बैंक डकैती बाइस्कोप
- आइतबार २३ असार, २०७०
- प्रतीक प्रधान
- 1 Comment
0 1
0
वर्षौंदेखि चलिरहेछ बैंक डकैती बाइस्कोप। यो खलनायक प्रधान सिनेमा हो। यसमा नायकको कुनै भूमिकै छैन। न त चाँडै कुनै नायकले पदार्पण गरेर कहानीमा 'टि्वस्ट' ल्याउने संभावना देखिन्छ। कात्रोमा खल्ती हुन्छ भन्ने मान्यता राख्नेे जीवले टाउकोमा कात्रो बेेेरेर हिँड्ने नायकहरूलाई बेवकुफ र नालायक बनाइदिएको कथा हो यो बाइस्कोप। खलनायकहरूको वर्चस्व भएको चलचित्रका अढाई करोड दर्शकहरू भोकै र नांगै छन् तर सिनेमा छाड्न सक्दैनन् किनभने ती आफँै पात्र पनि हुन्। अहिलेसम्म धेरै खलनायक दर्शकहरुबाटै मूख्य भूमिकामा प्रवेश गरेका हुनाले धेरै दर्शक भाग्योदय चिठ्ठा पर्ने भ्रममा छन्, आफ्नो पनि लुट्ने पालो आउला भनेर। पीडित दर्शक पीडामै छन्। नवप्रवेशी दर्शकहरूको संलग्नतामा हरेक एक वा दुई दशकमा विरोधको ठूलो आवाज निकाल्छन् र केही बलिदान पश्चात् डकैतहरु परिवर्तन गराउन सफल हुन्छन्, तर डकैती परिवर्तन हुँदैन। नयाँ नायकरूपी घुसपैठिया दर्शकलाई ठूलाठूला सपना देखाउँछन् अनि सुरू गर्छन् डकैतीको नयाँ सिलसिला। विवश र थकित दर्शक अर्को जागरुक पुस्ताको पर्खाइमा फेरी जुगाहरूलाई आफ्नो रगत अनवरत चुसाउँछन्, निःशब्द, निस्तब्ध।
सबैको हुनाले कसैको भएको छैन अढाई करोड सेयर होल्डर भएको बैंक। मुकुट पहिरिएर डकैती गर्नेहरूलाई भगवानको पगरी गुथाएर खुब लुट्न दिइयो। शिरमा पैताला बजार्दा आशीर्वाद पाइयो भनेर धन्य भए दर्शकहरू। साना मुकुटेले सात पुस्ताका लागि पुग्नेगरी लुटेको धन एकै पुस्तामा सकिएको देख्दादेख्दै पनि धन होइन मन लुट्नु पर्छ भन्ने चेत आएन ठूला मुकुटेलाई। अन्ततः नयाँ दर्शकको ठूलो जमातले खलनायक परिवर्तन गर्यो। तर परिवर्तन भएन बैंक डकैतीको सिलसिला। एउटा डकैतीको क्रमभङ्गता गर्नेेहरूले सुरूगरे अर्को डकैतीको सिलसिला, अझ विस्तृत, अझ भयावह, अझ त्रू्कर र अझ विकृत।
खलनायकहरूको प्रतिस्पर्धा छ। धेरै लुट्ने ठूला खलनायक थोरै लुट्ने साना। नायक त छँदै छैनन्। भएका आक्कल झुक्कल नायकलाई खलनायकका गोयबल्सहरूले तुरून्तै डरलाग्दो खलनायकका रुपमा सफलतापूर्वक चित्रित गरिदिन्छन्। दर्शकहरू रनभुल्लमा पर्छन ्। बैंक संचालनमा जो आएपनि बैंकनै लुट्ने त हुन्। अनि सक्नेहरू आफैँ लंगौटी कसेर लाग्छन् तत्कालीन ठूला खलनायकका पछि। नसक्नेहरू मरिच झैं चुपचाप बस्छन् चाउरिएर।
क्लिन्ट इस्टवुडका 'वाइल्ड वेस्ट' चत्रचित्रमा जसले सबैभन्दा चाँडो होल्स्टरबाट बन्दुक निकालेर प्रतिद्वन्द्वीलाई ढाल्नसक्छ उही सरदार बन्नेजस्तै यो बैंक डकैतीको बाइस्कोपमा जसले हतियार र हिंसाको धम्की दिनसक्छ उही मुख्य खलनायक बन्ने परम्परा चल्दै आएको छ। चलचित्रको कुनै पाटोमा हतियारधारीलाई खाली हात उठेर पनि धराशायी बनाएको भएता पनि तिनै खालीहातवालाले लाजघीन छाडेर लुटेकाले फेरि हतियारधारीकै हातमा सरदारी गएको छ। अहिले मुख्य खलनायकको भूमिका खेलिरहेको पात्रले हिंसा विहीन खलनायक हुने उपक्रममात्रै गर्दा उसैका दलबलका साथीहरूले विद्रोह गरेर खलनायकीमा हत्या र हिंसाको मसला त्याग्न नपाइने जिरह गरिरहेको दृश्य आनन्द मानेर हेरिरहेका दर्शकहरू सो दृश्यको छायांकनका क्रममा आफ्नै बलिदानहुने घटना भने नबुझेरै पर्खिबसेका छन्।
मृगको झुण्डमा कुनै बाघ आयो भने त्यसले सिधै कुनै एएटा मृगलाई समात्ने आँट गर्न सत्तै्कन। जति कमजोर भएपनि मृगको तीखो सिंगले बाघको भोको भुँडी सजिलै च्यातिदिन सक्दछ। त्यसैले सिकारी बाघ मृगलाई तितरबितर बनाउने कोसिस गर्छ। आफू एउटा त बाँचिहाल्छु भन्ने सोच भएका मृगहरू भाग्न सुरू गर्छन्। अनि त्यसमध्येको कमजोर र पछाडि परेको मृगलाई बाघले सजिलै सिकार गर्छ। सायद यही मनःस्थितिले होला अढाई करोड दर्शकका सामु निर्लज्ज सिकारी बाघहरू अझ लाखौंको बलिदान हुनेछ भनेर कुर्लिँदा पनि आफू बुर्कुसी मारेर भागिहाल्छु भनेझैँ चुपचाप बसिरहेका छन्।
यो बाइस्कोपका दृश्य साँच्चै अनौठा छन्। अढाई करोड दर्शकमध्ये धेरै आआफ्नै ढंगले बैंक लुट्ने 'सब प्लट'मा सधै व्यस्त देखिन्छन्। पित्तलको व्यापार गर्नेहरू सुनार कहलाउँछन् र सुनको कात्रो ओढेर संसारबाट बिदा हुने ध्याउन्नमा दुवै हातले लुटिरहेका हुन्छन्। आफू मर्दा तुलसी पानी ख्वाउने कोही बाँकी रहुन् वा नरहुन् ढलका व्यापारी पानी आपूर्तिमै डकैती गर्न पाउनु पर्ने अडानमा छन्। सके आमाको दूधनै बिटुल्याउने ध्याउन्ना भएकाहरू बच्चालाई गर्भमै तुहाएर भएपनि लुट्न पाउनुपर्ने माग गरेर थाक्दैनन्। पेटको आगो कहिल्यै निभाउन नसक्ने गरिब दर्शकलाई आगो बाल्न ग्याँस धेरै दिनुनपर्ने तर्क सारेर हावाका सारथीहरू मुड्की उचाल्दैछन्।
आफ्नै समूहका साथीको हत्या गर्न बन्दुक र गोली बेच्ने बर्दीधारी लुटेरा तिनै बन्दुकबाट छुटेका गोलीले आफ्ना सन्तान अनाथ भएको दृश्य देख्दादेख्दै अर्को बर्दीधारी लुटेरा मृत्युको सौदावाजीको बजारमा उभिन्छ, मानौ, उसलाई विश्वास छ कात्रोमा ठूलै खल्ती हुन्छ। उसको ध्याउन्न कात्रोको खल्तीलाई ठूलो भन्दा ठूलो बनाउनुमा हुन्छ, उसका व्यवहार डिप्रेसनले ग्रस्त आत्महत्या गर्न चाहने बिरामीभन्दा केही फरक हुन्न। फेरि बर्दीधारी वैधानिक गुन्डामात्र होइनन् अढाई करोड सेयरहोल्डर भएको बैंकको राखन धरनको सानोभन्दा सानो जिम्मेवारी पाएका दर्शक लुट्ने क्रममा आफ्नो भूमिका प्रमुख खलनायकको भन्दा केही कम नभएको सम्झन्छन्। यिनको एकतमासको लुटाइले यिनका आफ्नै सन्तान विदेशीको दास दासीमा परिणत भइरहेका छन्, यिनीहरू रमाइलो मानेर हेरिरहन्छन्। सायद, यस्तै हुन्छ प्रमुख भूमिकामा खलनायक भएको बाइस्कोप।
यस बाइस्कोपका अढाइ करोड दर्शक पूरै वा अर्ध धृतराष्ट्र भएकाले संजयहरूको पनि भूमिका छ। आधुनिक कालका संजयहरू महाभारतकालीन युद्ध विभीषिकामै रमाएका देखिन्छन्। पौराणिक संजयलाई नैतिक बन्धनले बाँधेको थियो गलत कुरा संप्रेषण नगर्न। आधुनिक संजय गोयबल्सका नाति बन्न पुगेका छन्। गोयबल्स्ले त कमसेकम आफ्नो लाभअनुसार संप्रेषणमा चालबाजी गर्थ्यो तर तिनका आधुनिक नातीहरू त्यसो गर्न जान्दैनन्। खलनायकका हनुमान दरिन गर्व गर्ने यी आधुनिक युगका छद्म गोयबल्ससँग रिसाएर यिनलाई पर्खेर बसेको हुँदो हो कोर्रा लिएर नर्कको ढोकामा हिटलरको गोयबल्स!
अब बाइस्कोपमा खलनायक परिवर्तन हुने समय आएको छ। खलनायकहरू सकभर मुख्य भूमिकामा अरू खलनायक आउन नपाउन् भन्ने जोडतोडमा लागेका छन्। अहिलेसम्मको सबैभन्दा ठूलो खलनायकको समूहमा आएको विभाजनले खलनायकी प्रतिस्पर्धालाई रोचक बनाएको छ। रुन्चे खलनायक पिन्चे दाउमा लागेका छन्। एउटा ब्वाँसाले आफूभन्दा ओरालोमा पानी पिएको बाख्राको पाठोले उस्ले पिइरहेको पानी धमिल्यायो भन्ने बहाना बनाएर आक्रमण गरेझैं यिनीहरू पनि हरेक प्रकारको पाखण्ड गरेर आफूलाई माऊ खलनायकभन्दा उपल्लो स्तरमा पुर्याउन जेसुकै गर्न लागि परेका छन्। बैंकको उपल्लो कार्यकारी बनेका एकथरी शिखण्डीभने जेसुकै गरेपनि खलनायक परिवर्तन गरिदिन पाएमा आफ्नो भूमिका सफल हुने सपनामा दिग्भ्रमित भएर बसेका छन्।
यो बाइस्कोपमा अब नायकहरूको प्रवेश अझ दुर्लभ हुँदै जाने लक्षण देखिन थालेको छ। को ठूलो खलनायक भन्ने मानक कस्ले कति दर्शकको रगत बगाउन सक्ने, कसले कति लुट्न सक्ने भन्ने हुन पुगेको छ। इतिहासमा जसले धेरै लुट्यो उही सर्व शक्तिमान भएको थियो। भविष्यमा पनि त्यही परम्परा अझ सशक्त भएर जाने देखिएको छ। यो बाइस्कोप सकिने कुनै छाँट देखिँदैन। हेर्दाहेर्दै दर्शकहरू पाताल प्रवेश गरिसके, बैंकको ढुकुटी रित्तिएर खाली भइसक्यो तर खलनायकहरूको प्रतिस्पर्धा अन्त्य भएन। फेरि अर्को खलनायकको प्रतीक्षामा रहेको छ अढाइ करोड सेयर होल्डर भएको बैंक डकैतीको बाइस्कोप।


No comments:
Post a Comment