Sunday, October 27, 2013

कस्तो शासकीय पद्धति अपनाउने?

  • ९ कार्तिक, २०७०
  • प्रतीक प्रधान
  • 6 Comments
 2  14 Google +0  0  0
(0 votes)
२००७ सालको जनआन्दोलनदेखि जनताको संविधान बनाउने नेपालीको सपना अपुरो रहँदै आएको छ। राणा शासनको जग उखेलेर राजालाई संवैधानिक बनाउने सपना लिएका आन्दोलनका सारथिहरू विश्वेश्वरप्रसाद कोइराला (विसं १९७१–२०३९), मातृकाप्रसाद कोइराला (१९६८–२०५३), टंकप्रसाद आचार्य (१९६८–२०४८), सुवर्ण शमशेर (१९७६–२०३३) एकताबद्ध हुन नसक्दा राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले बारम्बार जनताको सपना तुहाए। संविधान सभाको निर्वाचन हुन नसकेर २०१५ सालमा प्रतिनिधिसभाको निर्वाचन भयो। त्यसबाट निर्वाचित भएका प्रधानमन्त्रीलाई पनि २०१७ सालमा राजा महेन्द्रले अपदस्थ गरेपश्चात् नेपालमा जनताको संविधान बन्न सक्ने अवस्था क्षीण हुँदै गएको थियो।

२०६३ सालको सफल आन्दोलनपश्चात् देश गणतन्त्रमय भयो र संविधान सभाको निर्वाचन पनि भयो। २०६४ को संविधान सभाले दुई वर्षमा संविधान बनाउने अभिभारा सम्पन्न गर्न नसकेर २०६८ सालसम्म आफ्नो आयु लम्ब्यायो। तथापि संविधान बन्न सकेन। अब एकपल्ट पुनः संविधान बनाउनका लागि संविधान सभाको निर्वाचन हुन गइरहेको छ। मंसिर ४ गते हुने यो निर्वाचनको प्रमुख मुद्दाहरूमा संघीयता कस्तो विधि र प्रकारको अपनाउने, कस्तो प्रकारको शासकीय पद्धति लागु गर्ने, निर्वाचन पद्धति कस्तो बनाउने, राज्य र केन्द्रबीच स्रोतको बाँडफाँट कसरी गर्ने, सुरक्षा र न्याय व्यवस्था कस्तो अपनाउने जस्ता विषयहरू हुन्।
प्रस्तुत लेखमा शासकीय पद्धति कस्ता–कस्ता हुन सक्छन्, नेपालका मुख्य राजनीतिक दलहरूले कस्तो शासकीय पद्धतिको वकालत गरेका छन्, अन्तर्राष्ट्रिय अनुभव के कस्ता छन् भन्ने विषयमा छलफल गरेर अन्तमा नेपालका लागि कस्तो शासकीय प्रणाली उपयुक्त हुन सक्दछ भनेर निचोड निकाल्ने प्रयास गरिएको छ।
शासकीय पद्धति भनेको जनतामा निहित देशको सार्वभौम अधिकार कस्ता प्रकारका संस्थाहरू निर्माण गरेर प्रयोग गर्ने, जनताको सुरक्षा र विकासका लागि ती अवयवहरूको कसरी उपयोग गर्ने भन्ने निर्णय हो। शासकीय पद्धतिको निर्णय लिँदा राष्ट्रप्रमुख र शासकीय प्रमुखहरू कसरी निर्वाचित गर्ने, यी दुईबीचको कार्यगत सम्बन्ध कस्तो हुने तथा देशमा शक्ति सन्तुलनको अवस्था कसरी कायम गर्ने विषयमा विशेष विचार पुर्‍याउनु जरुरी हुन्छ।
अहिले विश्वमा प्रचलित शासकीय प्रणालीमध्ये राष्ट्रपतीय शासन, व्यवस्थापिकाले चुनेको प्रधानमन्त्री र यी दुवैको मिश्रित वर्णशंकर व्यवस्था छ। संयुक्त राज्य अमेरिका राष्ट्रपतीय शासनको एउटा नमुना हो भने बेलायत व्यवस्थापिकाबाट प्रधानमन्त्री चुन्ने व्यवस्थाको। बेलायतको मोडेललाई वेस्ट मिन्स्टर प्रणाली पनि भनिन्छ। वर्णशंकर व्यवस्थाको राम्रो उपयोग फ्रान्सले गरेको छ।
राष्ट्रपतीय शासन प्रणालीमा राष्ट्रपतिको निर्वाचन र व्यवस्थापिकाको निर्वाचन फरक–फरक रूपमा हुन्छ। राष्ट्रपतिको छुट्टै निर्वाचन हुने हुनाले व्यवस्थापिकाप्रति उत्तरदायी नभई सिधै ऊ जनताप्रति उत्तरदायी हुन्छ। निर्वाचित राष्ट्रपतिले आफ्नो मन्त्रिमण्डल आफैंले बनाउँछन् तर मन्त्री वा अमेरिकी भाषामा सचिव (सेक्रेटरी) व्यवस्थापिकाको सहमति लिने व्यवस्था हुन्छ। यसरी निर्वाचित राष्ट्रपति बजेट बनाउन, सरकार चलाउन र विदेश नीतिहरू लिनका लागि धेरै स्वतन्त्र हुन्छन्। आफूले चाहेको विधेयकसमेत राष्ट्रपतिले सिधै बनाएर व्यवस्थापिकामा स्वीकृतिको लागि मात्र पठाउन सक्ने व्यवस्था हुन्छ। यो व्यवस्थामा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गर्न सक्दैनन् न त प्रतिनिधि सभामा राष्ट्रपतिको दलको मत कम भयो भने उसले राष्ट्रपतिलाई निकाल्न सक्दछ। तल्लो सदनमा दुई तिहाई मतले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाएर भने राष्ट्रपतिलाई निकाल्न सक्ने प्रावधान रहेको हुन्छ।
नेपालले २०४७ को संविधानबाट अपनाएको व्यवस्था वेस्ट मिन्स्टर प्रणाली हो। यो प्रणालीमा जनताले आफ्ना प्रतिनिधि चुन्छन् र व्यवस्थापिकामा पठाउँछन्। सबैभन्दा धेरै संसद सदस्यको सहमति जुटाउन सक्ने व्यक्ति वा दलको नेता प्रधानमन्त्री हुन्छ। प्रधानमन्त्रीले संसद सदस्यमध्येबाट आफ्नो मन्त्रिमण्डल बनाउँछ। तर नेपालको अन्तरिम संविधान २०६३ अनुसार मन्त्री बन्नका लागि व्यवस्थापिका संसदको सदस्य नभए पनि हुन्छ। प्रधानमन्त्री सिधै व्यवस्थापिकामा आफ्नो बहुमतको आधारमा बन्ने भएकाले अल्पमतमा पर्नासाथै राजीनामा दिने अवस्था हुन्छ। तर बहुमतमा भएको प्रधानमन्त्रीले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता आउने देखेमा वा अरू कुनै कारणले पनि प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न सक्दछन्। यस्तो व्यवस्थामा राष्ट्रपति वा राजा केवल संविधानको रक्षक र राष्ट्रप्रमुखको हैसियतमा रहन्छन् र उनी पनि संविधान अन्तर्गत रहन्छन्।
फ्रान्सको जस्तो वर्णशंकर व्यवस्थामा राष्ट्रपति छुट्टै निर्वाचनबाट जितेर आउँछन् भने प्रधानमन्त्री प्रतिनिधि सभामा बहुमत प्राप्त व्यक्ति वा दलका नेता छानिन्छन्। बहुमत प्राप्त प्रधानमन्त्रीको मुख्य काम देशको दैनिक प्रशासन चलाउने हुन्छ भने राष्ट्रपतिले आफ्नै मन्त्रिमण्डल बनाएर ऐन, कानुन बनाउने कार्य गर्दछन्। विदेश मामिला पनि राष्ट्रपतिले चलाउने व्यवस्था हुन्छ। यो व्यवस्थामा देशको प्रशासन चलाउने जिम्मेवारी प्रधानमन्त्रीको हुन्छ अरू अवस्थामा राष्ट्रपतिको अधिकार धेरै हुन्छ।
अब नेपालमा कुन राजनीतिक दलले कस्तो किसिमको व्यवस्थाको वकालत गरेका छन् त्यो हेरूँ। निर्वाचनको पूर्वसन्ध्यामा सबै राजनीतिक दलले आ–आफ्नो निर्वाचन घोषणा पत्र जारी गरेका छन् जसमा आफूले अपनाउने शासकीय पद्धति उनीहरूले जनतामाझ राखेका छन्।
नेपाली कांग्रेसले आफ्नो पुरानो अडान कायम राख्दै वेस्ट मिन्स्टर प्रणाली अर्थात् प्रधानमन्त्रीय पद्धतिको वकालत गरेको छ। नेपाली कांग्रेसले निर्वाचन घोषणा पत्रमा संसदबाट निर्वाचित कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री र केन्द्रीय तथा प्रदेशका संसदबाट निर्वाचित आलंकारिक राष्ट्रपति हुनुपर्ने जिकिर गरेको छ। यसरी हेर्दा संघहरू बनेको अवस्थामा प्रादेशिक संसदले राष्ट्रपति चुन्नमा खेल्ने भूमिकाबाहेक नेपाली कांग्रेसले अहिलेकै अवस्थाको निरन्तरतामा विश्वास देखाएको छ।
एनेकपा माओवादीले भने जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली हुनुपर्ने कुरामा जोड दिएको छ। पहिलो संविधान सभामा प्रमुख राजनीतिक दलहरूले संसदीय प्रणाली अर्थात् संसदबाट निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थामा सहमति जनाइसकेको भए तापनि एनेकपा माओवादीले आफ्नो पुरानो अडान पुनः दोहोर्‍याएको छ। देशको स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै चाहिने उसको विश्वास भए तापनि पहिलेको संविधान सभाको निर्वाचनमा जस्तो यसपल्ट प्रचण्ड वा अरू कसैलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा जनता समक्ष प्रस्तुन गरिएको छैन।
देशको अर्को ठूलो दल नेकपा एमाले भने मिश्रित व्यवस्थाको वकालत गर्दै छ। एमालेका अनुसार जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदबाट निर्वाचित संवैधानिक राष्ट्रपति हुने व्यवस्था गरिनुपर्दछ। यो व्यवस्था करिब फ्रान्सको जस्तै भए पनि एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको कुरा उठाएको छ, राष्ट्रपति प्रतिनिधि सभाबाट चुनिने भनेको छ।
वास्तवमा संसारको अनुभव हेर्दा कुनै पनि प्रणाली अत्यधिक सफल र अर्को अत्यधिक असफल हुने सम्भावना हुँदैन। कतिपय तानाशाही शासन वषर्ौं चलेको छ भने अधिकांश केही समयमै असफल भएका अन्तर्राष्ट्रिय अनुभव प्रशस्त छन्। नेपालजस्तो भर्खरै प्रजातन्त्रको जग बसाल्दै गरेको मुलुकमा कुन व्यवस्था बढी प्रभावकारी होला भन्ने विषयमा राजनीतिशास्त्रीहरूले वषर्ौंदेखि विचार र छलफल गर्दै आएका छन्। कतिपय राजनीतिज्ञहरूको भनाइमा लोकतन्त्रलाई सबल र सफल बनाउनका लागि आर्थिक अवस्था पनि एक मुख्य तत्त्व हो। सन् १९८५ को भाउमा करिब एक हजार डलर प्रतिव्यक्ति आय भएको देशमा विगतमा लोकतन्त्र बढी बाँचेको देखिएको छ भने त्योभन्दा गरिब देशमा लोकतन्त्र आए तापनि त्यो फेरि फर्केर तानाशाही व्यवस्थामै गएको देखिन्छ।
नेपालीहरूले लामो समयसम्म त्याग, तपस्या र प्राण उत्सर्ग गरेर ल्याएको लोकतन्त्र कस्तो शासकीय व्यवस्था आयो भने दिगो बनाउन सकिन्छ भनेर सोच्नु स्वाभाविक हो। राजनीतिशास्त्री होजे चेइबुबका अनुसार प्रतिव्यक्ति आय सन् १९८५ को एक हजार डलरभन्दा कम हुँदा संसदीय व्यवस्थाको उमेर करिब सात वर्षमात्र हुने तर राष्ट्रपतीय व्यवस्था करिब ११ वर्ष चल्ने देखिन्छ। तर अलिकति धनी देशहरूमा संसदीय व्यवस्था धेरै लामो र दिगो चलेको देखिन्छ। हुन त  राजनीतिमा तथ्यांकशास्त्रले मात्र काम गर्दैन। शासनमा कस्ता व्यक्तिहरू पुग्दछन् र तिनले लोकतन्त्रलाई संस्थागत गर्न कस्ता कार्य गर्दछन् त्यसले धेरै भर पर्दछ। चेइबुबले उल्लेख गरेको तथ्यांक स्यामुयल पी हन्टिगंटनले भनेको लोकतान्त्रीकरणको तेस्रो लहर (सन् १९७४ यता) पछिको दुई दशकमा मुख्यत युरोप र दक्षिण अमेरिकामा भएका परिवर्तनहरूको तथ्यांक हो। युरोपमा भएका देशहरू यसै धनी थिए र तिनको लोकतन्त्र आफ्ना छिमेकी देशको प्रभाव, शिक्षा, भौगोलिक अवस्थिति आदिका कारण दिगो भएको हो। त्यसैबखत स्वतन्त्र भएका ल्याटिन अमेरिकी देशहरू गरिब थिए, प्राकृतिक स्रोत र साधन थिएनन्, शिक्षाको विस्तार धेरै थिएन त्यसैले लोकतन्त्र टिकाउन सकेनन्। तर यही कुरालाई कुन देशमा राष्ट्रपतीय व्यवस्था थियो, प्रतिव्यक्ति आय कति थियो र व्यवस्था कति वर्ष टिक्यो भनेर हिसाब गर्दा सात वर्ष र ११ वर्षको तथ्यांक आएको हो।
शासकीय व्यवस्थाको कुरा गर्दा नेपालको प्राकृतिक सम्पदा कति छ, विकासको अवस्था कस्तो हो, राजनीतिमा मेलमिलाप र सरकार गठनमा सबैको सहभागिताको अवस्था कस्तो हुँदा राम्रो होला भन्ने विषयमा सोचिनुपर्दछ। राज्य सञ्चालनको क्रममा कति कार्यदक्षता र राजनीतिक दलहरूबीचको कटुता कस्तो अवस्थामा छ भन्ने कुरामा पनि शासकीय व्यवस्था निर्क्यौल गर्नुपर्ने हुन सक्दछ। यसरी हेर्दा नेपालका राजनीतिक दलका नेताहरूले अहिलेसम्म नैतिकता, इमान्दारी र आफ्नो व्यक्तिगत स्वार्थभन्दा राष्ट्रको हित हेर्ने क्षमताका प्रदर्शन गर्न सकेका छैनन्।
हाम्रो देशमा हालसम्म जो व्यक्ति प्रधानमन्त्री भए अब केही वर्ष तिनै व्यक्तिले पालैपालो सत्ता चलाउने अवस्था देखिन्छ। आफू कुर्सीमा रहिरहन र देशको सम्पत्तिको लुट मच्चाउन हाम्रा नेताहरूले जस्तोसुकै निर्णय लिन पछि नहटेको धेरै उदाहरण छन्। कसैले राजाले भनेको मानेर लोकतान्त्रिक संसद विघटन गरेर राजालाई निरंकुश हुने बाटो खोलिदिए, कसैले त्रिशूली ३ ए जस्तो प्रोजेक्टलाई सम्पूर्ण सम्झौताविपरीत गएर क्षमता बढाउन स्वीकृति दिए, कसैले प्रधानमन्त्री बन्छु भन्ने लोभमा एमआरपी पासपोर्ट बनाउने सम्पूर्ण जिम्मा भारतलाई लगाउने तयारी गरिसकेका थिए भने कोही नेपालका एअरपोर्टको सुरक्षा जिम्मा भारतलाई लगाउन सहमत छन्। कसैले लडाकुको पैसा खाएर पार्टी चलाए भने कसैले ठुल्ठूला नियुक्तिसमेत विदेशीको इसारामा गरेर अनेक लाभ लिए। अब यिनै नेतामध्ये कोही राष्ट्रपति भए र यस्तै प्रकारको कुनै काम गरे भने संसदबाट तिनलाई अल्पमतमा पारेर निकाल्न पनि सकिँदैन र महाअभियोग लगाउन पनि दुई तिहाई चाहिन्छ; जुन सजिलै पुग्दैन। अर्थात् नैतिकतामा प्रश्न चिह्न लागेका व्यक्तिलाई संसदको अनुगमनमा बस्नु परेन भने जस्तोसुकै निर्णय लिन सक्ने अवस्था हुन्छ, त्यसैले राष्ट्रपतीय शासनमा जानु नेपालका लागि खतरा हुन सक्दछ।
अझ नेपालको सन्दर्भमा हेर्दा त्यस्तो दल प्रत्यक्ष राष्ट्रपतिको पक्षमा उभिएको छ जसलाई लोकतन्त्रमा विश्वास छैन र मौका पर्नेबित्तिकै जनताको एकदलीय जनवादमा हाम्फाल्न तयार छ। विश्वमा धेरै त्यस्ता उदाहरण देखिएको छ जसमा राष्ट्रपतीय शासनबाट तानाशाही व्यवस्थामा ओर्लन सजिलो देखिएको छ। इजिप्टमा दुई वर्षअघि २०११ मा भएको निर्वाचनमा मुस्लिम ब्रदरहुडका मोहम्मद मोर्सी राष्ट्रपति बने। उनले विजय प्राप्त गरेलगत्तै जनताका अधिकार खोस्न थाले र राष्ट्रपतिको विरुद्ध कुनै लेख वा समाचार लेख्न नपाइने र बोल्न नपाइने नियम लागु गरे। यदि मोर्सी प्रधानमन्त्री भइदिएका भए उनको आफ्नै दलभित्रको प्रतिद्वन्द्वीले वा बाहिरका दलले उनलाई निकाल्न सक्थे तर इजिप्टमा हजारौं मानिसको ज्यान जानेगरी जनविद्रोह गर्नुपर्‍यो। श्रीलंकामा महेन्द्र राजापाक्षेले देशको अस्तित्व रक्षा गर्ने नाममा विरोधी समूह र पत्रकारहरूलाई निमिट्यान्न गर्ने कार्य जारी राखेका छन् तर कसैले केही गर्न सक्ने अवस्था बनेको छैन।
प्रक्रियागत हिसाबले हेर्दा पनि, राष्ट्रपति एक दलको र संसद अर्को दलको पकडमा भयो भने नियम कानुन र सरकारको नीति लागु गर्न गाह्रो हुन्छ। भर्खरै अमेरिकामा राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य नीति पास नहुँदा बजेट रोकिएर झन्डै सरकार नचल्ने अवस्था आइसकेको थियो।
अहिले राजनीतिक दलहरू एक आपसमा मिल्न नसकेको, समझदारीमा एउटा प्रधानमन्त्री नियुक्त गर्न नसकेर सर्वोच्च अदालतका प्रधान न्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउनु परेको, देशको प्रशासन सुस्त र गैरजिम्मेवार ढंगले चलिरहेको देख्दा एक सशक्त शक्तिशाली राष्ट्रपतिले शासन चलाए बेस हुने थियो भन्ने धेरैको मनोभाव नभएको होइन। तर नैतिकता, इमान्दारिता र देशको लागि त्याग नभएको व्यक्ति राष्ट्रपति हुनुभन्दा त्यस्तै प्रकृतिको व्यक्ति प्रधानमन्त्री हुँदा लोकतन्त्र जोगिने, देशको हित हुने र कुनै एक व्यक्तिले जथाभावी गर्न नपाउने हुँदा नेपालको लागि अहिले संसदले चुनेको प्रधानमन्त्री नै बेस हुने देखिन्छ। जनताले सिधै चुन्ने प्रधानमन्त्री पनि करिब–करिब राष्ट्रपतिजस्तै प्रकृतिको हुने र सो व्यवस्थामा प्राविधिक कुराहरू अझ गन्जागोल हुने देखिन्छ। त्यसैले एमाले र एमाओवादीहरूले प्रस्ताव गरेका शासकीय स्वरूपभन्दा नेपालका लागि सबैले चिनेको पुरानो र भरपर्दो वेस्ट मिन्स्टर मोडेलको संसदीय व्यवस्था नै ठिक हुने देखिन्छ।

विश्वको अनुभव


संसारका १९५ देश र १४ वटा विवादास्पद क्षेत्रहरूमा कुन देशमा जनताको राजनीतिक अधिकार र नागरिक स्वतन्त्रता कति छ भन्ने मापन अन्तर्राष्ट्रिय संस्था फ्रिडम हाउसले गर्छ। सो संस्थाले राजनीतिक अधिकार र नागरिक स्वतन्त्रताका आधारमा दुवै सूचकमा १ देखि ७ सम्मको नम्बर दिन्छ। सबैभन्दा स्वतन्त्रलाई १ र सबैभन्दा कम स्वतन्त्रलाई ७ नम्बर दिने गरिन्छ। यसअनुसार १ र २ ल्याउनेलाई स्वतन्त्र, ३ देखि ५ आउनेलाई आंशिक स्वतन्त्र र ६ तथा ७ अंकलाई गैरस्वतन्त्र भनिन्छ। यो संस्थाले संसारका सबै देशको राजनीतिक अधिकार र नागरिक स्वतन्त्रताको मापन सन् १९७२ देखि गर्दै आएको छ।
यो लेखकले ती स्वतन्त्रता मापन गरिएका देशमा कस्तो प्रकारको शासकीय व्यवस्था छ भनेर खोजी गर्दा अचम्मको नतिजा देखा परेको छ। यो अध्ययनमा केवल संसदीय व्यवस्था भएको र राष्ट्रपतीय व्यवस्था भएका १७२ देशमा कुन कति स्वतन्त्र छ भनेर हेरिएको थियो। यसरी हेरेको अध्ययनले संसदीय प्रजातन्त्र भएको देश फ्रिडम हाउसको सूचकमा निकै अगाडि रहेको देखायो भने राष्ट्रपतीय प्रणाली भएको देश निकै पछाडि देखियो।
अध्ययन गरिएका १७२ देशमा संसदीय प्रधानमन्त्री भएका देशमध्ये ५५ स्वतन्त्र, १५ आंशिक स्वतन्त्र र चारवटा मात्र गैरस्वतन्त्र देश देखिए। तर राष्ट्रपतीय व्यवस्था भएका मध्ये ३२ मात्र पूर्ण स्वतन्त्र, ३६ वटा आंशिक स्वतन्त्र र ३० वटा गैरस्वतन्त्र देश देखिए। यो तथ्यांकले के पुष्टि गर्छ भने राष्ट्रपतीय व्यवस्था भएका देशहरूमा जनताको राजनीतिक अधिकार र नागरिक स्वतन्त्रता कुण्ठित हुने सम्भावना अत्यधिक हुन्छ।
- See more at: http://www.nagariknews.com/constitutional-election-2070/story/9137#sthash.sDoSqPeP.dpuf

Saturday, October 26, 2013

सेक्टरकाण्ड दोहोरिने लक्षण!

 118  38 Google +0  0  0
(0 votes)
नेपालको कम्युनिस्ट आन्दोलनमा दुईजना एमबी कमरेड प्रख्यात छन्। पहिला एमबी हुन् मोहनविक्रम सिंह। नेपाली कांग्रेसको सदस्यता लिएर आफ्नो राजनीतिक जीवन सुरु गरेका प्युठानका हुनेखाने परिवारका छोरा मोहनविक्रम सिंह कालान्तरमा गएर कम्युनिस्टका गुरु कहलिए। तर उनको राजनीति कहिल्यै सफल भएन। एक प्रकारले कम्युनिस्ट आन्दोलनको विग्रहका प्रमुख पात्र कहलिन पुगे कमरेड एमबी। पूरै जीवन भूमिगत शैलीको राजनीतिमा बिताएका कमरेड एमबीले जब अर्धभूमिगत राजनीतिमा प्रवेश गरेर आफ्नो फोटो खिचाउने र खुला पत्रकार सम्मेलनमा आउने निर्णय गरे त्यस बखत उनको फोटो र व्यक्तित्वमा कसैलाई खासै मतलब रहेन। पुष्पकमल दाहाल 'प्रचण्ड' र बाबुराम भट्टराईका गुरु नाममात्रका गुरु रहे काममा चेलाहरुले उनलाई उछिनेर धेरै अघि बढे। राजनीतिक पण्डितहरुका अनुसार उनको समस्याको मुख्य कारण उनमा रहेको कम्युनिस्ट जडसूत्रवाद नै हो।
पुराना कमरेड एमबी वा एमबीएसको समय समाप्त नहुँदै उनकै समूहमा उदाएका अर्का कमरेड एमबी हुन् मोहन वैद्य 'किरण'। पुराना एमबी र नयाँ एमबी पातलो मसाल र मोटो मशाल नामक  दुई दलमा विभाजित भएपछि कमरेड किरण कम्युनिस्ट आन्दोलनमा बढी चर्चामा आए। नयाँ कमरेड एमबी वा मोहन वैद्य पनि पुराना कमरेड एमबीझैँ जडसूत्रवादी कम्युनिस्ट भनेर चिनिन्छन् र त्यही विचारले उनलाई पनि इतिहासको पानामा असफल कम्युनिस्ट नेताको रुपमा सीमित नगर्ला भन्न सकिन्न।
पुराना एमबी अर्थात मोहनविक्रम सिंहको कम्युनिस्ट आन्दोनल कमजोर भएर गयो। किनभने उनको विचारमा नेपाल कहिल्यै सशस्त्र जनवादी आन्दोलनका लागि उर्वर भूमि बनेको थिएन। उता मोहन वैद्यको मशाल भने सशस्त्र क्रान्ति गर्ने मनसुबाको साथ टुक्रिएर बनेको समूह थियो। तर मोहन वैद्य 'किरण'ले नेतृत्व गरेको पार्टीको पहिलो कम्युनिस्ट सशस्त्र क्रान्तिको सुरुमै गल्ती भएर उनको दल समस्यामा पर्‍यो। विसं २०४२ सालको चैत महिनामा सशस्त्र आन्दोलनको थालनीका रूपमा विभिन्न प्रहरी पोस्टमा आक्रमण गरेर र त्रिपुरेश्वर स्थित राजा त्रिभुवनको सालिकमा कालो मोसो दलेर सुरु गरेको सो आन्दोलन नराम्ररी असफल भयो। मशालका धेरै कार्यकर्ता पक्राउ परे र पार्टीले कारवाहीस्वरूप तत्कालीन महासचिव किरणलाई परिवर्तन गरेर पुष्पकमल दाहाल उर्फ कमरेड विश्वासलाई नेतृत्व सुम्पियो। तिनै कमरेड विश्वास अर्थात् कमरेड प्रचण्डको नेतृत्वले दस वर्षे सशस्त्र विद्रोह गरेर शान्ति संझौता समेत सम्पन्न गरी देशकै ठूलो राजनीतिक दल बन्यो। कमरेड किरण त्यस विद्रोह र राजनीतिक सफलताको सशक्त सदस्य भएत पनि एमबी र उनका सहयोगीलाई चित्त बुझेन। उनी र उनका सहयोगीहरू सशस्त्र विद्रोह र एकदलीय जनवादलाई नै मूल मन्त्र मानेर पुरानो समूहबाट टुक्रिए।
अहिले नेपाल कम्युनिस्ट पार्टी–माओवादीको सबैभन्दा प्रमुख समस्या निर्वाचन बिथोल्ने कार्यक्रमलाई कुन तहमा पुर्‍याउने भन्ने नै हो। अलिकति मात्र भुलचुक भएको खण्डमा फेरि सेक्टर काण्डको पुनरावृत्ति हुनेमा शंका छैन। धेरै आक्रामक भएर गएन भने माओवादीलाई कसैले नटेर्ने र उसले आह्वान गरेका बन्द र निर्वाचन बहिष्कारको कार्यक्रममा खास जनचासो नरहने डर पनि सो दलमा उत्तिकै छ। तर आन्दोलनमा आक्रामक भएर गयो भने सबैभन्दा पहिले उनको दल आपराधिक वा आतंककारी समूहमा परिणत हुने जोखिम पनि उत्तिकै छ। अहिलेसम्म निर्वाचनमा नगए पनि सडकको सशक्त प्रतिपक्षको चिनारी बनाइसकेको नेकपा–माओवादीले आफ्नो राजनीतिक चरित्र छाडेर भूमिगत गुरिल्ला समूहको परिचय बनाउन खोज्योभने उसका लागि त्यो पनि दुर्भाग्यपूर्ण हुनेछ।
मतदानको तिथि आउन २३ दिन बाँकी छँदा निर्वाचन बिथोल्ने मनसायका साथ वैद्य माओवादीले जुन प्रकारले आफ्नो गतिविधि तीव्र बनाएर गएको छ त्यसले उसलाई राजनीतिक लाभ दिनेभन्दा राजनीतिबाट पर धकेल्ने काम गर्ने लक्षण धेरै देखिन्छ। चारै राजनीतिक दलका प्रमुख नेताहरू जहाँ जहाँ जान्छन् त्यहाँको निर्वाचन स्थलमा गडबड मच्चाउने, बन्द गराउने र आमसभाहरू बिथोल्ने काममा वैद्य समूह अगाडि बढिसकेको छ। चारै राजनीतिक दलका प्रमुख नेताहरूभन्दा अहिलेसम्म उनीहरूको मुख्य तारो आफ्ना पुराना अध्यक्ष कमरेड पुष्पकमल दाहाल 'प्रचण्ड' रहेको देखिएको छ। दाहाल सरिक हुने भनिएको सिराहाको आमसभास्थलमा सकेट बम फेला परेको र सेनाको बम स्क्वाडले सो बमलाई निस्त्रि्कय पारेको थियो। हुनत, नेकपा (एमाले)का नेता विष्णु पौडेल तथा शंकर पोखरेल चढेका गाडीमा पनि माओवादीका कार्यकर्ताले आक्रमण गरेका छन्। ताप्लेजुङमा एक उम्मेदवारसमेत घाइते हुनेगरी माओवादी र लिम्बुवानका कार्यकर्ताले आक्रमण गरेका छन्। तर यस्ता आक्रमणले के चुनाव बिथोलिएला त?
वैद्य माओवादीले विभिन्न ठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेको कारण देखाइ अध्यक्ष दाहालले हेलिकप्टर चढ्न पाउने गरी निर्वाचन आयोगको आचार संहितामा समेत परिवर्तन गराइसके। भर्खरै नेपाल सरकारका गृहमन्त्रीले माओवादीहरू राजनीतिक दल होइनन् भनेर भाषणसमेत गरिसकेका छन्। यसरी गृहमन्त्रीले राजनीतिक दल होईनन् भन्नुको अर्थ उनीहरूले यस्तै क्रियाकलाप जारी राखे बलसमेत प्रयोग हुने संकेत पनि हो।
एकातिर वैद्य माओवादीले आक्रमणको सिलसिला बढाएर जाने सोच राखेको देखिएको छ भने अर्कोतिर उसलाई राजनीतिक धारबाट अलग्याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयास पनि बढेर गएको छ। माओवादीले सुरु गरेको निर्वाचन बिथोल्ने र प्रमुख नेतालाई अवरोध गर्ने अभ्यास बढेर गयो भने उनीहरूलाई भूमिगत राजनीति गर्नुपर्ने बाध्यता पनि बढेर जानेछ। विसं २०५२ सालमा भूमिगत राजनीति गर्न माओवादीलाई सजिलो थियो तर अहिले त्यसो नहुन सक्छ। त्यसबेला भारतको राजतन्त्रप्रतिको नकारात्मक धारणाले पनि माओवादीलाई सघाएको हुन सक्छ। तर अहिले अवस्था समान छैन। भारतमै गिरफ्तार भएर लामो समय जेलमा बिताएका कमरेड किरण भारतप्रति धेरै आशावान पक्कै नहोलान्। उत्तरी छिमेकी चीनले पनि नेपालमा स्थिरता र स्थायित्वका लागि बोली प्रखर गर्दै गइरहेको वर्तमान अवस्थामा वैद्यका अनुयायीलाई भूमिगत हुने उपाय अफाप साबित हुन पनि सक्छ।
भूमिगत हुन र राजनीतिक आन्दोलन पनि सँगसँगै लैजान प्रशस्त आर्थिक स्रोतको जरुरत हुन्छ। वैद्यलाई माऊ दलबाट छुट्टिन जुन प्रकारको आर्थिक सहयोग प्राप्त भएको अनुमान गरिएको थियो सो सहयोग अहिले प्राप्त नभएको आंकलन गरिँदै छ। त्यो सहयोग माओवादीलाई कमजोर बनाउनका लागि परिचालित भएको हो भने उस्को उद्देश्य पूरा भएपछि पुनः आउने प्रयोजन पनि रहेन। जातीय र धार्मिक मुद्दा उठाउन चाहने युरोपेली देशहरूले पनि आफ्नो सहयोग वैद्य माओवादीमार्फत् परिचालन गर्ने संभावना न्यून देखिन्छ। नेपालका व्यापारी र अन्य संस्थाबाट पनि वैद्यले पहिलेजस्तो सहयोग पाउने संभावना कम भएर गएको छ। यस्तो अवस्थामा गैरकानुनी हतियार बनाउने र तिनको दलाली गर्ने समूहहरूले मात्र वैद्य माओवादीलाई सशस्त्र विद्रोह गर्न उकास्ने र सहयोग उपलब्ध गराउने सम्भावना बाँकी रहन्छ। वैद्यले गल्ती गरेर पनि त्यस्ता समूहको सहयोग लिने निर्णय गरे भने देशको लागि ठूलो गद्दारी ठहरिनेछ। किनभने त्यस्ता समूह देशलाई गृहयुद्धको भुमरीमा ठेलेर आफ्नो हतियारका लागि अनन्तसम्म बजार बनाउने खेलमा लाग्ने गर्छन्।
कमरेड एमबीलाई पुरानो कमरेड एमबीको बाटो पछ्याउन मन छैन भने सबैभन्दा पहिले जडसूत्रवादी सोच कम गर्नुपर्ने अवस्था छ। जनवादी क्रान्ति र साम्यवाद इतिहासको पानामा सीमित भइसकेको अहिलेको विश्वमा जनताको विश्वास नजिती हतियारले सबैलाई तह लगाउन खोज्नु विश्व परिस्थिति र क्षेत्रीय अवस्थालाई बेवास्ता गर्नु हो। जनताले समर्थन गर्छन् भन्ने विश्वास छ भने शान्तिपूर्ण रूपमा जनसमर्थन लिएर देखाउन सक्नुपर्छ। वैद्यलाई जनताको समर्थन लिन कुनै सरकारी नीति, नियम र संवैधानिक अड्चन छैन। यसैले उनले हतियारको बाटो समात्नु आफँैमा तर्कसंगत र न्यायोचित देखिन्न। कतै उनको दल भित्रका शक्तिहरू उनलाई पुनः सेक्टर काण्डका दोषी नायक प्रमाणित गर्ने तरखरमा त छैनन्?
- See more at: http://www.nagariknews.com/opinion/story/9164#sthash.eN6BXM5w.dpuf

किन दिने भोट?

 0  7 Google +1  0  0
(0 votes)
मेरा एक निकटका मित्रले हालसालै मलाई प्रश्न गरे, 'किन दिने मत? कसलाई दिने? मलाई के फाइदा हुन्छ?' उनको विचारमा त्यस्तो व्यक्तिलाई मत दिनुपर्छ जसलाई परेको समयमा फोन गर्न सकियोस्, परेको बेला उसले सरकारी वा सामुदायिक काम गराउन सहयोग गरोस् र जसले आइपर्दा कुनै आर्थिक लाभ पनि दिलाओस्।

धेरै पाठक मेरा मित्रको विचारसँग सहमत हुन सक्छन्। सबैलाई कानुनी राज्य चाहिएको छ, देशको विकास चाहिएको छ, नेपाललाई स्विट्जरल्यान्ड वा जापान बनाउनु परेको छ। तर, देश चलाउने जिम्मा चाहिँ देशका लागि काम गर्ने नभई आफ्नो काम गरिदिने मान्छेलाई दिने विचार छ। उसले तपाईंको काम नियमविपरीत गएर पनि गरिदेओस् भन्ने चाहनुहुन्छ, कुनै ठाउँको जागिर वा ठेक्का नियमविपरीत गएर कुनै प्रतिस्पर्धा बिना तपाईँलाई दिलाओस् भन्ने चाहनुहुन्छ भने देश बिग्रनुमा त्यस नेताको दोष हुँदैन, त्यसलाई भोट हाल्ने सम्पूर्ण जनताको दोष हुन्छ। तपाईंलाई नियमविपरीत सहयोग गर्नेले आफूले पनि नियम मिचेर जनताले कर तिरेको पैसा सिंगापुर वा स्विट्जरल्यान्डको बैंक खातामा राख्छ। त्यसैले आफूलाई व्यक्तिगत फाइदा दिने होइन समस्तमा देशको हित गर्ने नेता चाहिन्छ भन्ने नेपाली मतदाताले बुझ्नुपर्ने बेला आएको छ।
देशको हितगर्ने भनेको देश विकास गर्ने हो? यसो हेर्दा हो जस्तो पनि लाग्छ। त्यसो भए के देश विकासनिर्माण गर्ने व्यक्तिलाई दिने हो त मत? वास्तवमा जनताको अधिकार भनेको विकासमात्र त होइन। विकास एउटा जरुरी आवश्यकता हो तर सम्पूर्ण होइन। विकास र लोकतन्त्र एकै पाटाका दुई सिक्का होइनन्। विकास हुँदैमा लोकतन्त्र प्राप्त हुने होइन बरू लोकतन्त्र प्राप्त भएको खण्डमा चाहिँ विकास हुनसक्छ।
विकास र लोकतन्त्रका विषयमा केही महिनाअघि म्यानमारको राजधानी यांगुन भ्रमणका बेला नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यसँग कुराकानी भयो। उनले भने देशमा त्यस्तो शक्तिले राज्य गर्नुपर्छ जसले देश विकास गरोस्। अहिलेसम्म नेपाल अविकसित देश रहेकोमा उनको गुनासो थियो। तर मेरो तर्क थियो विकास र जनताका अधिकारका कुरा एउटै होइनन्। कुनै विकसित देशमा तानाशाही छ भने सरकारको विरोध गर्ने वा सरकारले मन नपराएको व्यक्ति, परिवार वा समूह सधैं अन्याय सहेर बाँच्न विवश हुन्छ। जनताको अधिकार सुरक्षित नभएको देशमा कुनै शासक वा उसको सानोभन्दा सानो प्यादा पनि कसैका विरुद्ध खनिए भने त्यस व्यक्तिको उठिवास हुन्छ, ज्यानै पनि जान सक्छ तर गुनासो सुन्ने कुनै निकाय देशमा हुँदैन। आफैँलाई साँच्चै अन्याय हुँदा देश विकासको गति र कुल गार्हस्थ उत्पादनले केही सहयोग गर्दैन।
सबै व्यक्तिले बाँच्न पाउने अधिकार, सम्पत्तिको अधिकार, सामूहिकरूपमा आफ्नो हित हेर्ने अधिकार, बोल्न र विचार व्यक्त गर्न पाउने अधिकार पाउनु पर्छ। यी अधिकारमा सबैको पहुँच भयो भने बल्ल कानुनी शासन हुन्छ। कानुनी शासनले विकासको बाटो खोल्छ तर विकासले कानुनी शासनको आधार बनाउँदैन। त्यसैले जनताले आफ्नो व्यक्तिगत हित गर्ने सरकार खोज्न नहुनेमात्र होइन विकासमात्र गर्ने सरकार पनि रोज्नु हुँदैन। ठूलो बाटो, राम्रा विद्यालय र ठूला अस्पताल बनाएर जनताको हक खोस्ने अधिकार कसैलाई दिनु हुँदैन।
प्रख्यात राजनीतिशास्त्री सिमोर मार्टिन लिपसेट भन्छन् – देशको शासन गर्ने स्रोत र कारकलाई सधँै छुट्याउनु पर्छ। उनको भनाइअनुसार अधिनायकवादी सोचका व्यक्तिहरू सत्तामा पुगेपछि आफूलाई स्रोत र कारक दुवै ठान्छन् र स्वेच्छाचारी बन्न पुग्छन्। यहाँ स्रोत भनेको जनताको संविधान हो भने कारक भनेको सो संविधानको बाटो भएर सत्तामा पुग्ने सबैभन्दा उपल्लो तहको व्यक्ति, अर्थात् राष्ट्रपति वा प्रधानमन्त्री हुन्। लिपसेटको लामो अध्ययनले के देखाएको छ भने आवधिक निर्वाचन हुँदैमा सबै शासक लोकतान्त्रिक व्यवस्था सुदृढ गर्न चाहने विचारका हुँदैनन्।  संविधान र कानुनभन्दा माथि शासक बसेर शासन चलाउने कार्यलाई कानुनी होइन कानुनको शासन भनिन्छ। अर्थात् यस्ता शासकहरू आफूलाई सजिलो हुने प्रकारले कानुन निर्माण गरेर शासन चलाउँछन्। यस विषयमा सिंगापुरका ली क्वान युको भनाइ सान्दर्भिक हुन्छ। उनले एकपल्ट भनेका थिए रे – 'मेरा नजिकका मान्छेहरूले आफूले जे चाह्यो त्यो काम गर्न पाइहाल्छन् र अन्य सबैका लागि देशको कानुन छँदैछ।' अर्थात् जस्तोसुकै विकसित देश भए पनि अलोकतान्त्रिक व्यवस्थामा शासकहरू आफू र आफ्ना मान्छेलाई कानुनभन्दा उपल्लो स्थानमा राख्न चाहन्छन्। यस्तो व्यवस्थाका एक दुई ली क्वान युहरूले देश बनाएका छन् र लोकतन्त्र नभए पनि जनता सुखी हुन्छन् भन्ने भ्रम पनि दिएका छन् तर एसिया र अफ्रिकाका दर्जनौं तानाशाहहरू आफू अर्बपति बनेका छन् तर जनताका लागिभने दुई छाक खानभन्दा एके ४७ राईफलका गोली सस्ता भएका छन्।
नेपाली जनताभने सिंगापुर बनिन्छ भन्ने भ्रममा जिम्बाबे बन्ने बाटोमा अघि लागेको देखिन्छ। जिम्बाबेका ८६ वर्षीय शासक रोर्बट मुगाबेले गोराहरूविरुद्ध आन्दोलन गरेर शासन हत्याए। अहिले उनले चुनावै जितेर शासन गरेको ३३ वर्ष भइसकेको छ। उनले निर्वाचनमा धाँधली गरेर आफ्ना विरोधीलाई पाखा लगाएका छन् र उनको शासनको विरोध गर्ने विपक्षी दलका नेता मोर्गन सांगभिराईलाई एकपल्ट पुलिस लगाएर मर्नेगरी पिटाए। तर गत निर्वाचनमा विपक्षीले राम्रो मत प्राप्त गरेको हुनाले तिनै सांगभिराईसँग शासनमा साझेदारी पनि गरे। भर्खरै सम्पन्न निर्वाचनमा उनले फेरि ठूलो धाँधली गरेर विपक्षीलाई पाखा लगाएको आरोप छ। यस उदाहरणको अर्थ के हो भने आवधिक निर्वाचन लोकतन्त्रको एक प्रमुख आधार हो तर सम्पूर्ण चाहिँ होइन र तानाशाहहरुले आवधिक निर्वाचनलाई प्रयोग गरेरै एकतन्त्र चलाइरहेका छन्। नेपालमा पनि त्यसको खतरा टड्कारो देखिएको छ।
यस अवस्थामा, माथि उल्लेख गरिएका मेरा मित्र र तिनकै जस्तो विचार राख्ने मतदाताका हकमा के भन्न सकिन्छ भने नेपाली जनतालाई कस्तो उमेदवारलाई मत दिने भन्ने सही ज्ञान छैन। किनभने नेपाली जनताले कहिल्यै कानुनी राज्यको अनुभवै गर्न पाएका छैनन्। विगतमा लोकतान्त्रिक भनिएको राजनीतिक दलले पनि जनताको अधिकारको सुरक्षा गर्न सकेन। अविकसित देशहरूको शासन पद्धति नै त्यस्तो छ। कुनैपनि सरकारी काम गर्नुपर्‍यो भने आफ्नो परिचित व्यक्ति हुनुपर्छ। तर त्यस्तो व्यवस्था लोकतान्त्रिक शासन प्रणाली होइन। आफूलाई लोकतान्त्रिक भन्ने दलहरूले व्यक्ति अनुसार केही दिने आश्वासन हैन त्यस्तो अवस्थ्ााको अन्त्य गर्ने प्रण गर्नुपर्छ।
निर्वाचनको तिथि आउन अब करिब १ महिनामात्र बाँकी छ। निर्वाचन हुँदैन कि भन्ने शंका क्रमशः क्षिण भएर जाँदैछन्। निर्वाचनमा हिंसा हुन्छ भन्ने डर पनि कम हुँदैछ। निर्वाचन भाँड्छु भन्ने दल पनि हिंसात्मकरूपमा निर्वाचन बिथोल्ने कार्य गरेमा आफ्नो दल राजनीतिक नभई आपराधिक समूह बन्न जानेप्रति सचेत भएको देखिएको छ। आफ्नो नाममा अरू कसैले मत खसाली हाल्छन् के जानु भोट दिन भन्नेले पनि अब त्यस्तो शंका गर्नु नपर्ने हुन लागेको छ। निर्वाचन आयोगले मतदाता परिचय पत्र वितरण गर्ने सुरसार गर्दैछ। कुनै कारणले मतदाता परिचय पत्र जारी हुन सकेन नै भने भने मत दिनका लागि नागरिकता देखाउन अनिवार्य गराउनु पर्दछ। मतदाता परिचयपत्र जारी नै हुँदा पनि कतिपय मतदाताले सो परिचयपत्र अन्तिम दिनसम्म नपाउन सक्छन्। विपक्षीलाई मतदान गर्न सक्ने शंका भएका पूरै टोल, गाउँ वा परिवारको परिचयपत्र लुकाइदिने वा नष्ट गरिदिने बदमासी हुनसक्ने कारणले नागरिकता प्रमाणपत्रलाई पनि आवश्यकताअनुसार मतदाता परिचयपत्र सरहकै मान्यता दिनु व्यावहारिक र विधिसम्मत हुनेछ। अर्थात्, मतदाता परिचय पत्रलाई प्रमुख र नागरिकतालाई दोस्रो परिचय पत्रको मान्यता दिएर मतदान गर्नसक्ने व्यवस्था गरिनुपर्छ। 
प्राविधिक तयारी पूर्ण हुँदैमा निर्वाचन स्वच्छ र निष्पक्ष हुँदैन। अझ, कस्तो प्रकारको संविधान सभा बन्छ र त्यसले कस्तो शासन प्रणालीको विकास गर्छ भन्ने महत्वपूर्ण विषय हो। नेपाली मतदाता संविधान सभा वा व्यवस्थापिका कस्तो बन्छ भन्ने विषयमा त्यति सचेत देखिँदैनन्। यस निर्वाचनले कस्तो प्रकारको संविधान सभा निर्माण गर्छ भन्ने अहिले सबैभन्दा प्रमुख प्रश्न बनेको  छ। मैले के पाउँछु वा देशको विकास हुन्छ कि हुन्न भन्नुभन्दा कसले जनताको अधिकारको सुरक्षा गर्ने व्यवस्था बनाउन सहयोग गर्छ भन्ने विषयमा मतदाता सचेत हुनुपर्छ।
- See more at: http://www.nagariknews.com/opinion/story/8891#sthash.4WkgYTvT.dpuf

मतदाताको यक्ष प्रश्न

 162  44 Google +0  0  2
(0 votes)
सबै निर्वाचन क्षेत्रमा को को उमेदवार हुने भन्ने ठेगान लागिसक्यो। नेताहरूको घरदैलो कार्यक्रम सुरु हुने बेला भयो। कोही न कोही आउला तपाईंकोमा पनि मत माग्न। 'मलाई मत दिनुभयो भने फलानो, ढिस्कानो काम गर्छु, तपाईंलाई जागिर लगाइदिन्छु, ठेक्कापट्टा दिलाइदिन्छु, पानी–बत्ती पुर्‍याइदिन्छु'जस्ता अनेकौं वाचा पनि गर्लान्। अझ कतिले त पैसाकै लोभ पनि देखाउलान्। तपाईं के गर्नुहुन्छ, यस्ता नेता अगाडि परे भने?

अधिकांश नेपालीलाई नेताहरू बोलेको पूरा गर्दैनन् भन्ने थाहा छ। तैपनि, सबैजना सधैंजसो निर्वाचनका बेला सिधै नेतालाई प्रश्न गर्न सत्तै्कनौं। आफ्नो प्रभाव जमाउन कोठेगफ र चियापसलको भेलामा भने धेरैले भन्ने गर्छन्– अहिलेसम्म कसैले केही गरेन, त्यसैले यसपल्ट भोटै दिइन्न वा यसपल्ट दिनैपरे नयाँ दललाई दिइन्छ, त्यसले त केही गर्ला कि नेपालीका लागि। अथवा कोही भन्छन्– युवालाई जिताउनुपर्छ, युवा नै हुन् भविष्यका आशापुञ्ज। कसैले एउटा दललाई भोट हाल्नुपर्छ भन्लान्, कसैले अर्कैलाई।
नेताहरूले जनताको चाहनाअनुरुप कहिल्यै, केही गर्न नसकेका हुनाले नै नेपालमा सधैँ शासन व्यवस्था परिवर्तन भइरहन्छ, तर जनताको भाग्य बदलिँदैन। यसको मुख्य कारण के हो भने हामीले सच्चा नेतृत्व पाएनौं। विसं २००७ सालमा राणालाई त फाल्यौं, तर राणाशासनको मूल जग अर्थात् तानाशाही, चाकरी, चाप्लुसी र षड्यन्त्रको राजनीतिलाई परिवर्तन गर्न सकेनौं। विसं २०१५ सालदेखि २०१७ सालसम्म विश्वेश्वरप्रसाद कोइरालाले लोकतान्त्रिक शासन स्थापित गर्ने कोसिस नगरेका होइनन्, गरिब जनता र भूमिहीनहरूका पक्षमा आवाज मुखर नगरेका पनि होइनन् तर उनले मौकै पाएनन्। पञ्चायतले केही मान्छेलाई बनायो, तर देश बनाएन। तथापि, पञ्चायतकालमा निरंकुश राजाहरूले विश्व रंगमंचमा आफूलाई उदार देखाउन केही सुधार गरिटोपले। शाह राजाका पालामा भएका सुधार प्रत्यक्ष रूपमा उल्लेख्य देखिए पनि त्यही बेलाका हामीजस्तै अरु देशले गरेको प्रगतिको सापेक्षमा गौण नै हो। विसं २०४६ पछिको राजनीति पनि जनताका लागि भएन। एउटा प्रजातान्त्रिक दलको पनि संस्थापन र असन्तुष्ट पक्षको लडाइँमै सकियो। बाँकी समय संक्रमण र राजनीतिक खिचातानीले बित्यो। जतिले सके, सबैले आफ्नो दुनो सोझ्याए, तर गरिब जनताका लागि केही भएन। विसं २०६३ पछिको राजनीति त झनै शक्तिशालीका लागि मात्र भयो, जनता झन्झन् पछि पारिँदै गए।
यसरी लगातार जनता पछि पर्दै जानु र राजनीतिमा लागेकाहरू क्रमशः मोटाउँदै जानुले राजनीतिलाई सबैभन्दा फाइदाजनक व्यापारका रूपमा स्थापित गरिदियो। अहिलेको अवस्थामा व्यापारीहरूसमेत आफैं राजनीतिमा आउँदा धेरै फाइदा देख्न थाले। यो सबैको एउटै कारण छ, मतदाताहरूले उमेदवारसँग सोध्ने प्रश्न सही भएन। हामीले नेता वा उमेदवारलाई सधैं तिमीले के गर्‍यौ वा जनताका लागि के के गर्नेछौ भनेर सोध्याँै, तर तिमी आफू र परिवार बाँच्नका लागि के गरिआएका छौ र भोलि कसरी समाजमा बाँच्ने चाहना बोकेका छौ भन्ने प्रश्न गरेनांै।
नेपालमा ठूला नेता हुन् वा कनिष्ठ कार्यकर्ता, सबैजना सधैंजसो मूल्यको राजनीति गरेको ढ्वाङ पिट्छन्। उनीहरूको थेगो नै भइसकेको छ– 'राजनीति भनेको त्याग हो, तपस्या हो र जनताको सेवाका लागि समर्पण हो।' तर जनताका लागि त्याग भोको पेटले हुन्छ र? नांगो आङले हुन्छ? कसले गर्छ आफू भोकै बसेर जनताको सेवा? जनताले बुझ्नुपर्ने के हो भने जुन राजनीतिक नेताले त्याग र समर्पणका नाममा आफू कुनै पनि पेसा गर्दैन वा जसको घरपरिवार पाल्नका लागि कुनै आयस्रोत छैन, त्यस्ता सबै नेता ढोंगी हुन्, देशका जुका हुन्, जनताका सेवक होइनन्।
यसपटक संविधानसभा निर्वाचनमा मत माग्न आउने नेता हुन् वा कार्यकर्ता, सबैलाई एउटामात्र प्रश्न– तपाईं अहिलेसम्म के गरेर जीविका गर्दै हुनुहुन्छ? अहिलेसम्म आफैंले कुनै जागिर, पेसा, उद्यम गरेर जीवनयापन गरिरहेका व्यक्ति हुन् भने तिनलाई हाम्रो साझा सम्पत्ति अर्थात् देशकोे ढुकुटी जिम्मा लगाउन सकिन्छ। होइन भने कसरी विश्वास गर्ने? जनताको नाममा सधैं केही काम नगरी षड्यन्त्र र छलछाम गरेर बसेका व्यक्तिलाई अझ धेरै कमाउने र अझ बढी राजनीतिक अपराध गर्ने मौकामात्र प्रदान गर्ने?
नेपालका अधिकांश नेताको न त पर्याप्त पारिवारिक सम्पत्ति छ, न कुनै बन्दव्यापार छ, न कुनै सेवा उद्योग छ, न त आम्दानीको अरू कुनै स्रोत नै। तर, उनीहरू नै ठूला घरमा बस्छन्, महँगा मोटर चढ्छन् अनि एउटा रिसोर्टबाट अर्को रिसोर्टमा दौडँदै राजनीतिका ठूला गफ हाँक्छन्। कसरी प्राप्त गरे तिनले त्यत्रो खर्च गर्ने क्षमता? तपाईंको प्रश्न भुइँमा झर्न नपाउँदै तुरुन्तै उत्तर आउँछ– 'जनताले दिएको चन्दा र लेबीको पैसाले।' बाटोमा भोको पेट र नांगो बच्चा लिएर विलौना गर्दै बसेकी महिलालाई एक रुपैयाँको ढ्याक फुत्त फ्याँक्न नसक्ने जनताले तिनलाई त्यस्तो सान र इज्जतसाथ बस्न पुग्ने पैसा त्यसै दिए होलान् र? पक्कै दिएनन्। तिनले खोसेरचाहिँ लिए होलान्। त्यसै दिएको हो भने किन कुनै पनि राजनीतिक दलको हिसाबकिताब पारदर्शी छैन त?
वास्तवमा नेपालका राजनीतिक दलका नेताहरू जनताका सेवक नभएर मालिकका रूपमा निरन्तर विकसित हुँदै गएका छन्। यस प्रक्रियालाई रोक्न निर्वाचनै सबैभन्दा अचुक अस्त्र हो। यही अवसर हो, जनताले राजनीतिक नेताको भेषमा लुकेका मालिक प्रवृत्तिका गुन्डा, लुटेरा, दलाललाई 'बेनकाव' पार्ने। कसैले, कुनै पेसा गरेको छ वा बन्दव्यापारमा छ भन्दैमा त्यो व्यक्ति पनि मत प्राप्त गर्ने योग्य व्यक्ति भने नहुन सक्छ। कुनै व्यक्तिले अहिलेसम्म बन्दव्यापार गरेर पैसा कमाएको छ भने उसले सरकारलाई कति राजस्व तिर्‍यो? कतिजनालाई रोजगारी दियो र अहिलेसम्म उसको व्यापारिक साख कस्तो छ भन्नेमा पनि मतदाताले ध्यान दिनु जरुरी हुन्छ। पुराना बद्मास व्यापारी, तस्कर, गुन्डालाई पुरानो सम्पत्ति भएकै भरमा आफ्नो प्रतिनिधि बनाउँदा झन् ठूलो भँड्खालोमा पर्ने जोखिम हुन्छ। अरूले लाख खाँदा ऊ जनताको अर्ब सिध्याउने खालको हुनसक्छ।
त्यसैले जनताले मत माग्न आउनेलाई सोध्न एउटा प्रश्न तयार गरेर राखे हुन्छ– अहिलेसम्म कसरी बाँच्नुभयो र भोलि के गर्नुहुन्छ? यो प्रश्न उमेदवारलाई मात्र होइन, राजनीतिमा लागेका सबैका लागि साझा हो।
तर मतदातामात्रै प्रश्नबाट उम्कन चाहिँ पाउँदैनन्। मतदाताले पनि केही प्रश्नको उत्तर दिनैपर्ने हुन्छ। के तपाईं कुनै त्यस्तो व्यक्तिलाई मतदान गर्नुहुन्छ जसले तपाईं वा तपाईंका नातेदार, इष्टमित्रलाई जागिर लगाइदिने वाचा गर्दैन? तपाईंलाई भट्टीमा लगेर जाँड नखुवाउने, काठमाडौं आउँदा बसको टिकट नकिनिदिने, नियमविपरीत काम गर्न तपाईंलाई सहयोग नगर्ने उमेदवारलाई भोट दिने कि नदिने?
जबसम्म जनताले नेताको सही काम के हो भनेर बुझ्दैनन्, नेताहरूले पनि जनताका लागि सही काम गर्दैनन्। नेताको काम बहुजन हिताय, बहुजन सुखाय हो। जनताले सानाभन्दा साना कामका लागि नेताबाट फाइदा खोज्न थालेपछि नेताहरू पनि धेरैको हित र सुखको काममा लाग्दैनन्। यसैगरी जाने हो भने देशको भविष्य अझ ओर्लेला, उँभो पक्कै लाग्दैन। जनताले पनि आफ्नो स्वार्थका लागि भोट नदिऊँ, धेरैको हित गर्नसक्ने र देशलाई अघि लगाउने उम्मेदवारलाई चिनौं र चुनौं।
- See more at: http://www.nagariknews.com/opinion/story/8354#sthash.EbFoDlqH.dpuf