भ्रामक संकेत, भ्रमित राजनीति
- आइतबार १३ श्रावण, २०७०
- प्रतीक प्रधान
- 2 Comments
18 16
0
नेपालका सडकमा दाहिने संकेत बत्ती (इन्डिकेटर लाइट) अर्थात् 'साइड लाइट' बाल्ने अचम्मको बानी छ चालकहरुमा। दाहिनेतिरको साइड लाइट बाल्ने भनेको आफू दाहिने जान्छु भन्नलाई हुनुपर्ने हो तर त्यही हो भन्ने ठानेर सोचेर अगाडिको मोटरको भर पर्यो भने नराम्रो दुर्घटनामा पर्न सकिन्छ। चालकहरु पछाडिबाट आइरहेको मोटरलाई 'उछिनेर जाऊ' भन्न पनि दाहिने साइड लाइट बाल्छन्, अगाडिबाट आएको गाडीलाई बाटोको अन्दाज दिन पनि दाहिने नै बाल्छन्।
कुनै चालकले अगाडिबाट आएको मोटरलाई साइड लाइट दियो तर पछाडिबाट उछिन्न चाहने मोटरले त्यो संकेत आफूलाई जानका लागि दिएको हो भन्ने ठान्यो भने, झ्याम्मै, ठूलै दुर्घटना हुन्छ। त्यस्तै दाहिने साइड लाइटबाल्दा पछाडिकोले उछिन्न खोज्यो तर अगाडिको वाहनभने साँच्चिकै दाहिने तिर जान खोजेको रहेछ भने पनि ढ्याम्म ठोकिइहाल्छ। दुई तीनवटा परस्परविपरीत कुराका लागि एउटै साइड लाइट बालिन्छ भने दुर्घटना हुनु अचम्म पनि होइन। नेपालका सडकमा दुर्घटना भइरहनुमा साइड लाइटले ठूलै भूमिका खेलेको देखिन्छ।
एउटै संकेतले परस्परमा विपरीत धेरै काम गर्न खोज्ने हाम्रो बानीले हरेक क्षेत्रमा दुर्घटना हुने जोखिम रहिरहन्छ। राजनीति र सरकारमा पनि यही समस्या बढी देखिएको छ। देशका लागि अहिलेको मुख्य जिम्मेवारी मंसीर ४ मा संविधान सभा र व्यवस्थापिका संसद्को निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउनु नै हो। एकातिर सरकार निर्वाचन बिथोल्नेलाई कडा कारबाही गरिनेछ भनिरहेको छ। अर्कोतिर, कारबाही के भयो त भनेर हेर्दा निर्वाचन बिथोल्नेहरूलाई सिंहदरबारमा चिया खान निम्तो बाडिन्छ । अनि निम्तालु चाहिँ हामी चिया खाने होइन मत पेटिका फोर्ने हौं भनेर पत्रकार बोलाएर हम्मरले मतपेटिका फोर्छन्। मत पेटिका फोर्ने, चुनावमा उम्मेदवार हुनेहरूलाई भौतिक कारबाही गर्छु भन्ने दललाई कानुनी कारबाही गर्न छाडेर निर्वाचन आयोग र सरकार तिनको मन फेरिने आशा लिएर बसेको देखिन्छ। यसरी दोहोरो संकेत दिएका कारण जनता निर्वाचन हुनेमा अझै ढुक्क हुनसकेका छैनन्। दलहरु निर्वाचनमुखी बन्नसकेका छैनन्।
चुनावको मुखमा ठूला राजनीतिक नियुक्ति गर्नुहुन्न भन्छ यो सरकार आफँै। अनि भन्छ – भारत र चीनजस्ता ठूला र निकट छिमेकी देशमा राजदूत नियुक्त गर्न नसक्नु आफैँमा लाजमर्दो विषय हो। मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई ठूलो भरोसा छ कूटनीतिक क्षेत्रमा काम गरेर अनुभव कमाएका व्यक्तिमा। उनी चाहन्छन् 'करिअर डिप्लोम्याट'लाई नै दिउँ यी दुई ठूला देशको राजदूत र सार्क महासचिवको पद। उनको विचार सही होला, त्यस्तै व्यक्तिले नै देशको हित हेर्नसक्ने पनि होलान् तर सँगसँगै अरू राजनीतिक दलले ल्याएका नामलाई पनि उनी हुन्न भन्दैनन्। जबसम्म आफूलाई ठीक लागेको उम्मेदवार आउँदैन तबसम्म यो सरकारले ठूलो राजनीतिक नियुक्ती गर्नहुन्न भन्ने अनि जब आफूलाई चित्त बुझेको नाम आउँछ सुरुक्क नियुक्ती गरिदिने! सम्भवतः यही हो एकै 'सिग्नल'को दोहोरो खेल।
एउटै संकेतको फरक अर्थ दिन नेकपा–माओवादी पनि पारंगत देखियो। एकातिर निर्वाचन बिथोल्छु भन्ने अनि अर्कोतिर वार्ता टोली पनि तयार गर्ने। एकातिर जनवादी साम्यवादमा देशलाई लैजान्छु भन्छ अर्कोतिर सरकार भने उनीहरूलाई लोकतान्त्रिक व्यवहार गर्नुपर्यो भनेर माग गर्छ। ऊ आफू लोकतन्त्र नमान्ने हो भने सरकारमा शक्ति पृथकीकरण भएन, लोकतान्त्रिक भएन त्यस कारणले निर्वाचनमा जान्न भन्न कुन नैतिकताले दिन्छ? तर यहाँ दिन्छ। एउटै सिग्नलले दाहिने र देब्रे दुवैतिर जान्छु भन्न मिल्छ यस देशमा।
मोहन वैद्य 'किरण'ले राजासँग सहकार्य गर्न सकिन्छ भन्दा एनेकपा (माओवादी)का नेताले तीखो प्रतिक्रिया दिए। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले त आफू प्रधानमन्त्री भएको भए सामाजिक कार्य गर्दै हिँडेका राजालाई जेलमा कोचिदिन्थेँ सम्म भने। तर उनको बोली भुइँमा खस्न नपाउँदै कमल थापाले जनतालाई सम्झाइदिए – बाबुराम भट्टराई आफँै राजासँग मिल्ने प्रस्ताव लिएर आएका रहेछन् कुनैबेला। अहिले उनै भट्टराई अरु दल राजासँग मिल्छन् कि भन्ने भयले आक्रान्त छन्। अनि भट्टराई भन्छन्, त्यो त उनको दलको कार्यनीतिमात्र थियो। अर्थात् कार्यनीतिको नाममा जसलाई जे सिग्नल दिएपनि भयो, अनि जस्तोसुकै नमिल्ने निर्णय लिए पनि भयो। नेपाली राजनीतिको यही द्वैध चरित्र नै त हो नेपाली सडकको अवस्था।
एमाओवादी त दोहोरोतेहरो सिग्नल दिन झन् माहिर भइहाल्यो। त्यही एउटा राष्ट्रपतिको पद मुखले तिनले सबैलाई बाँडिदिएका थिए। राजालाई पनि भनेछन् संविधान सभा र गणतन्त्र भयो भने तिमी नेपालको पहिलो राष्ट्रपति। गिरिजाप्रसाद कोइरालालाई पनि त्यही चक्लेट खुवाएछन्, चुनाव भयो भने तिमी नेपालको पहिलो राष्ट्रपति भनेर। उता बम पड्काएर चर्चित बनेका मधेसी नेता र आफ्ना हितैषी रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको पद चढाएरै बसेका रहेछन् माओवादी नेताहरु। धन्न! कताबाट रामवरण यादवलाई नेकपा (एमाले)ले समर्थन गरेर बचाएछ लोकतन्त्र।
पूर्व राजा ज्ञानेन्द्र पनि दोहोरो सिग्नल दिन खप्पिस। नेपाली कांग्रेसका नेता र पूर्व सभामुख तारानाथ रानाभाट पूर्व राजाको संकेत बुझ्न नसकेर ठूलो दुर्घटनामा परेका उत्कृष्ट उदाहरण हुन्। त्यतिबेला राजाकै शासन थियो। उनी एकपछी अर्को प्रधानमन्त्री फेरी रहेका थिए, एउटा चुरोट फालेर अर्को सल्काए झै गरी। त्यसैताक रानाभाटलाई पनि नयाँ दौरा सुरुवाल लगाएर बस्न फोन आयो। उनी सभामुखको निवासबाट बालुवाटार निवास जान मज्जाले तयार भएर पनि बसे तर राजाले सभामुखको घर छाड्ने हो भने पद पनि छाड्ने राजीनामा ल्याउन भने। उनका नेता गिरिजाले उसोभए हुन्न भने। उनी थचक्कै बसे। यत्रो वर्षमा अझै राजनीतिमा उठ्न सकेका छैनन्।
विचरा पूर्व राजा ज्ञानेन्द्र आफूले अरुलाई गलत सिग्नल दिँदादिँदै आफैँ पनि गलत सिग्नलको भर परे। माओवादीले संवैधानिक राजतन्त्र नभए सांस्कृतिक राजा त अवश्य राख्छ र सेनाले अन्तिम बेलासम्म साथ दिन्छ भनेर बसेका राजा त थाहै नपाई जेठ १४, २०६४ सालमा आफँैले आफँैलाई राजदरबारबाट निकाला गरेको सन्देश पढेर निस्कनु पर्यो। सेनाले साथ देला भन्ने भरमा बसेका ज्ञानेन्द्र शाह पत्तै नपाई ठूलै दुर्घटनामा परे। सेनाले पनि सिग्नलको राजनीति राम्रै गरेेको देखियो।
अरु दल नेपाली कांग्रेस, नेकपा (एमाले) आदिले पनि गलत सिग्नल दिने र अर्काको गलत सिग्नललाई सही ठान्ने गल्ती गर्दै आएका छन्। सुशील कोइरालालाई प्रधानमन्त्री पद दिने लोभ देखाएर बाबुराम सरकार ढाल्न सहयोग लिइयो तर त्यो सिग्नल गलत परेछ। भाग्य त अर्कैको जागेको रहेछ। त्यो खेलमा गलत सिग्नल दिनेकाम भारतले गरेको भन्ने भान परेका कोइरालाले अब भारत भ्रमणपश्चात फेरि अर्कै कुरा बोलेर गलत सिग्नल दिन बेर लाउने छैनन्। आखिर सिग्नल दिन र सिग्नलको अर्थ फेर्न खप्पिस दक्षिणी छिमेकीको दाँजोमा बिचरा नेपाली राजनीतिज्ञ कसरी टिकुन्?
भारतले नबोलाउन्जेल सबै नेता खुँखार भारत विरोधी हुन्छन्। भारतले बोलाएपछि सबैका लागि उही ठूलो मित्रराष्ट्र र सहयोगी छिमेकी बन्छ। कमरेड केपी ओली भारत भ्रमणमा हुँदा कमरेड माधव नेपालले दिएको सिग्नल भारत विरोधी हुन्छ। आफै निलो सुटमा सोनिया गान्धीसँग हात मिलाएर आएपछि अब उनले दिएको त्यही सिग्नल भारतमुखी हुन्छ। शेरबहादुर देउवा भारत भ्रमणमा हुँदा सुशील कोइरालाले दिने सिग्नल पनि त्यस्तै हुन्छ। उनी आफँै भारत भ्रमणमा गएपछि त्यो सिग्नलको अर्थै अर्को हुन्छ।
जसरी नेपालका सडकमा आफू अगाडि गुडीरहेको मोटरको सिग्नलको अर्थ लगाएर कुनै निर्णय लिन सकिन्न त्यसरी नै नेपालका राजनीतिक नेताहरूको बोलीको अर्थ लगाएर कुनै कुरा जान्न सकिन्न। राजनीतिक दलहरु एक अर्कालाई झुक्याउन र जनताको समर्थन प्राप्त गर्न जे पनि बोल्छन् र जस्तोसुकै वाचा पनि गर्छन्। आफ्नो स्वार्थ पूरा भएपछि लाजै पचाएर आफूले पहिले बोलेको शब्दको गलत अर्थ लगाउन थाल्छन्। अरूलाई गलत अर्थ नलगाउन औँलो ठड्याउँछन्।
कुनै राजनीतिक दल वा नेता नेपालको भ्रमित राजनीतिलाई चिरेर वचनको पक्का र जनताको सच्चा प्रतिनिधि हुनसकेका छैनन्। दायाँतिरको सिग्नल लाइटको एउटै अर्थ दाहिने जानेमात्र हो भन्ने बुझ्दा दुर्घटना नहुने अवस्थामा पुग्न सायद नेपालले अझै धेरै समय कुर्नु पर्नेछ।


No comments:
Post a Comment