Tuesday, September 10, 2013

बाँदर मनोवृत्तिको विकास

 490  41 Google +0  0  0
(0 votes)
बाँदर मनोविज्ञानका अध्येताले पाँचवटा बाँदर समातेर एउटा कोठामा थुनेछन् र बीचमा एउटा भ¥याङ्ग राखेर माथि केरा झुन्ड्याइदिएछन् । कुनै बाँदर त्यो केरा खान जानेबित्तिकै अरु चार बाँदरलाई उनीहरूले चिसो पानीको धारा खोलेर रूझाइदिँदा रहेछन् । बिस्तारै बाँदरले कुरा बुझेछन् । त्यसपछि त जुनसुकै बाँदर केरा खान भ¥याङ्ग चढे पनि अरू चार बाँदर मिलेर त्यसलाई भ¥याङ्गबाट झार्ने र चिथोर्ने गर्न थालेछन् । त्यहाँ भएका कुनै पनि बाँदर भ¥याङ्ग उक्लिन डराउने भएपछि एउटा बाँदरलाई बाहिर निकालेर नयाँ बाँदर थपिदिएछन् । नयाँ बाँदर त केरा देख्नेबित्तिकै खानलाई भ¥याङ्ग चढ्ने नै भयो । तर उसलाई अरू चार बाँदरले आक्रमण गरेर झारे । त्यसपछि कुनै बाँदर केरा लिन भ¥याङ्ग चढ्दा पनि अरूलाई चिसो पानीले रुझाउन छाीडए छ । तर, भ¥याङ्ग चढ्ने बाँदरलाई सबै मिलेर आक्रमण गर्नेे क्रम चाहिँ रोकिएन । सुरुमा पानीमा रुझेका बाँदरलाई अनुसन्धानदाताले एकपछि अर्को गर्दै बदल्दै गए तर भ¥याङ्ग चढ्न नदिने स्वभावमा भने परिवर्तन भएन । चिसो पानीको अनुभव भएका पाँचैवटा पुराना बाँदरको ठाउँमा बिस्तारै सबै नयाँ बाँदर आए। त्यसबेला कसैलाई पनि केरा खान भ¥याङ्ग चढ्न नपाउनुको रहस्य थाहा थिएन तर चढ्नेलाई आक्रमण गर्ने क्रम भने रोकिएन । हाम्रो समाजमा पनि यस्तै बाँदर मानकिताको विकास हुँदैगएको छ। चाहे राजनीतिमा होस्, व्यापारमा वा अन्य कुनै क्षेत्रमा कुनै काम किन गरिन्छ भनेर खोजिदैँन तर एउटै शैलीमा गरिन्छ । यो लेखमा पंक्तिकारले उठाउन खोजेको विषय राजधानीको सडक चौडा अभियानको हो।
सडक चौडा भयो भने सहर राम्रो देखिन्छ र जनताले जाम र ढिलाइबाट मुक्ति पाउँछन् । जनताको सुविधा यसको साध्य हो । त्यो प्राप्ति भएका खण्डमा सबैलाई फाइदा हुन्छ । तर साध्य प्राप्त गर्न के कस्ता साधन कसरी प्रयोग गरिएको छ भन्नेमा पनि ध्यान पु¥याउनु जरुरी हुन्छ । अहिले काठमाडौंको विस्तार र निर्माण कार्य जसरी भगवान भरोसामा चलिरहेको छ त्यसले निरन्तरता पाउने हो भने अब उप्रान्त जनताले कहिल्यै सरकारको यस्तो प्रकारको अग्रसरतालाई स्वागत गर्नेछैनन् । सडक निर्माणकर्ताले माथिका बाँदरले जस्तै जनताको अधिकार, सुविधा र स्वास्थ्यको ख्याल नगरी एकोहोरो ढङ्गले जथाभावी आफ्नो काम सकेर पैसा कुम्ल्याउने ध्येय राखेका देखिएको छ । तर तीनै बाँदरहरूझैं जनता पनि यस्तो किन भइरहेको छ भनेर प्रश्न गर्ने मनस्थितिमा छैनन् । जसले प्रश्न गर्छ अर्थात् भ¥याङ्ग उक्लने कोसिस गर्छ, उसलाई सबै मिलेर शब्द वाणले घोच्छन्, आक्रमण गर्छन् । तर काम सुधार्नेतर्पm चाहिँ कसैले पनि ध्यान दिँदैनन् ।

प्रत्यक्ष परोक्ष सडक सुधारको मारमा नपरेको कोही छैन तर कोही बोल्दैन वा बोल्ने हिम्मतै गर्दैन । सरकार जनताको सेवक हो । सेवकले सेवा गर्दा मालिकलाई हेप्न, दुःख दिन पाउँदैन । तर हाम्रो देशमा सेवक सरकारले लगातार मालिक जनतालाई पीडा दिइरहेको छ । एउटा घरको सहयोगीले जसरी भात, दाल, तरकारी पकाएर ख्वायो भन्दैमा मालिकलाई खुर्सानी पोलेर ¥याल र सिंगान कडाउन पाउँदैन त्यसैगरी सडक विस्तार गर्ने भनेर जनतालाई रुघा, खोकी र ब्रोङ्गकाइटिस लाग्ने गरी धुलो उडाउन पनि नपाइनु पर्ने हो । जसरी घरेलु सेवकले लुगा धुने नाममा घरभरि पानी पोखेर मालिकलाई लडाउन हुँदैन त्यसैगरी सरकारले ढल अथवा पानीको लाइन खन्ने नाममा बाटो हिलाम्मे बनाएर पैदल अहिँड्नै नसकिने दलदल बनाउन पाउँदैन ।

कमल पोखरी, ज्ञानेश्वर, बालुवाटार, डिल्लीबजार, नक्साल बासीले करिब वर्षदिन सडक निर्माणका क्रममा दुःख पाए, धुलो र धुँवाले बिरामी हुनेले अस्पताल भरिए तर विरोध नगण्य भयो । अझ वर्षभर व्यापार नराम्ररी प्रभावित भएका समेत घर भाडा तिरेर पसल बन्द गरी बस्न बाध्य भए । सबैभन्दा चाँडो निर्माण सम्पन्न भएका ती स्थानमा पनि अझै कतिपय धुलाम्मे सडक अलकत्राको कालो क्रिम लगाउने प्रतीक्षामै छन् । लैनचौरदेखि शीतल निवाससम्मको बाटो अफ्रिकाको क्रसकन्ट्री रेसकोर्सभन्दा अप्ठेरो भएको छ । महाराजगंजदेखि बूढानीलकण्ठसम्मको बाटोको पीडा त भनी साध्यै छैन । यीबाहेक पनि काठमाडौंभर सबैतिर सडक ढल, आहाल र दलदलमा परिणत भएका छन् तर काम सिध्याउने मेलोमेसो देखिँदैन । यी स्थानमा बस्ने, हिँड्ने सबै बिरामी भएका छन्, व्यापार सुकेको छ, एक किलोमिटर बाटो छिचोच्न मोटरलाई बीस मिनेट लाग्ने अवस्था छ तर जिम्मेवारी लिने कोही छैन । जनतालाई परेको असुविधाको लागि माफी चाहन्छौंसम्म भन्ने पनि कोही छैन ।

कुनै ठाउँमा बाटो बन्दै छ भने त्यहाँका बासिन्दाले प्रयोग गर्ने वैकल्पिक सडक कुन् हुने भनेर कसैले ध्यान दिएको देखिएन । अझ ढल पुरेर ढुङ्गा ओछ्याइसकेको सडकमा फेरि टेलिकमले, बिजुलीले वा खानेपानीले तुरुन्तै खन्छन् । कुन बाटो कहाँ, कहिले बन्द हुन्छ, त्यसको विकल्पमा कुन बाटो प्रयोग गर्ने भन्ने विषयमा सडक प्रयोगकर्तालाई थाहा दिने कुनै प्रक्रिया छैन । एउटा 'बाटो बन्द छ' भन्ने बोर्डले काम सकियो भन्ने सोचिन्छ । कतिपय ठाउँमा त त्यस्तो कुनै बोर्डसम्म पनि हुँदैन । शान्तिनगर पेट्रोल पम्पको अगाडिबाट भित्र छिर्ने बाटो धेरै दिनदेखि चलिरहेको थियो, एक दिन डोजरले दिउँसो भत्काइदिएछ । बिहान सोही स्थानबाट मुख्य सडकमा निक्लेका एक जना राति त्यही बाटाबाट घर छिर्न खोज्दा उनको मोटर तुर्लुङ्ग झुन्डियो सडकमा । धन्न तल खसेर मोटर बज्रेन र ठूलो दुर्घटना हुनबाट जोगियो । त्यहाँ बाटो बन्द भएको कुनै साइनबोर्ड राख्ने न कसैलाई मतलब भयो न कसैले ध्यानै दियो ।

बाटो बनाउने काममा अहिले सयौं डोजर चलाइएका छन् । डोजरका मालिकलाई त कसैले जनताको सुविधालाई ध्यान पु¥याएर काम गर्नुपर्छ भनेको छैन होला भने बीसको आसपासका तन्देरी चालकहरूलाई के मतलब ? भर्खरै आफूले खनेको खाल्टोमा कोही खस्योभने उनीहरूलाई मनोरंजन हुन्छ । झन् केटीहरू नै चिप्ले भने त पेट मिचीमिची हाँस्छन् । कतै बाँदरकै समाजमा बसिएको छ कि भन्ने भान हुन्छ संवेदनशील व्यक्तिहरूलाई । कतिपय डोजरवाला काम गर्दागर्दै चिया खान जानुप¥योभने डोजरलाई मोटरसाइकलजस्तो हुइक्याउँछन् । त्यसरी कतिको पर्खाल र कतिको मोटर कोतरी सकेका होलान् । त्यत्रो ठूलो सवारी साधनले कसैलाई छोयोमात्र भने ज्यानै जान बेर हुँदैन ।

सडकमा राजनीतिक आन्दोलन गर्ने कार्यकर्ता र सडक निर्माणमा खटिएका कामदारमा केही फरक छैन । तिनले 'सडक बन्द' भनेपछि त्यहाँ कोही हिंड्नै पनि नसक्ने भयो भने गर्व मान्छन् । मानौं, उनीहरुले बन्द आव्हान गरेका हुन् र अलिकति सफा गरिदिएर गाडी हिँडिहाल्यो भने उनीहरुको इज्जतै जान्छ । सडक खन्दा कसैको पानीको धाराको फुट्यो भने बनाइदिने कोही छैन । घरधनीले पाइप फुटेको थाहा पाएन भने महिनौं पानी खेर जान्छ, कसैले मतलब हुँदैन । त्यसमा कसैले चासो लियो नै भने पनि मेन लाइनमा काठको ठेँडी कोचेर पानी नै बन्द गरिदिन्छन्, पीडितलाई सूचनासम्म पनि कसैले दिदैनन् । अझ कुनै घरधनीले विरोध ग¥योभने त्यहाँ कामै बन्द गरिदिने चलन छ । मानौं, जनतालाई दुःख दिनु परानन्दको विषय हो र कसैले विरोध गर्नु उनीहरूको मानमर्दन गर्नु हो ।

एकजना डाक्टर भन्दैथिए उनको घर अगाडि झारेको पिच गर्ने रोडा पनि सडकको दुवैतिर थुप्रो, थुप्रो बनाएर राखिदिए । बल्लतल्ल एउटा मोटर छिर्ने बाटो छोडेका छन् त्यो पनि लाइसेन्स लिन ट्रायल दिएजस्तो दायाँ र बायाँ काट्दै कुदाउनुपर्ने । प्रयाग मार्गमा अलिकति हिलो नसोहोरिदिएर एकजना सज्जनको भ्यानको चारैवटा टायर हिलोमा रगडिएर फेर्नैपर्ने भएछ । त्यस्तो टायर देशभर कतिजनाको खिइयो होला ? कति करोडको त्यस्तो नाश भयो होला ? कतिजना लडेर घाइते भए, कतिजनाको हात गोडा भाँचियो, कसैलाई मतलब छैन ! कसैलाई तिलको दाना बराबर जिम्मेवारी बोध छैन । अबको एक, दुई वर्षमा सडक बनेर सकिएला, जनताले दुःख मर्कापनि बिर्सेलान् तर जनताको अधिकार र जनताप्रतिको उत्तर दायित्व नबुझुन्जेल जुनसुकै कार्यमा पनि हामी उही बाँदर मानसिकता लिएरै अघि बढ्नेछौँ । अहिले जनतालाई हेप्ने, दुःख दिने र तिनको व्यापार बिगार्ने काम जति सजिलै गरिरहेका छौँ भविष्यमा पनि त्यसैको पुनरावृत्ति न हुने हो । बाँदरहरूलाईझँै किन यस्तो गर्नुहुन्न भन्ने थाहा कसैलाई हुनेछैन तर निरन्तर त्यस्तै कार्य गरिरहेका हुनेछौँ । गजब छ, नेपालीको बाँदर प्रवृत्ति !
- See more at: http://www.nagariknews.com/opinion/story/6664#sthash.SOARm0ZX.dpuf

No comments:

Post a Comment