Saturday, August 17, 2013

राष्ट्रवादको रंग


 73  0 

  0
(0 votes)
आजभन्दा चार वर्षअघि, नागरिक र रिपब्लिका पत्रिका प्रकाशनको १०० दिनको अवसरमा आयोजना गर्न लागिएको समारोहमा प्रमुख राजनीतिक नेताहरूलाई निमन्त्रणा गर्न सम्पादकहरु आफै धेरै ठाउँमा गए। यसै क्रममा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड'को तत्कालीन निवास नयाँ बजार पुगियो। स्थापनाको भर्खर तीन महिना भएको तर स्थापित पत्रकार तथा प्रकाशकको अगुवाइमा  सुरू भएको पत्रिकाको राजनीतिक रंग कस्तो हुन्छ भन्नेमा प्रचण्डलाई ठूलै उत्सुकता रहेछ। नागरिक र  रिपब्लिकाका प्रथम सम्पादकहरू क्रमशः नारायण वाग्ले र अमित ढकालले बारम्बार पत्रिकाको कुनै रंग नहुने तथा यो निष्पक्ष हुने तर्क प्रस्तुत गरे। तर दाहाल सन्तुष्ट हुन सकिरहेका थिएनन्। उनी पत्रिकाले सधै कुनै 'लाइन' लिने कुरा दोहोर्यााउँदै यी पत्रिकाले आफूलाई कुन स्थानमा राख्छ भन्ने जान्न खोजिरहेका थिए। यो पंक्तिकार तत्कालीन समूह सम्पादक भएका कारणले र पत्रिकाको राजनीतिक आस्थाको विषय केही हदमा प्रकाशकीय नीतिपनि हुने भएकाले प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीको उपस्थितिमा केही बोल्नुपर्ने अवस्था आयो। पंक्तिकारले भनेको थियो – वास्तवमा पत्रिकाले निष्पक्षता छोड्नु हुँदैन र यसको खासै रंग पनि हुँदैन। तर साँच्चै अवस्था आयो र रंगकै कुरा गर्नुपर्ने भयो भने हाम्रो रंग राष्ट्रिय झन्डाको रंग हो। अर्थात् हामी राष्ट्रवादी हौँ।
त्यसवेला राष्ट्रवादको नारा उग्र बनाउन लागिपरेका प्रचण्डले पत्रिकाको राष्ट्रवादलाई कुन ढंगले हेरे थाहा भएन। उनी भर्खरै प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर बसेका थिए। उनको मूल्यांकनमा प्रचण्डलाई राष्ट्रवाद विरोधी धारले राजीनामा दिन वाध्य बनाएको थियो। उनलाई नागरिक र रिपब्लिका दुवै पत्रिका तत्कालीन प्रधान सेनापति रुक्मांगद कटवाललाई पदमा बहाल राख्न प्रधानमन्त्रीको निर्णय उल्टाउने राष्ट्रपति रामवरण यादवको कदमको समर्थनमा देखिएका थिए भन्ने पनि थाहा थियो।


त्यसबेला एमाओवादीले 'विदेशी प्रभु' को इसारामा बनेको आक्षेप लगाएर नेकपा (एमाले) नेतृत्वको माधव नेपालको सरकारलाई अनेक दुःख दियो। तर सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई एकस्थानमा जम्मा गरेर नेपालको स्वाधीनता र सार्वभौमसत्ताको रक्षाको लागि गरिएको भनिएको संघर्ष प्रचण्डको चीन भ्रमण र सर्वसाधारणको सात दिने बन्दको अपूर्व विरोधपछि त्यसै तुहियो। प्रचण्डले गैरराष्ट्रवादी भनेर चिनाएको शक्तिको समर्थनमा नै डा. बाबुराम भट्टराईको सरकार बने पश्चात एमाओवादीको राष्ट्रवादी नारा ठूलै संकटमा पर्योन। डा. भट्टराईका गुरु एस. डी मुनिले कसरी माओवादीका नेताले भारत विरोधी कार्य नगर्ने प्रण व्यक्त गरेर भारतलाई आश्वस्त पार्न लिखित प्रतिबद्धता प्रकट गरेका थिए भन्ने रहस्य किताबै लेखेर नंग्याइदिएपछि माओवादीको राष्ट्रवादी मुकुन्डो जनताका आँखामा राम्रैसँग उत्रियो।

अहिले राष्ट्रवादको ठेक्का वैद्यको नेकपा–माओवादी र राजतन्त्र समर्थक कमल थापाको राप्रपा(नेपाल)ले लिएका छन्। कुनैबेला निर्वाचनको पक्षमा गीत गाएर नथाकेका कमल थापाका अनुयायीहरू अहिले अचानक निर्वाचनको विरोधमा उत्रिएका छन्।  यिनका विचारमा मंसीर ४ गते हुने चुनाव पनि गैरराष्ट्रवादी चरित्रको हो। किनभने यो निर्वाचन विदेशी शक्तिको इच्छा र सहयोगमा हुँदैछ। मुखले जे भनेपनि यी दुवै समूह निर्वाचन र जनताको निर्णयसँग भाग्न खोजेका हुन्। आउँदो निर्वाचनमा जनताले आफूलाई निर्वस्त्र पारिदेलान् भन्ने डरले यिनीहरू चुनावका विरुद्ध उभिएका छन्। चुनाव हुन सकेन भने राष्ट्रवादको नारा लगाएर वितण्डा मच्चाएको भरमा सरकारमा गएर आफ्नो शक्ति जगेर्ना गर्ने लक्ष्यका साथ यिनको घाँटी अहिले जोडिएको हो। सरकारमा गएर आर्थिक र राजनीतिक क्षमता बढाउने र त्यसपछि हुने चुनावमा राम्रो स्थान हासिल गर्ने दुवैको उद्देश्य हो। समान उद्देश्य भएको हुनाले माओवादी र राजावादी एकै स्थानमा देखिएका हुन्। यसैपनि अधिनायकवादीहरू, चाहे राजावादी हुन् वा साम्यवादी सधैँ  एकै कित्तामा उभिएका देखिन्छन्।

राजावादी र अतिवादीको राष्ट्रियता र राष्ट्रवादको विषयमा बेलायती राजनीतिक दार्शनिक स्यामुअल जोन्सनको विश्व विख्यात भनाइ ठ्याक्कै मिल्छ। उनले राष्ट्रवाद र देशभक्ति फटाहाहरूको अन्तिम अस्त्र हो भनेको पूर्व राजा ज्ञानेन्द्र शाहको तानाशाही सरकार र माओवादीहरूले चाहेको अतिवादी अधिनायकवादी सरकारका सन्दर्भमा हो।
यो पंक्तिकारसहित नागरिक र रिपब्लिकाका तत्कालीन सम्पादकहरू क्रमशः वाग्ले र ढकालले ज्ञानेन्द्र शाहको तानाशाहीको विरुद्धमा आफूले पहिला काम गरेका पत्रिकामा सयौं पानाहरू स्यामुअल जोन्सनको भनाई उद्धृत गर्दै रंगाएका थियौं। समूह सम्पादकले प्रचण्डसामु अचानक आफ्नो संस्था राष्ट्रवादी हो भन्दा सम्पादकहरू पनि झस्किएका थिए। पंक्तिकारले पनि एकपल्ट आफ्नो भनाइप्रति गौर गरेको थियो। हामीमात्र होइन धेरै नेपाली लोकतन्त्रवादी राष्ट्रवादका विषयमा लिइने अडानका सन्दर्भमा  दुविधामा देखिन्छन्।

कतिपय लोकतन्त्रवादी त राष्ट्रवादी हुँ भन्नु नै गलत हो भन्ने भ्रममा बाँचेका देखिन्छ। यसका लागि मूलतः जोन्सनको भनाइनै जिम्मेवार छ। अझ उनले सो कुरा व्यंग्यात्मक रुपमा भनेका हुन् वा सोझो अर्थमा व्यक्त गरेका हुन् भनेर आफैँले कहिले खुलाएनन्।
त्यसले झन् भ्रम थप्यो। तर स्यामुअल जोन्सनले पनि राष्ट्रवादीको त्यो परिभाषा नक्कली राष्ट्रवादीका लागिमात्र गरेका हुन् भन्ने उनको जीवनीका लेखक अर्का विद्वान् जेम्स बस्वेलले लेखेका छन्।
बस्वेलले लेखेको जीवनीका अनुसार जोन्सन भन्छन्, 'एक देशभक्त त्यस्तो व्यक्ति हो जसको सार्वजनिक व्यवहार एउटै प्रवृत्तिले डोर्याछएको हुन्छ त्यो हो देशप्रतिको माया। त्यस्तो व्यक्ति संसद् प्रतिनिधिको हैसियतमा कुनै आश र त्रास नलिई, कुनै रिस र राग नराखी सवैथोक सामूहिक हितका लागि गर्छ।'  

त्यसैले लोकतन्त्रवादी शक्तिहरूले राष्ट्रवादमा दृढ अडान नलिईकन न त नेपालको सार्वभौमिकता र अखण्डता कायम हुन्छ न नेपालको वैदेशिक सम्बन्ध नै सुदृढ हुन्छ। लोकतन्त्रवादीको राष्ट्रवाद कुनै अर्को देशको हित वा अहितका लागि हुँदैन। एक सच्चा देशभक्त नेपालीले राष्ट्रवादी हुन चीन वा भारत परस्त हुनु जरुरी छैन न त चीन विरोधी वा भारत विरोधी नै हुनुपर्छ। त्यस्तै एक जना नेपाली अमेरिका र रुस दुवैको समदूरीमा बसेर पनि राष्ट्रवादी हुनसक्छ। कुनै एउटा शक्तिको नजिक वा टाढा हुनुपर्दैन।
नेपालका लोकतन्त्रवादी विचारक र नेताहरू देशको हितका लागि मरिमेट्न तयार छन् तर उनीहरू राष्ट्रवादको प्रतियोगितामा अतिवादी दक्षिणपंथी र उत्तरपंथी दुवैसँग बारम्बार पराजित हुँदै आएका छन्। हाम्रो राष्ट्रवादको सीमा आफ्नो देशको हितसम्म सीमित हुनुपर्छ भन्ने धारणामा लोकतन्त्रवादी अड्न सत्तै्कनन्। उग्रपंथीहरू भने निर्वाचनलाई समेत राष्ट्रवादी विरोधी कार्य हो भनेर प्रचारप्रसार गर्न राष्ट्रवादको आवरणमा निर्वाचन बिथोल्नेजस्तो जनविरोधी कार्य गर्नसमेत लाजै नमानी अघि बढ्छन्।

यसै सन्दर्भमा नेपालका प्रजातन्त्रवादी नेता तथा विचारक निलाम्बर आचार्यले शनिबार बिहान (साउन १९) गरेको टि्वट मनन योग्य छ। आचार्य लेख्छन् – 'राष्ट्रवाद सकारात्मक शक्ति हो। तर अधिनायकवादी प्रयोजनका लागि पटक पटक यसको दुरुपयोग  गरिएको छ। लोकतन्त्रसँगै रहनुपर्छ यो।'

आचार्यको १४० क्यारेक्टरको यो टि्वटले नेपालका लोकतन्त्रवादी शक्तिलाई ब्युँझाउने कोसिस गरेको छ। अहिले पूर्वराजा र वैद्य माओवादी सँगसँगै र अलगअलग  राष्ट्रवादको भर्यालङ्ग चढेर अधिनायक बन्ने आकांक्षा अघि बढाउन लागि परेका छन्। दुई ठूला राष्ट्रबीच चेपिएर सधैँ सानो राष्ट्र भएको पीडा बोकेर बसेका जनताको समर्थन पाउन उग्र राष्ट्रवादीका लागि त सधैँ सजिलो हुन्छ तर त्यसले देश र जनताको हित भने गर्दैन। जसरी पाकिस्तानमा सैनिक शासन हुँदा भारतसँग सधै लड्ने तयारी गरेर सरकारप्रति जनताको समर्थन लिने कार्य हुन्छ त्यसैगरी नेपालका गैरलोकतन्त्रवादी शक्तिहरु विदेशीको डर देखाएर अधिनायकवाद थोपर्ने प्रयत्नमा हुन्छन्। लोकतन्त्रवादी शक्तिले राष्ट्रवादको नारा उग्रवादीहरूसँग खोसेर लिन नसकुन्जेल जनता दिग्भ्रमित नै रहन्छन्। के
हो राष्ट्रवाद र को हो राष्ट्रवादी शक्ति जनतालाई अझै थाहा नभएजस्तो जो देखिएको छ ।
- See more at: http://www.nagariknews.com/opinion/story/5279#sthash.pzDXdYax.BSORZFMn.dpuf

No comments:

Post a Comment