र तल्ला भनिने जात समूह नै छन्। विडम्बना, यिनीहरू अझै पनि आरक्षण र सकारात्मक विभेदकै पक्षमा छन्। यसको कारण के हो भने अधिकांश गरिब, पीडित जनसंख्या बोल्न सत्तै्कन, जो बोल्न सक्छ उसले आरक्षण आदिका नाममा आफूले फाइदा पाइरहेको छ र फाइदा हुने हुनाले ऊ बोल्छ र फाइदा लिन्छ। बोल्न नसक्नेको भाग्य सधैँ उस्तै – 'भगवानले ठगेको'।
आरक्षण र विशेष ग्राह्यताका नाममा फाइदा पाएकाहरूका सन्तानले नै अर्को पुस्तामा पनि फाइदा पाउँछन्। सर्व साधारणका सन्तान फेरि पनि वञ्चितै रहन्छन्। किनभने त्यस्तो फाइदा लिने पहिलो पुस्ताले आफ्ना सन्तानलाई सक्षम बनाउँछ तर उसको पुरानो जाति, धर्म र राष्ट्रियता त कायमै हुन्छ। अर्थात्, फेरि विशेष सुविधा लिन उसकै सन्तान अघि पर्दछन्। गरिबको पेट सधँै खाली, कानमा सधैँ आश्वासनको बाढी।
राज्य चलाउनेहरूलाई पनि सम्पूर्ण जनताका लागि सेवा र सुविधा पुर्‍याउनुभन्दा आरक्षण लागु गरेर केही व्यक्तिलाई सुविधा दिन धेरै सजिलो हुन्छ। नाम नलिऊँ तर दलित, जनजाति र पिछडिएका वर्गका भनिएका नेताहरूलाई विदेशको सयर भ्याइनभ्याई भएको देखिन्छ। उनीहरू ठूला गाडी चढ्ने, सेमिनारमा भाग लिने र काठमाडौंमा घर जोड्नमा व्यस्त र मस्त छन्, तिनले जसको भागको सुविधा लिएका हुन् त्यो जनसंख्याको गरिबी भने जस्ताको तस्तै छ। सरकार २३ प्रतिशत जनता गरिबीको रेखामुनी छन् भन्छ। गरिबी मापन गर्ने अक्सफोर्ड विश्वविद्यालयलगायतका विदेशी संस्था भने नेपालमा ४४ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि भएको ठोकुवा गर्छन्।
असमानता हटाउने र गरिबी कम गर्ने सरकारको मुख्य जिम्मेवारीमध्येको काम हो। यसका लागि जनताको लिङ्ग, जाति, धर्म, राष्ट्रियता नहेरेर गरिबी हेर्नुपर्ने हो। को कुन आर्थिक अवस्थामा छ उसले राज्यबाट त्यसैका आधारमा सुविधा पाउनुपर्छ। कुनै एक जातिले इतिहासको कालखण्डमा अर्को जातिलाई दुःख दियो, शोषण गर्‍यो भनेर उसको नाति पनातिलाई विभेद गर्नु न्यायोचित पक्कै हुँदैन। सकारात्मक विभेद भनेको त्यो हुँदा पनि होइन। कुनैपनि व्यक्ति जन्मनेबित्तिकै उसका नैसर्गिक अधिकारहरूको प्रत्याभूति राज्यले गर्नुपर्छ। विभेद गर्ने एउटै आधार आर्थिक अवस्था हुनुपर्छ, अरु केही हुनु हुँदैन। राज्यले आर्थिक स्थितिका आधारमा सकारात्मक विभेद गर्ने हो भने निसन्देह जातीय द्वन्द्व पनि निकै कम हुनेछ।
गरिब र विपन्न वर्गलाई साँच्चैको सहयोग गर्ने हो भने जनताको आर्थिक अवस्थाको सही तथ्यांक लिएर राज्यले सामाजिक सुरक्षाका कार्यक्रम तुरुन्त संचालन गर्नुपर्छ। अधिकांश जनसंख्या अत्यधिक गरिब भएको देशमा कुन जाति र कुन समूहका जनतालाई सरकारमा कति अधिकार दिने भन्ने विषयले गरिबको आर्थिक अवस्था सुधि्रन्न। एउटा जातिको व्यक्तिले त्यही जातिको अर्को व्यक्तिको हित हेर्छ भन्ने ठान्नु गलत हुनसक्छ। वास्तवमा अपराधको तथ्यांक हेर्ने हो भने पनि अधिकांश पिछडिएका वर्गका जनसंख्या अपराधमा बढी संलग्न भएको देखिन्छन् र तिनले अन्याय गर्ने पिडितहरू पनि अधिकांश आफ्नै जात, जाति र नाता पर्ने व्यक्ति हुन्छन्। त्यसैले कुनै एउटा जातिको व्यक्ति सत्तामा पुगेर आफ्नो जातिको हित गर्ने होइन, सक्षम, सबल र इमानदार व्यक्ति सत्तामा पुगेर सबैको हित गर्न सक्छ।
व्यक्तिको जातपात हेरेर होइन व्यक्तिको इमानदारी र क्षमताका आधारमा अगाडि पुग्ने वातावरण बनाउनुपर्छ। त्यस्तो नेतृत्वले सकारात्मक विभेदबाट नकारात्मक असर नपर्ने सुनिश्चित गर्न जाति, धर्म, लिङ्गको आधारमा नभई आर्थिक अवस्थामा आधारित रहेर शिक्षा, स्वास्थ्य र अन्य सरकारी सुविधामा सबैलाई सहयोग गर्नुपर्छ।
अन्त्यमा, अमेरिकी प्रधान न्यायाधीश जोन रोबर्टसलाई उद्धृत गरौँ – 'जातिगत भेदभाव अन्त्य गर्नका लागि जातिगतरूपमा भेदभाव गर्ने कार्यको अन्त्य हुनुपर्छ।'
- See more at: http://www.nagariknews.com/opinion/story/4203#sthash.O7TesDM1.dpuf

चटकेको नैतिकता

 72  16 
 
  0
(0 votes)
चटकेको नैतिकता अचम्मको हुन्छ। आफ्नो वरिपरि दर्शकजम्मा गर्न ऊ जे पनि बोल्दै जान्छ। जस्ता व्यक्ति वरपर छन् त्यस्तै प्रकारले तिनको ध्यान आकृष्ट गर्छ। युवकहरू वरिपरि रहेछन् भने ऊ केटी फकाउने तरिका सिकाउने बाचा गर्न थाल्छ भने बूढापाका भए ढाड दुखेको, कम्मर सड्केको, औंला झमझमाउने, निद्रा नलाग्ने सम्पूर्ण रोगको औषधि आफूसँग भएको दाबी गर्न थाल्छ। अधबैंसेलाई तान्न ऊ लामो समयसम्म यौनक्रीडामा मस्त रहने उपाय वा महिलाहरूलाई आफ्नो पतिलाई अन्त आँखा नलगाउन के गर्नुपर्छ भन्ने सूत्र सिकाउने दाबी गर्न थाल्छ। वरिपरि प्रशस्त व्यक्ति जम्मा हुन थालेपछि भने उसको ध्याउन्न तिनको खल्तीमा भएको पैसा कसरी निकाल्ने अनि केही साधारण जडीबुटी र विभिन्न प्रकारका तेल कसरी बेच्ने भन्नेमात्रै हुन्छ। तर चटक नसिकुन्जेल ऊ आफूले भनेका विभिन्न सूत्रको रहस्य खोल्ने वाचा चाहिँ बारम्बार गरी नै रहन्छ।

नेपाली राजनीतिमा धेरै प्रकारका चटकेको पदार्पण भएको छ। गरिब जनता पुराना चटकेहरूको कहिल्यै पूरा नहुने बाचाबाट वाक्क भएर नयाँ चटकेतर्फ आर्कषित हुन्छन्। चटकेहरू वाचा गरिरहन्छन् र जनता लुटिरहन्छन्। जनता आकर्षित र विकर्षित हुने क्रम चलिरहन्छ। धेरै थरीका चटकेको गाथा एकै लेखमा वर्णन गर्ने दाबी गरे यो लेख आफँै अर्को चटक बन्न पुग्छ। त्यसैले करिब २० वर्षदेखि नेपाली राजनीतिमा देखापरेको अनौठो चटकेतर्फ ध्यान केन्द्रित गरौं। हुनत, यो चटके अनेकपल्ट अनेकरूपमा राजनीतिमा रहँदैआएको हो तर अन्तिमपल्ट करिब दुई दशकअघि यसले आफ्नो मान्य गुरुवर मुरलीधर मोहनलाई परित्याग गरेर वन्यजन्तु सामग्रीको कारोबारमा लागेपछि आफ्नो वरिपरि जनदर्शक जम्मा गरी जनवादी चटके बन्न सफल भएको छ।
जनदर्शकहरूका माझ यसले अनेक चटक गर्‍यो। घर नहुनेलाई घर, जग्गा नहुनेलाई जग्गा, जागिर नहुनेलाई जागिर र बिहे नभएकालाई लोग्ने वा स्वास्नीसम्म दिन्छु भन्यो। रोगीलाई अस्पताल, विद्यार्थीलाई स्कुल र युवालाई जागिर दिन्छु पनि भन्यो। तर जनदर्शक त्यत्ति वाचाले खासै उत्साही भएनन्।् किनभने, यसभन्दा पहिलेका चटकेले पनि यस्तै वाचा गरेका थिए। तथापि जनवादी चटके अरूभन्दा दुई कदम अघि बढेर जनदर्शकको भावनामा खेल्न सफल भयो। कारण, उसले मृत्यु र जीवनको खेलमा पुराना सबै चटकेलाई जित्यो।
धरानको भानुचोकमा चटकेले एउटा सानो केटोलाई एक पांग्रे साइकल चलाउने, जिम्नयाष्टिक गराउने र उफ्रने, कुद्ने गराउँछ। त्यसपछि त्यही केटालाई एउटा बाकसजस्तोमा छोप्छ र त्यसको अपरेसन गर्ने भनेर यत्रो चक्कु लिएर त्यो छोपेको ठाउँमा काटेको उपक्रम गर्न थाल्छ। एकैछिनमा रगत लतपतिएको चक्कु बाहिर निकालेर सबैलाई देखाउँछ। अनि बिस्तारै बाकसभित्र हात हालेर फोक्सो बाहिर निकाल्छ र कराउन थाल्छ, 'मेरो बच्चा अब मर्ने भो ल हेर फोक्सो बाहिर निस्क्यो,' भनेर। दर्शकहरू द्रविभूत हुन्छन् रगतको खेल देखेर। भए भरको पैसा बिस्तारै बाहिर निस्कन थाल्छ। जब थप पैसा नआउने देख्छ अनि चटकेले त्यो खसीको फोक्सो बाकसभित्रको बच्चामा जडान गरेर बचाएको नाटक गर्छ।
जनवादी चटकेले पनि भानुचोकको चटकेलेभन्दा खासै फरक चटक त गरेन तर फरक यत्ति थियो कि यस चटकमा चाहिँ धेरै निर्दोषको फोक्सोले फेरि सास फेर्न पाएन। धेरै जनदर्शक आफँै टुहुरा भए र धेरैले आफ्नो बुढेसकालको सहारा गुमाए। तर चटक त सकिइसकेको थियो। जनवादी चटके जनताको बलिदानको भर्‍याङ्ग चढेर सत्ताको सोमरसमा विगत बिर्सँदै संसारकै सबैभन्दा धनी चटके बन्ने ध्याउन्नमा छ। नयाँ प्रकारका वाचा र नयाँ जादू के देखाउने भन्ने शोध गर्ने क्रममा घरी सिंगापुर र घरी हङ्गकङ्गको यात्रा गरिरहेको छ। भारत र चीन जोड्ने पुल बनाउँछु भनेर विदेशी दर्शकपनि तान्न खोज्दैछ। लाग्छ, यसमा चाहिँ सफल भइरहेको छैन।
यस्तैमा अहिले जनदर्शकले जनपगरी रछ्यानमा फालेर फेरि साधारण दर्शक हुने र फेरी सबै चटेकहरूको नक्कली जादूको सक्कली रुप हेर्ने उद्घोष गरिरहेको बेला जनचटके नैतिकताको नाटक गरिरहेको छ –सत्तामा आफू नआउने! शान्ति प्रक्रियामा आएपछि 'गान्धी बन्छु' भन्ने जनचटके सत्ता पाउनेबित्तिकै 'जोगी बन्न कसैले राजनीति गरेको हुँदैन' भन्न पनि भ्याउँछ। एकातिर जनतालाई सुरुङ्गी चटक देखाउने वाचा गरेर अर्कोतिर प्रमुख शत्रुको पाउमा आफ्नो पगरी चढाउन पनि पटक्कै लाज मान्दैन ऊ। अहिले त्यही समूहका एक जना जनवादी चटके नदी किनारमा एक पाउमा ध्यान गर्न उभिएको बकुल्लो बनेको देखिएको छ। जसरी बकुल्लो आफ्नो अगाडि माछा नआउन्जेल ध्यान गरेझँै बस्छ त्यस्तै नैतिकता देखाएका छन् प्रमुखमध्येका एक जनवादी चटकेले। तर उनले चाहेको बडेमाको माछो कहिले चुच्चोले भेट्ने गरी नजिकै आउने हो त्यो हेर्न भने बाँकी नै छ।
जनवादी चटकेहरूले जंगलमा मात्र होइन सहरमा पनि चटक देखाएर पैसा असुल्ने कार्य गरिरहेका छन्। एक जना जनवादी चटकेलाई आफू भाडामा बसेको घर अति राम्रो लागेछ। उनी त्यस घरलाई जनचटक गरेर कमाएको पैसाबाट चुत्थो ३ करोड तिर्न तयार रहेछन् तर घरधनी ७ करोड माग्दो रहेछ। आफ्नो ठूलो नैतिकता, त्याग र तपस्याले कमाएको पैसा त्यति सजिलैे तिर्नसक्ने कुरा पनि भएन। त्यसैले अगाडि आइछिन् श्रीमती चटके। विगतका चटकमा धेरै जादू देखाउन नसके पनि चटकेले कमाउन नसकेको वैभव उनले कमाएकी रहिछिन््। त्यही वैभवको धाक देखाउँदै उनले घर धनीलाई नम्र स्वरमा भनिछिन् लग्छौ भने ३ करोड लग होइन भने जनमुक्ति सेनाले तिम्रो घरलाई तिमीजस्तो सामन्तीबाट मुक्त गराउनेछ। चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भएको रहेछ ती जनवादी दर्शकलाई। ठूला नैतिकवान नेतालाई घर भाडामा लगाएर के के न पाउँछु भन्ने लोभमा परेका घर धनी सामन्तीको पगरी गुँथेर सडकवासी हुने बेला भएछ। यही हो जनवादी चटकेको नैतिकता।
जनदर्शकहरू आफ्नो नक्कली जादूको प्रभावबाट मुक्त होलान् भन्ने त्रासले छोपेको छ अहिले जनवादी चटकेलाई। त्यसैले एक जना जनवादी चटके आफूलाई कुखुरा भन्ने नठान्न जनतालाई आग्रह गर्दैछन्। आफँैले आहार खोजेर खानुपर्ने जंगली कुखुरा त उनीहरु पक्कै पनि होइनन् नै। अहिले त केही काम नगरी अरुको मेहनतले कमाएको दानामा रमाउने ब्रोइलर कुखुरा बनिसकेका छन् जनवादी चटकेहरु। तर तिनको भनाइमा कुखुराजस्तो देखिएका चाहिँ आकाशमा नउडुन्जेल मात्र हो रे! उडेपछी उनीहरु चील बन्छन् रे। जनताले बुझ्नुपर्ने कुरा के हो भने जनचटके चील होइन गिद्ध बन्नेछन्। अनि सिनो कुरेर बस्नेछन्, संसारकै सबैभन्दा ठूलो गिद्ध बन्ने ध्याउन्नमा।
यति भएर पनि जनचटकेको संख्या अझै धेरै कम भएको छैन। जनदर्शक केही मात्रामा भ्रान्तिमुक्त भइसकेका त छन् तर जन चटकेहरू झुक्याउने प्रयास छाड्ने पक्षमा छैनन्। सबैले मिलेर देखाएको चटकको पैसा सिंगापुर र बेल्जियममा व्यक्तिगत खातामा जम्मा भएपछि साना जनवादी चटकेहरूपनि आश्चर्य चकित भएका छन् ठूला जनवादी चटकेहरूको जादूगरी क्षमता देखेर। चार पाँच हजार चटकेलाई जम्मा गरेर ३०–३५ हजार चटके बराबर क्षमता बनाएको आफ्नो जादूको गाथा आफँै वर्णन गर्ने प्रमुख चटकेले चटकबाट उठाएको पैसा पनि जादू गरेसरी नै गायब गरिदिएका छन्। ती पैसा केही मात्रामा काठमाडौंको नाम चलेका सुमार्गमा ठडिएका भएपनि लालपुर्जामा अजेय व्यक्तिहरूको नाम देखेर चेला चटके कपाल कन्याउन बाध्य भएका छन्। तर जनता अझै चटकबाट उम्किएका छैनन्। चटक चल्दैछ। जबसम्म तिनले जनवादको पगरी साँच्चै फ्याकेर स्वतन्त्रता प्राप्तिका लागि नंग्रा खियाउने आँट गर्दैनन् चटकेहरू आउने जाने क्रम चलिरहन्छ।
- See more at: http://www.nagariknews.com/opinion/story/4589#sthash.GFNQrcI5.dpuf