Saturday, October 26, 2013

मतदाताको यक्ष प्रश्न

 162  44 Google +0  0  2
(0 votes)
सबै निर्वाचन क्षेत्रमा को को उमेदवार हुने भन्ने ठेगान लागिसक्यो। नेताहरूको घरदैलो कार्यक्रम सुरु हुने बेला भयो। कोही न कोही आउला तपाईंकोमा पनि मत माग्न। 'मलाई मत दिनुभयो भने फलानो, ढिस्कानो काम गर्छु, तपाईंलाई जागिर लगाइदिन्छु, ठेक्कापट्टा दिलाइदिन्छु, पानी–बत्ती पुर्‍याइदिन्छु'जस्ता अनेकौं वाचा पनि गर्लान्। अझ कतिले त पैसाकै लोभ पनि देखाउलान्। तपाईं के गर्नुहुन्छ, यस्ता नेता अगाडि परे भने?

अधिकांश नेपालीलाई नेताहरू बोलेको पूरा गर्दैनन् भन्ने थाहा छ। तैपनि, सबैजना सधैंजसो निर्वाचनका बेला सिधै नेतालाई प्रश्न गर्न सत्तै्कनौं। आफ्नो प्रभाव जमाउन कोठेगफ र चियापसलको भेलामा भने धेरैले भन्ने गर्छन्– अहिलेसम्म कसैले केही गरेन, त्यसैले यसपल्ट भोटै दिइन्न वा यसपल्ट दिनैपरे नयाँ दललाई दिइन्छ, त्यसले त केही गर्ला कि नेपालीका लागि। अथवा कोही भन्छन्– युवालाई जिताउनुपर्छ, युवा नै हुन् भविष्यका आशापुञ्ज। कसैले एउटा दललाई भोट हाल्नुपर्छ भन्लान्, कसैले अर्कैलाई।
नेताहरूले जनताको चाहनाअनुरुप कहिल्यै, केही गर्न नसकेका हुनाले नै नेपालमा सधैँ शासन व्यवस्था परिवर्तन भइरहन्छ, तर जनताको भाग्य बदलिँदैन। यसको मुख्य कारण के हो भने हामीले सच्चा नेतृत्व पाएनौं। विसं २००७ सालमा राणालाई त फाल्यौं, तर राणाशासनको मूल जग अर्थात् तानाशाही, चाकरी, चाप्लुसी र षड्यन्त्रको राजनीतिलाई परिवर्तन गर्न सकेनौं। विसं २०१५ सालदेखि २०१७ सालसम्म विश्वेश्वरप्रसाद कोइरालाले लोकतान्त्रिक शासन स्थापित गर्ने कोसिस नगरेका होइनन्, गरिब जनता र भूमिहीनहरूका पक्षमा आवाज मुखर नगरेका पनि होइनन् तर उनले मौकै पाएनन्। पञ्चायतले केही मान्छेलाई बनायो, तर देश बनाएन। तथापि, पञ्चायतकालमा निरंकुश राजाहरूले विश्व रंगमंचमा आफूलाई उदार देखाउन केही सुधार गरिटोपले। शाह राजाका पालामा भएका सुधार प्रत्यक्ष रूपमा उल्लेख्य देखिए पनि त्यही बेलाका हामीजस्तै अरु देशले गरेको प्रगतिको सापेक्षमा गौण नै हो। विसं २०४६ पछिको राजनीति पनि जनताका लागि भएन। एउटा प्रजातान्त्रिक दलको पनि संस्थापन र असन्तुष्ट पक्षको लडाइँमै सकियो। बाँकी समय संक्रमण र राजनीतिक खिचातानीले बित्यो। जतिले सके, सबैले आफ्नो दुनो सोझ्याए, तर गरिब जनताका लागि केही भएन। विसं २०६३ पछिको राजनीति त झनै शक्तिशालीका लागि मात्र भयो, जनता झन्झन् पछि पारिँदै गए।
यसरी लगातार जनता पछि पर्दै जानु र राजनीतिमा लागेकाहरू क्रमशः मोटाउँदै जानुले राजनीतिलाई सबैभन्दा फाइदाजनक व्यापारका रूपमा स्थापित गरिदियो। अहिलेको अवस्थामा व्यापारीहरूसमेत आफैं राजनीतिमा आउँदा धेरै फाइदा देख्न थाले। यो सबैको एउटै कारण छ, मतदाताहरूले उमेदवारसँग सोध्ने प्रश्न सही भएन। हामीले नेता वा उमेदवारलाई सधैं तिमीले के गर्‍यौ वा जनताका लागि के के गर्नेछौ भनेर सोध्याँै, तर तिमी आफू र परिवार बाँच्नका लागि के गरिआएका छौ र भोलि कसरी समाजमा बाँच्ने चाहना बोकेका छौ भन्ने प्रश्न गरेनांै।
नेपालमा ठूला नेता हुन् वा कनिष्ठ कार्यकर्ता, सबैजना सधैंजसो मूल्यको राजनीति गरेको ढ्वाङ पिट्छन्। उनीहरूको थेगो नै भइसकेको छ– 'राजनीति भनेको त्याग हो, तपस्या हो र जनताको सेवाका लागि समर्पण हो।' तर जनताका लागि त्याग भोको पेटले हुन्छ र? नांगो आङले हुन्छ? कसले गर्छ आफू भोकै बसेर जनताको सेवा? जनताले बुझ्नुपर्ने के हो भने जुन राजनीतिक नेताले त्याग र समर्पणका नाममा आफू कुनै पनि पेसा गर्दैन वा जसको घरपरिवार पाल्नका लागि कुनै आयस्रोत छैन, त्यस्ता सबै नेता ढोंगी हुन्, देशका जुका हुन्, जनताका सेवक होइनन्।
यसपटक संविधानसभा निर्वाचनमा मत माग्न आउने नेता हुन् वा कार्यकर्ता, सबैलाई एउटामात्र प्रश्न– तपाईं अहिलेसम्म के गरेर जीविका गर्दै हुनुहुन्छ? अहिलेसम्म आफैंले कुनै जागिर, पेसा, उद्यम गरेर जीवनयापन गरिरहेका व्यक्ति हुन् भने तिनलाई हाम्रो साझा सम्पत्ति अर्थात् देशकोे ढुकुटी जिम्मा लगाउन सकिन्छ। होइन भने कसरी विश्वास गर्ने? जनताको नाममा सधैं केही काम नगरी षड्यन्त्र र छलछाम गरेर बसेका व्यक्तिलाई अझ धेरै कमाउने र अझ बढी राजनीतिक अपराध गर्ने मौकामात्र प्रदान गर्ने?
नेपालका अधिकांश नेताको न त पर्याप्त पारिवारिक सम्पत्ति छ, न कुनै बन्दव्यापार छ, न कुनै सेवा उद्योग छ, न त आम्दानीको अरू कुनै स्रोत नै। तर, उनीहरू नै ठूला घरमा बस्छन्, महँगा मोटर चढ्छन् अनि एउटा रिसोर्टबाट अर्को रिसोर्टमा दौडँदै राजनीतिका ठूला गफ हाँक्छन्। कसरी प्राप्त गरे तिनले त्यत्रो खर्च गर्ने क्षमता? तपाईंको प्रश्न भुइँमा झर्न नपाउँदै तुरुन्तै उत्तर आउँछ– 'जनताले दिएको चन्दा र लेबीको पैसाले।' बाटोमा भोको पेट र नांगो बच्चा लिएर विलौना गर्दै बसेकी महिलालाई एक रुपैयाँको ढ्याक फुत्त फ्याँक्न नसक्ने जनताले तिनलाई त्यस्तो सान र इज्जतसाथ बस्न पुग्ने पैसा त्यसै दिए होलान् र? पक्कै दिएनन्। तिनले खोसेरचाहिँ लिए होलान्। त्यसै दिएको हो भने किन कुनै पनि राजनीतिक दलको हिसाबकिताब पारदर्शी छैन त?
वास्तवमा नेपालका राजनीतिक दलका नेताहरू जनताका सेवक नभएर मालिकका रूपमा निरन्तर विकसित हुँदै गएका छन्। यस प्रक्रियालाई रोक्न निर्वाचनै सबैभन्दा अचुक अस्त्र हो। यही अवसर हो, जनताले राजनीतिक नेताको भेषमा लुकेका मालिक प्रवृत्तिका गुन्डा, लुटेरा, दलाललाई 'बेनकाव' पार्ने। कसैले, कुनै पेसा गरेको छ वा बन्दव्यापारमा छ भन्दैमा त्यो व्यक्ति पनि मत प्राप्त गर्ने योग्य व्यक्ति भने नहुन सक्छ। कुनै व्यक्तिले अहिलेसम्म बन्दव्यापार गरेर पैसा कमाएको छ भने उसले सरकारलाई कति राजस्व तिर्‍यो? कतिजनालाई रोजगारी दियो र अहिलेसम्म उसको व्यापारिक साख कस्तो छ भन्नेमा पनि मतदाताले ध्यान दिनु जरुरी हुन्छ। पुराना बद्मास व्यापारी, तस्कर, गुन्डालाई पुरानो सम्पत्ति भएकै भरमा आफ्नो प्रतिनिधि बनाउँदा झन् ठूलो भँड्खालोमा पर्ने जोखिम हुन्छ। अरूले लाख खाँदा ऊ जनताको अर्ब सिध्याउने खालको हुनसक्छ।
त्यसैले जनताले मत माग्न आउनेलाई सोध्न एउटा प्रश्न तयार गरेर राखे हुन्छ– अहिलेसम्म कसरी बाँच्नुभयो र भोलि के गर्नुहुन्छ? यो प्रश्न उमेदवारलाई मात्र होइन, राजनीतिमा लागेका सबैका लागि साझा हो।
तर मतदातामात्रै प्रश्नबाट उम्कन चाहिँ पाउँदैनन्। मतदाताले पनि केही प्रश्नको उत्तर दिनैपर्ने हुन्छ। के तपाईं कुनै त्यस्तो व्यक्तिलाई मतदान गर्नुहुन्छ जसले तपाईं वा तपाईंका नातेदार, इष्टमित्रलाई जागिर लगाइदिने वाचा गर्दैन? तपाईंलाई भट्टीमा लगेर जाँड नखुवाउने, काठमाडौं आउँदा बसको टिकट नकिनिदिने, नियमविपरीत काम गर्न तपाईंलाई सहयोग नगर्ने उमेदवारलाई भोट दिने कि नदिने?
जबसम्म जनताले नेताको सही काम के हो भनेर बुझ्दैनन्, नेताहरूले पनि जनताका लागि सही काम गर्दैनन्। नेताको काम बहुजन हिताय, बहुजन सुखाय हो। जनताले सानाभन्दा साना कामका लागि नेताबाट फाइदा खोज्न थालेपछि नेताहरू पनि धेरैको हित र सुखको काममा लाग्दैनन्। यसैगरी जाने हो भने देशको भविष्य अझ ओर्लेला, उँभो पक्कै लाग्दैन। जनताले पनि आफ्नो स्वार्थका लागि भोट नदिऊँ, धेरैको हित गर्नसक्ने र देशलाई अघि लगाउने उम्मेदवारलाई चिनौं र चुनौं।
- See more at: http://www.nagariknews.com/opinion/story/8354#sthash.EbFoDlqH.dpuf

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete