Tuesday, September 10, 2013

फुटबलले उघारेको पाटो

 121  72 Google +0  0  0
(0 votes)
ने..पाल... ने..पाल... ने..पाल... नारा लगाउने हुन् वा नारा सुनेर रमाइलो मान्ने सबैको मन तरङ्गित भएको छ। सबैको जिउमा काँडा उम्रेको छ। कता कता थाहै नपाई देशप्रतिको प्रेम र भक्ति भावले सबैलाई एकनासले खुसी, उद्वेलित र रोमाञ्चित तुल्याएको छ। खेल समयावधिभर एकस्वरमा चिच्याएका नेपाली युवाको घाँटी सुकेको छैन, जितको सुवास रङ्गशालाबाट निस्केर देशभर गर्वभाव बनेर फैलिएको छ। रंगशालाका दर्शक हुन्, देशभर टिभी हेर्ने नेपाली हुन् वा विदेशमा बसेर व्यग्रतापूर्वक नतिजा पर्खने नेपाली सबैमा समान उत्साह, जोस र नेपाली टोलीप्रतिको लगावले घेरेको छ। नेपाली फुटबल खेलाडीले बङ्गलादेशलाई हराए। पाकिस्तानसँग बराबरी खेले। अनि, भारतलाई पछारेपछि त झन् सबै नेपाली एकोहोरो विजयघोष गर्दै रमाइरहेका छन्। नेपालले सन् २०१३ को साफ फुटबल च्याम्पियनसिप जित्नेछ वा मौका चुकाउनेछ त्यसको निधो हुन अझै केही दिन कुर्नु पर्नेछ। खेलको परिणाम पुर्वानुमान लगाउन सकिने विषय त होइन तर नेपालले यो वर्षको साफ च्याम्पियनसिप फुटबलमार्फत धेरै कुरा चाहिँ अहिल्यै जितिसकेको छ।
पहिलो त, नेपालीमा 'हामी सक्छौं' भन्ने भाव पुनःजागेको छ। विश्व विजेता बेलायतलाई ढुङ्गा, भाला र घरेलु हतियारले रोकेर उपनिवेश हुनबाट जोगिएको नेपाल कालान्तरमा कमजोर राष्ट्रको रूपमा देखापर्‍यो। सुरा र सुन्दरीमा मस्त लम्पट सन्तानले पृथ्वीनारायण शाह र बहादुर शाहको नाम रछ्यानमा मिलाइदिए। जनताको अधिकार खोसे, जनतालाई सुख, सुविधा र शिक्षा प्रदान गर्नुपर्ने जिम्मेवारी पूरा गरेनन्। आफ्नै कमजोरीले शासन सत्ता राणाहरूलाई सुम्पिए। दुवै विश्व युद्ध, भारत–पाकिस्तान युद्ध, फकल्यान्ड युद्धहरूमा शौर्य र वीरताको इतिहास रचेका नेपालीको मातृभूमि सुडानमा कमसल युद्ध सामग्री किन्ने ठगहरूको र हाइटीमा हैजाका जीवाणु फैलाउने रोगीहरू देशका रूपमा स्थापित भयो। चीनमा गएर शिखर शैलीका प्रख्यात मन्दिर बनाएर ख्याती कमाउने अरनिकोका सन्तान त्यही चीनमा खासाको बाटो हुँदै रक्त चन्दन पुर्‍याउने तस्कर बने। हामी गलत काममात्र गर्न सक्ने, सही काम राम्रो ढङ्गले गर्न नसक्ने जातिका रूपमा बदनाम हुँदैआएकोमा फुटबल खेलाडी युवाले सबैमा नयाँ रक्त संचार गरिदिएका छन्। सबैलाई हामी सक्छौ, सामूहिकरूपमा मिलेर पनि सफल कार्य गर्न सकिन्छ भन्ने प्रमाणित गरिदिएका छन्।
भर्खरै युवावयमा उक्लेका कलिला केटाले नेपालका दिग्गज जातिवादी नेतालाईसम्झाइदिएका छन्, हामी सबैभन्दा पहिले नेपाली हौँ र नेपालीमात्र हुनुमा हामीलाई गर्व छ। अर्थात् हामी सबै एक छौँ। हामीलाई जातजाति, भाषाधर्म, भेषभुषा र इतिहास भूगोलले फुटाउनु पर्दैन, फुटाउनु हुँदैन। फेसबुकमा सरोज धिताल लेख्छन्, 'प्रचण्ड र बाबुरामलाई सुनाइदिनु, अनिल गुरुङले गोलगर्दा पूर्वका नेपाली पनि खुसीले बुरुकबुरुक भएका थिए, भरत खवासले गोल गर्दा हिमाल र पहाडका नेपालीले पनि गडगडाहट ताली पिटेका थिए, अनि विमल घर्ती मगरले गोल गर्दा बाहुन, क्षेत्रीले पनि हर्षको आँसु झारेका थिए। त्यसैले हामी सबै एकतामा बाँधिएका नेपाली हौँ, विभिन्न नाममा फुटाउने कोसिन नगर्नू।'
वास्तवमा नेपालीलाई एकताको सूत्रमा बाँध्नका लागि विभिन्न जातिवादी आन्दोलन चाहिँदैनन्। त्यस्ता जाति, धर्म, सम्प्रदायवादी आन्दोलनले हामीलाई फुटाउने काममात्र गर्छन्, जुटाउँदैन्। तर फुटबलले यस्तो जोडको काम गरेको छ जहाँ जाती, भाषा, सम्प्रदाय सबै गौंण हुन्छन्। यहाँ स्पष्ट देखिने नेपालमात्र हो, नेपालको जित हो र नेपाली हुनुको अभिमान हो। एकपल्ट मानव अधिकारवादी नेता कृष्ण पहाडीले भन्थे, 'हामी नेपालीलाई जोड्ने कडी अर्थोक केही होइन हाम्रो देशको सिमाना रहेछ।' नेपाली फुटबलले कृष्ण पहाडीको भनाइलाई प्रमाणित गरिदिएको छ। पूर्व, पश्चिम, उत्तर र दक्षिण सीमाभित्र बस्ने सम्पूर्ण नेपालीको एकताको सूत्र न राजा हो, न धर्म हो न जातपातै हो। हामी शताब्दीयौंदेखि एउटा सिमानाभित्र बसेका छौँ र त्यसैले हामीलाई जोडेको छ। त्यसैमा हामीले अपनत्व अनुभूत गरेका छौँ।
फुटबल खेलको अहिलेसम्मको क्रममा देखिएको अर्को महत्वपूर्ण पाटो भनेको नेपाली युवाको राजनीतिक नेताप्रतिको द्वेष हो। नेपाली युवा नेपाललाई अहिलेको कमजोर अवस्थामा पुर्‍याउनेमा राजनीतिक नेतालाई मुख्य दोषी मान्छन्। फुटबल हेर्ने क्रममा सामाजिक सञ्जालमार्फत आफ्ना भावना व्यक्त गरिरहने युवा र प्रौढ सबैजना वाक्यैपिच्छे नेतालाई होच्याउने र खेलाडीलाई उक्साउने काम गरिरहेका थिए। भारतलाई दुई गोल हानेपश्चात एकजनाले टि्वट गरे, 'नेताहरूले फोन गरिसके होलान् भारतका मालिकलाई, केटाहरूले गल्ती गरे माफ पाउँ्क भनेर।' हुनत, राजनीतिक नेताको बेइज्जत गर्नु सही कार्य चाहिँ होइन। नेता चयन गर्ने र उसलाई सही बाटोमा हिंड्न बाध्य बनाउने हामीले नै हो। अहिलेको अवस्था जनताले नेतालाई जुवामा नारेर ठीक तवरले जोत्न नसक्नाले आएको हो। तर, नेताप्रति यतिधेरै आक्रोश किन प्रकट भयो भनेर नेतृत्व लिने वर्गले पनि सोच्नुपर्छ। आफूले जनताका लागि के कति गरेको छु र आफ्नो स्वार्थका लागि मात्र कति लडेको छु भन्ने तिनैले विचार गर्नुपर्छ। यद्यपि, तिनले नसोचे पनि जनताले त मूल्यांकन गरिरहेका हुन्छन्। जनताले त नेतालाई देशको हितको काम गर्न सत्तामा पठाएका हुन्, आफ्नै भुँडी भर्न र देशको दुर्दशा बनाएर दुनियाँ हँसाउन होइन। नेपालका नेताहरूले यही नबुझेको देखिएकाले जनता यति धेरै रुष्ट भएको हुनुपर्छ। दलहरू जनताका समस्याप्रति कति उदासीन र हेपाहा छन् भन्ने त शनिबारको बन्दले पनि देखाएको छ। एनेकपा (माओवादी)ले  तीजमा महिलाको दर खाने दिनको वास्तै नगरी बन्द घोषणा गर्‍यो। राता सारीमा आएका महिलाले रातो झन्डावालाविरुद्ध कलंकीमा प्रतिकार गरेपछि बन्द खोल्न उनीहरू लाचार भए। एमाओवादीका नेताले थाहा पाए होलान् जनता कति वाक्क भइसकेका छन् तिनको जबर्जस्तीको राजनीतिबाट!
साफ फुटबल च्याम्पियनसिपले सबैभन्दा सशक्त स्वरमा प्रष्ट पारेको सन्देश सुन्न नेपाल कम्युनिस्ट पार्टी–माओवादीका नेता मोहन वैद्य, नेत्रविक्रम चन्द, पम्फा भुषालआदिलाई रङ्गशालाको विशेष पास उपलब्ध गराउनुपर्ने भएको छ। यी नेताले नेपाली युवाको रगतमा उम्लेको राष्ट्रभक्ति र राष्ट्रप्रतिको प्रतिबद्धता देखे भने यिनलाई पनि चेत आउला कि नेपालको स्वाधीनता खतरामा छैन भनेर। आफ्ना कार्यकर्ताको भिडमा लुकेर र कम्युनिज्मका शास्त्रीय पुस्तकमा घोकेका सूत्र रटेर बुझिदैँन अहिलेको नेपाललाई। मंसिर ४ गतेको निर्वाचनमा भाग लियो भने नेपालको स्वाधीनतामा खतरा हुन्छ भन्ने हास्यास्पद तर्क समातेर बसेका माओवादीलाई निर्वाचनमा जानु नपर्ने हुनाले फुर्सद पनि छ। फुटबल हेर्न गए हुन्छ आजै। उनीहरूले बुझ्ने थिए कि कसैले पनि कुनै रूपमा पनि नेपालको स्वाधीनतालाई समाप्त पार्न सक्ने छैनन्।
एक जना भारतीय कूटनयिकले हालै नेपालको बढो अभिन्न मित्र भएको देखाउँदै भने – 'नेपालले विकासको नमुना भुटान र सिक्किमबाट सिक्नुपर्छ।' बिचरा! तिनको वैचारिक दरिद्रता। नेपालले विकासको नमुना स्विट्जरल्यान्ण्ड र जापानबाट सिक्नुपर्छ, सिक्नेछ, सिक्किमबाट होइन। भारतले अझै पनि नेपाललाई सिक्किम बनाउन सकिन्छ कि भनेर मनमा मात्रै लिएको छ भने तिनलाई पनि एक पटक रंगशाला पठाउनु पर्छ। नेपाली युवाको नेपालीपनको पक्षमा देखिएको हुंकारले बाघ हुँ भन्नेलाई पनि 'म्याऊ' गर्दै पुच्छर लुकाएर भाग्न बाध्य बनाइदिनेछ।
फुटबलमा एकजुट भएर राष्ट्रियताको धागोमा बाँधिएका, लुगामा र आफ्ना गालामा नेपाली झन्डाको चित्र अंकित गरेर जोसमा उठेका हात देखेर यो पक्तिकारलाई पनि लाग्यो – 'वा! क्याबात नेपाली युवा, क्याबात नेपाल!'
- See more at: http://www.nagariknews.com/opinion/story/7002#sthash.qEUnhN6R.dpuf

No comments:

Post a Comment