भारतको असफल नेपाल नीति
- आइतबार ९ असार, २०७०
- प्रतीक प्रधान
- 31 Comments
5 2
0
बैतडीको देहीमान्डु होस् कि राजधानी काठमाडौं, हुम्लाको सिमिकोट होस् वा रौतहटको गौर, कुनैपनि स्थानमा गएर कुनै युवा वा युवतीलाई सबैभन्दा मनपर्ने नायक, नायिकाको नाम सोध्दा के उत्तर आउला? धेरै सम्भावना बलिउडकै नायक, नायिकाको नाम आउँछ। नेपाली कलिउड वा हलिउडका नायक, नायिकाको नाम आउने संभावना कमै हुन्छ। तिनलाई मनपर्ने खेलाडीका नाम सोध्नुहोस् उत्तर करिब उस्तै उस्तै आउँछ।
पुरानो पुस्ताका अधबैंसंलाई सोध्नुहोस वा नयाँ पुस्ताका तन्नेरीलाई, तिनले मन पराउने र गुनगुनाउने गायक को हुन् भनेर? अधिकांशको उत्तर उही मोहम्मद रफी, किशोर कुमार, लता, आशा, श्रेया घोसल, शान वा अरू कुनै भारतीय गायक गायिका नै हुन्छन्। टीभी हेर्ने महिलाको सबैभन्दा मनपर्ने कार्यक्रम के हो भन्यो भने जी, सोनी, स्टार च्यानलका पारिवारिक सिरियल नै पर्छन्। अधिकांश शिक्षित जमातको सूचना समाचारको मुख्यस्रोत भारतीय समाचार च्यानल वा पत्रपत्रिकानै हुन्छन्।
नेपालको सिमाना नजिकका गाउँले सबै भारतकै बजारमा गएर नुन, तेल, मसला र कपडा किन्न मन पराउँछन्। विद्यार्थीहरू भारतको ठूलो विश्वविद्यालयमा पढ्ने चाहना राख्छन् भने रोजगारीको बजारमा आएका युवाको महत्वपूर्ण रोजगारी गन्तव्यमध्ये भारत पनि पर्छ।
तर यिनै व्यक्तिलाई तिनको सबैभन्दा मनपर्ने देश कुन हो भनेर सोध्ने हो भने बिरलैको उत्तर भारत हुँन्छ। तिनको मनपर्ने देश अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान वा कुनै अन्य राष्ट्र हुन्छ। अर्थात् अधिकांश नेपाली भारतीय संस्कृति, सिनेमा, खेलकुद आदिबाट अत्यधिक प्रभावित भए पनि राजनीतिकरूपमा भारतलाई आफ्नो मन नजिकको मान्दैनन्। नेपाली जनतामा भारतको प्रभावका विषयमा कसैले अनुसन्धान गरेको लेखकलाई जानकारी छैन। तर कसैले गरेको छ भने उसको निष्कर्ष करिबमाथि भनिएको जस्तै हुन्छ भन्नेमा पंक्तिकार विश्वस्त छ।
सन् १९४७ मा भारत स्वतन्त्र भएपश्चात नेपालीका लागि आफ्नो छिमेकी देशप्रति धेरै सद्भाव जाग्न सकेन। नेपालजस्तो सबै मामिलामा भारतमा आश्रित भएर पनि राजनीतिकरूपमा भारतलाई पराइ ठान्नु भारतीय परराष्ट्र नीति तथा राजनीतिको सबैभन्दा ठूलो पराजय हो।
भारत बेलायतको उपनिवेश छँदादेखिनै नेपाल आफ्नो स्वतन्त्रतामा गर्व गरेर बाँचेको देश हो। त्यसबेलाको विश्व विजेता बेलायतसँग बारम्बार युद्ध लडेर पनि आफ्नो अस्तित्व बचाएको हुनाले नेपालीको सबैभन्दा ठूलो सम्पति र गर्वको विषयनै राष्ट्रिय स्वाधीनता र स्वतन्त्रता हो। सन् १८१४ देखि करिब दुई वर्ष भएको बेलायतसँगको युद्धमा पराजित भएपछि गरिएको सुगौली सन्धि (डिसेम्बर २, १८१५) मा नेपालले सिक्किम, गढवालसहित पहिले जितेको एक तिहाइ भूभाग गुमाए पनि त्यसपश्चात स्वतन्त्र राष्ट्रको रूपमा स्थापित भइरह्यो। बेलायतले पनि नेपाललाई स्वतन्त्र राष्ट्रकै रूपमा मान्यता दिएको ऐतिहासिक दस्तावेजले प्रमाणित गरेका छन््। तर सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएपश्चात नेपालीहरूमा भारतप्रति सन्देह बढ्दै गएको छ।
स्वतन्त्र भारतले नेपाललाई आफैँमा गाभ्ने कि नगाभ्ने भनेर धेरै छलफल गर्यो। तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको दूरदर्शिताका कारण नेपाललाई भारतमा गाभ्ने प्रयास गरिएन। धेरै भारतीयले नेहरुको यस कदमको महत्व बुझेनन्। तिनको विचारमा नेहरुले चीनसँगको आफ्नो सिमाना सुरक्षाको बाध्यता करिब हजार किलोमिटरले घटाए भन्नेमात्र थियो। तर स्वतन्त्र नेपाललाई भारतले जबर्जस्ती गाभेको भए स्वतन्त्रतासँगै भारत विघटनको आन्दोलन नेपाली भाषीले त्यसैबेला सुरु गर्ने थिए र भारतको अखंडतामा समस्या आउन सक्थ्यो।
तैपनि, भारतीय नेताहरूले नेपाललाई सधँ भारतको उपनिवेशको जस्तो व्यवहार गर्दै आएका छन्। हुनत, यसका लागि नेपालका राजनीतिक नेताको पनि भूमिका छ। आफ्नो देशमा भएका परिवर्तनमा प्रत्यक्ष वा परोक्षरूपमा सधैँ भारतलाई प्रमुख खेलाडीका रूपमा उभ्याएका कारणले पनि नेपालप्रतिको भारतीय दृष्टिकोण सकारात्मक हुन नसकेको हो।
यता, नेपाली जनमानसमा भारतप्रतिको शंका पनि सधैँ जीवितै रह्यो। उता, भारतका नेताको नेपाल प्रतिको दृष्टिकोणमा पनि समय सापेक्ष परिवर्तन हुन सकेन।
विदेशी नियोगमा कामगर्ने एक जना नेपालीले हालसालै भारत भ्रमणका क्रममा करण सिंहलाई भेटेका रहेछन्। करण सिंह (८२) भारतीय कांग्रेसका अनुभवी नेता हुन्। जम्मु कास्मिरका अन्तिम शासक महाराजा हरि सिंहका छोरा करण सिंह नेपालसँग वैवाहिक सम्बन्धका कारणले नजिक मानिन्छन्। उनी नेपाल मामिलाका ज्ञाता पनि मानिन्छन् र नेपालमा राजनीतिक अस्थिरता भएका समयमा उनको नेपाल भ्रमण अर्थपूर्ण हुने गर्छ। सिंहले ती विदेशी नियोगमा कामगर्ने नेपालीलाई भनेछन् – 'नेपालले भारतबाट फाइदा लिनजानेन।' उनका अनुसार भारतबाट फाइदा लिएर भुटान निकै अघि बढ्यो र अहिले बंगलादेशले पनि सो कुरा बुझ्यो तर नेपालले बुझेन। सत्य के हो भने नेपालले होइन सिंहले नै कुरा नबुझेका हुन्। भारतले नै नबुझेको हो।
नेपाल जति गरिब भए पनि भुटान हुन चाँहदैन। नेपालीहरू जति दुःखी होउन् भुटानी हुन चाहँदैनन्। नेपाली जनताको मनमा भारतले नेपाललाई सकभर सिक्किम बनाउन खोज्छ नसके भुटान बनाउँछ भन्ने डर सधैँ रहँदै आएको छ। भारतीय शासकले यही भावना नबुझेका कारण जनस्तरमा नेपाली र भारतीय धेरै नजिक भए पनि राजनीतिक रूपमा नेपालीको सर्वप्रिय देश भारत नभएर अरू नै कुनै मुलुक हुने गरेको हो। भारतको नेपाल नीतिको असफलता नै नेपालीको मनोभाव बुझ्न नखोज्नु हो।
भारत नेपालको सबैभन्दा ठूलो दाता राष्ट्र पनि हो। जति सहयोग गरे पनि नेपाली अनुगृहीत हुँदैनन् भन्ने भारतलाई लाग्दो पनि हो तर स्वाभिमानी नेपालीले भने भारतीय सहयोगमा रहेको स्वार्थी पाटो पनि टड्कारोरूपमा देखिरहेका हुन्छन्।
भारतको सहयोग नेपाल सरकारमार्फत भन्दा भारतीय दूतावासको सिधै संपर्कमा भएका व्यक्तिको सिफारिसमा मात्र जान्छ। अर्थात् त्यस्तो सहयोग लिन भारतमुखी हुनुपर्ने जुन तरिका अपनाइएको छ त्यसले सहयोग पाउने संस्थालाई पनि सधैँ दोषी वा अपराधी भएजस्तो ग्लानि अनुभव हुन्छ। भारतको सहयोग गर्ने तरिका पनि अचम्मको छ। भारतीय राजदूत आफँै नेपालका मन्त्री वा प्रधानमन्त्रीजस्तै आफ्नो देशको सहयोगमा खुलेका स्कुल वा अन्य आयोजनाको उद्घाटन गर्दै हिँडछन्। विडम्बना, सहयोग प्राप्त गर्ने संस्थालाई पनि भारतमुखी भएको दोष लाग्ने र अरूले हेर्दा पनि विदेशीले पेलेको देखिने!
भारतले विभिन्न संस्थालाई सहयोग स्वरूप प्रदान गरेका बसहरू हेर्दा अलिकति पनि स्वाभिमान भएका नेपालीलाई लाजलाग्ने अवस्था छ। कसैले अलि परबाट हेर्दा ती बस नदेखिएलान् तर तिनमा बडेमाका अक्षरले लेखिएको 'भारत सरकारको सहयोगमा प्राप्त' भन्ने अक्षर एक कोस टाढैबाट देखिन्छ। सहयोग गरेको त राम्रै हो तर त्यस्तरी हियाउनु कति राम्रो हो भन्ने भारतका कूटनीतिक विशेषज्ञले बुझ्नु पर्ने हो। तर तिनले बुझ््ने जरुरतै ठानेको देखिँदैन।
भारतले नेपाललाई दिने छात्रवृत्तिको अवस्था त्यस्तै छ। त्यो छात्रवृत्ति छिमेकी देशले नेपालको हित हेरेर कुनै जेहेन्दार, मेहनती र बढी नम्बर ल्याएका विद्यार्थीलाई दिने छात्रवृत्ति होइन। बीपी कोइरालाको पालादेखि नै त्यस्तो छात्रवृत्ति नेता र दूतावासको नजिकका व्यक्तिका छोरा, छोरीलाई दिइँदै आएको छ। विश्वेश्वरप्रसाद कोइरालाले आफ्नो छोरा शशांकलाई भन्दा अरू कुनै नेताकी छोरीलाई छात्रवृत्ति दिन सिफारिस गरेको र शशांकको मन दुखेको विवरण बीपीको आत्मवृतान्तमा आइसकेकै छ। त्यो छात्रवृत्ति पनि नेपालको नाकमा लगाइने नथ्थीको एउटा रूप हो। अहिले पनि नेपाली कांग्रेसका हुन् वा एमालको, धेरै नेताका छोराछोरीले भारतको छात्रवृत्तिमा नै उच्च शिक्षा हासिल गरेका छन्। नेपालले छिमेकीसँग आफ्नो हितको विषय जोडदाररूपमा अघि बढाउनु पर्ने बेला हुनेबित्तिकै छात्रवृत्तिको फाइदा लिने नेताको नुर गिर्छ। अनि भारतले नेपालबाट फाइदा लिन्छ। तर भारतीय शासकले त्यति बेला अढाई करोड नेपालीको मनमा भारतप्रतिको नकारात्मकता अझ बढ्छ भन्ने बुझ्दैनन्।
भारतको नेपाल नीति यसरी असफल हुनुको सबैभन्दा मुख्य कारण नेपाली जनताको मन जित्ने कोसिस गर्नुभन्दा नेता, पत्रकार र कर्मचारी किनेर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने उसको प्रवृत्ति हो। स्वतन्त्र भारतले नेपालमा रहेको बेलायती राजदूतावासको आधाभन्दा धेरै भागमा कब्जा जमाए देखिनै लैनचौरको आर्थिक सहयोगको लिस्टमा धेरै नेपालीको नाम पर्दै आएको विश्वास गरिन्छ। भारतीय दूतावासबाट महिनावारी लिने नेपालीको नामावली जति लामो बन्दै गएको छ भारतप्रति नेपालीको अवधारणा पनि उत्तिकै नकारात्मक बन्दै गएको देखिएको छ। भारतले के बुझेन भने नेता किनेर जनताको मन किनिदैन। जनताको मन पैसाले किन्ने होइन व्यवहारले जित्नु पर्छ भन्ने त्यहाँका शासकले बुझ्नै चाहेना्। उसले आफ्नो दासहरू त थुप्रै बनायोे तर नेपालमा आत्मसम्मान भएका भरपर्दा साथी बनाउन सकेन।
पैसाका बलमा आफ्ना पक्षमा जनमत सिर्जना गर्न सकिदैन। भारतको दक्षिण एसियामै प्रभाव कमजोर प्रभाव हुनुको कारण यही हो। वर्षौदेखि चलिआएको तौरतरिकामा भारतीय पक्षले परिवर्तन गर्न सक्दैन। किनभने काठमाडौंस्थित दूतावास सधैँ व्यक्ति किन्ने व्यवस्था कायम राख्न चाहन्छ। भारतीय दूतावासका कर्मचारी भारतप्रति नेपाली जनताको सद्भाव बढाउनभन्दा व्यक्तिगत स्वार्थले नै बढी निर्देशित हुन्छन्। भारतीय शासनको यही मानसिकता बोकेको सहसचिव तहको एक जना व्यक्तिलाई नेपालको प्रधानमन्त्रीलाई औंलामा घुमाउन सक्नु व्यक्तिगतरूपमा त्यस देशका जनताको विश्वास जित्नुभन्दा ठूलो उपलब्धि हो भन्ने लाग्छ होला। ठूलो नेताजस्तो स्कुल र खानेपानी आयोजनाको उद्घाटन गर्न पाइने, जसलाई मनलाग्यो उसलाई आफूकहाँ धाउन लगाउन सकिने चलन ऊ छोड्न किन चाहँदो हो र? अझ नेपाली अस्मिताका लुटेरालाई बाँड्ने भनिएको गोप्य पैसामा भ्रष्टाचारी भारतीय कर्मचारी आफैँले कति कमाउने मौका पाउँछन् त्यसको हिसाब त भारतीय व्यवस्थापिकाले पनि खोज्न पाउँदैन। अनि तिनले पैसा खर्च गरेर राष्ट्रघाती नेपाली किन्ने कुराको समर्थन गर्न छाडेर सबै नेपालीको मन जित्ने काम गर्ने सुझाव किन दिउन् आफ्नो सरकारलाई?


No comments:
Post a Comment